विद्यालय बन्दसँगै विकल्प
कोरोनाको दोस्रो लहर सुरु भएसँगै यतिबेला सबैजसो क्षेत्र त्राहीमाम अवस्थामा छ। यसको असर नपर्ने कुनै क्षेत्र छैन। सबैलाई आफ्नो पेसा व्यवसाय जोगाउनेदेखि व्यक्तिगत सुरक्षाका विषयमा समेत गहिरो चिन्ता थपिएको छ। ‘युके भेरिएन्ट’ नामको नयाँ भाइरसको तीव्र फैलावटसँगै पछिल्लो साता सबैको ध्यान शैक्षिक संस्थातर्फ मोडिएको छ। धेरै मानिसको जमघट हुने तथा भाइरसको संक्रमण सजिलै फैलने भएकाले तत्काल शैक्षिक संस्था बन्द गर्नुपर्ने एकथरिको भनाइ छ। कोरोनाको कारण देखाउँदै बन्द मात्र गरेर समस्या समाधान नहुने र यसले व्यवसाय र मुलुकको अर्थतन्त्रै चौपट पार्ने भएकाले सावधानी अपनाएर पढाइ सुचारु गर्नुपर्ने तर्क अर्कोथरिको छ। बन्द गर्ने र खुलाउने विषयमा तर्क÷वितर्क भए पनि पढाइका वैकल्पिक पाटोलाई बलियो बनाउने विषयमा भने तार्किक मन्थन भएको पाइँदैन। अबको ध्यान यतातर्फ केन्द्रित हुनुपर्छ। कोरोनालाई जित्न नसकिने हुनाले आफैं सुरक्षित हुने र दैनिकीलाई फरक ढंगबाट सञ्चालन गर्नेतर्फ बहस थाल्नुपर्छ।
विश्वमा कोरोनाको असर नपरेको कुनै पनि मुलुक छैन। लाखौ मानिस र अर्बौंको धनमालको क्षति भइसकेको छ। विकसित, अल्पविकसित र अविकसित सबै प्रकारको राष्ट्रमा यसको असर परेको छ। सम्पन्न मुलुक सहजै उठ्लान तर हाम्राजस्ता मुलुकलाई भने समस्या परेको छ। पठनपाठनको सन्दर्भमा पनि यस्तै देखिएको छ। नेपालको तुलनामा निकै ठूलो असर परेको अमेरिका, बेलायतलगायत युरोप र अन्य सम्पन्न मुलुकमा गत वर्षदेखि नै पढाइ सुचारु छ, वैकल्पिक माध्यमबाट। विद्यार्थीको पढाइ, परीक्षालगायत अन्य सबै प्रकारका शैक्षिक गतिविधि रोकिएको छैन। हामीकहाँ भने सधैंजसो बहस मात्रै हुने तर कार्यान्वयनमा चुस्तताको अभावमा पढाइमा प्रत्यक्ष असर परिरहेको छ। यसले समस्यालाई गुजुल्टो मात्रै पारेको छ। कोरोना आयो भन्दै आत्तिएर शैक्षिक संस्था बन्द गर्ने र हाइसन्चो मानेर बस्नुपर्ने अवस्था आउनुको मुख्य कारण यही हो। अब भने हरेकले फरक ढंगबाट सोच्नुपर्छ र कोरोनासँगै जुधेर बाँच्नसक्ने विकल्पमा छलफल हुनुपर्छ।
कोरोना संक्रमण रोक्न शैक्षिक संस्था, उद्योग कलकारखाना, होटल, व्यापारिक मललगायतका धेरै मानिसको जमघट हुने ठाउँ बन्द गर्नु सजिलो उपाय हो। तर कसैले पनि भविष्यवाणी गर्न नसकेको यो महामारी रोकिएला र फेरि व्यवसाय सुचारु गरौला भनेर बसिरहने हो भने मुलुकको अर्थतन्त्र चौपट हुन बेर लाग्दैन। अर्थतन्त्र चौपट हुनु भनेको मुलुक अधोगतिको यात्रामा जानु हो। तसर्थ तत्कालका लागि शैक्षिक संस्था सञ्चालनको वैकल्पिक पाटोमा छलफल भए पनि अन्य क्षेत्रमा विकल्प खोज्नुपर्ने बेला आएको छ। गत वर्ष पनि कोरोनाकै कारण लकडाउन भएपछि लामो समयसम्म स्कुल तथा कलेज बन्द रहे। केहीले लकडाउन हुनेबित्तिकै स्वतस्फूर्त अनलाइन वा अन्य माध्यमबाट पढाइ सुचारु गरे भने केही विद्यालय लकडाउनको छटपटीले आत्तिने तर विकल्प केही पनि दिन नसक्ने अवस्थामा पुगे। यसको असर अहिले पनि परिरहेको छ।
संक्रमण बढ्दै गयो भने फेरि पनि लकडाउन गर्नुपर्ने हुनसक्छ। अब भने सबै प्रकारका शैक्षिक संस्थाले वैकल्पिक माध्यमबाट हुने पढाइलाई पनि आफ्नो अभिन्न अंग बनाउनुपर्छ। सोहीअनुसार जनशक्ति तयार पार्नुपर्छ। सरकारले विद्यालय भवनका लागि मात्रै होइन, वैकल्पिक पढाइका लागि संरचना तयार पार्न बजेट छुट्याउनुपर्छ। निजी शैक्षिक संस्थालाई पनि सोहीअनुसार निर्देशित गर्नुपर्छ। यति गर्न सकियो भने लकडाउन भए पनि विद्यालय बन्द भयो भनेर कोही पनि आत्तिनुपर्ने अवस्था आउने छैन।