डढेलो लगाउनेलाई दण्ड
पछिल्ला दिनहरूमा मुलुक डढेलोको चपेटामा परेको छ। यसले करोडौं रुपैयाँबराबरको धनमाल क्षति पुर्याएको छ। यति मात्रै होइन मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पुर्याइरहेको छ। तत्काल यसको प्रभाव नदेखिए पनि सुस्त रोगको रूपमा यसले स्वास्थ्यमा भयानक असर पारिरहेको छ। अपवादबाहेक मुलुकमा मुख्यगरी फागुनदेखि जेठ महिनासम्म डढेलोका घटना बढी हुने गर्छन्। यो समयमा वर्षा कम हुने भएकाले यस्तो घटना धेरै हुने गरेको हो। यस वर्ष त कात्तिक र मंसिर महिनामै ताप्लेजुङ र अन्नपूर्ण संरक्षण क्षेत्रमा दुई ठूला डढेलोका घटना भए। यतिखेर जमिन तथा जंगल क्षेत्रमा सुक्खापनको मात्रा बढ्दै गएको छ। बढ्दो सुक्खापनाले डढेलोको वास्तविक क्षति हुने समय अब आउँदैछ भन्ने संकेत गर्छ। हरेक वर्ष दोहोरिने डढेलोबाट हुन सक्ने मानवीय र भौतिक क्षति रोक्न बेलैमा होसियारी अपनाउनु जरुरी छ।
केही दिनअघि एकै दिन दुई हजार पाँच सय ठाउँमा डढेलो लागेको तथ्यांक सार्वजनिक भएको थियो। यो निकै गम्भीर विषय हो। डढेलो सुरु भएपछि मात्रै सचेत हुने परम्परागत शैलीका कारण हरेक वर्ष आगलागीबाट धेरै धनजनको क्षति हुने गरेको छ। अनौपचारिक तथ्यांकअनुसार हरेक वर्ष डढेलोबाट १५ लाखदेखि २० लाख हेक्टरसम्म वनमा क्षति पुग्ने गरेको छ। मानवीय क्षति पनि उत्तिकै भइरहेको छ। कतिपय घटनामा सीधा मानवीय क्षति नपुगे पनि पर्यावरणमा गम्भीर क्षति पुग्ने गरेको छ। वन्यजन्तु र रूखबिरुवामा परेको क्षति गणना गरिसाध्य छैन। वर्षौंदेखि हुर्काइएका वन, बहुमूल्य जैविक विविधता र सम्पदा पनि नासिएका छन्। कतिपय डढेलोले मानव बस्तीलाई पूरै उजाड बनाएको छ। जानेर वा नजानेर भए पनि यी सबै घटनामा मानव नै दोषी छन्। आफूलाई आपत् नपर्दासम्म नचेतिने मानवीय स्वभावले यस्ता घटना भएका छन्। त्यसैले यसको न्यूनीकरणमा पनि मानिस नै जागरुक हुनुपर्छ।
पछिल्ला समय डढेलो लगाउने काममा संगठित गिरोह नै सक्रिय हुन थालेको अड्कलबाजी हुन थालेको छ। कमजोर कानुनी प्रबन्ध र फितलो कार्यान्वयनका कारण यस्तो समस्या आएको हो। डढेलो नियन्त्रण राज्यको प्राथमिकतामा परे पनि प्रभावकारी कार्यान्वयन भएको छैन। विगतमा साधन, स्रोत र दक्ष जनशक्ति अभाव रहेकाले डढेलोलाई बेलैमा नियन्त्रण गर्न सकिँदैनथ्यो। अहिले परिस्थिति सहज भएको छ। भएका जनशक्ति र प्रविधिको भरपूर सदुपयोग गर्ने हो भने असम्भव छैन। डढेलो नियन्त्रणमा खटिने कर्मचारी तथा प्राविधिज्ञको सुरक्षामा ध्यान दिनुपर्छ। उनीहरूलाई राहत र प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्छ। सामुदायिक वन उपभोक्ता समूह, अभियानकर्मी, संरक्षणविद्को साथ लिएर साझा अभियान चलाउनुपर्छ। वन पैदावार संकलन, वन अतिक्रमण, चोरीसिकारी, खेतीकिसानीका लागि प्रयोग गरिने मलका लागि डढेलो लगाउने प्रवृत्ति रोक्नुपर्छ।
जलवायु परिवर्तनका कारण पृथ्वीको बढ्दो तापमानले पनि डढेलोको समस्या थप विकराल बनेको छ। यति गम्भीर समस्या समाधानका लागि हरेक वर्ष मौसमी छलफल गरेर मात्रै पुग्दैन। सरकारी तथा गैरसरकारी संस्थाले यस विषयलाई गम्भीर रूपमा लिनुपर्छ। हरेक स्थानीय तहमा न्यूनतम एउटा दमकल राख्ने सरकारी कार्यक्रमलाई कार्यान्वयनमा ल्याउनुपर्छ। आगलागी नियन्त्रण तथा यसबाट पर्नसक्ने असरका बारेमा स्थानीय सरकारले चेतनामूलक अभियान सञ्चालन गर्नुपर्छ। आगलागी निम्तिने घटना न्यूनीकरणका लागि सर्वसाधारणलाई नै सचेत गराउनुपर्छ। सदरमुकामतिर थन्किएका दमकलको भरपूर सदुपयोग गर्नुपर्छ। दमकल चालक तथा अग्नि नियन्त्रणमा खटिने जनशक्तिको संख्या बढाउनुपर्छ।