जहाँ जोखिम, त्यहीं खेलाँची

जहाँ जोखिम, त्यहीं खेलाँची

धनगढी : कैलाली र कञ्चनपुरको सीमा जोडिएको गौरीफन्टा नाकामा शुक्रबार बिहान साढे १० बजेतिर अन्नपूर्ण पोस्ट्को टिम पुग्दा सबै कुरा अस्तव्यस्त देखियो। प्रहरी र सशस्त्रका जवान एउटा मात्रै सर्जिकल मास्कका भरमा भारतबाट घर फर्किरहेका नेपालीलाई लाम लगाउन र हेल्थ डेस्कमा पठाउन व्यस्त थिए। नाकामै सयौं ई–रिक्सा पार्किङ गरिएका थिए। ती रिक्साका चालक भारतीय सीमाभित्रै पसेर यात्रुका झोला ओसारिरहेका देखिन्थे। मुखमा न मास्क, हातमा न पञ्जा थियो। कुनै स्वास्थ्य सावधानी अपनाएको देखिएन।

‘यस्तो नगरे घर चल्दैन। हामीलाई त कोरोना भएर निको पनि भइसक्यो होला’, नाम नबताएका एक रिक्सा चालकले भने, ‘कति दिनसम्म कोरोना कोरोना भनेर रोजीरोटी नचलाउने ?’
नाकामा ईरिक्सा मात्रै होईन, मिनी बस ले पनि यात्रुलाई धनगढी बजारसम्म बोक्ने गर्छन्। धनगढी बसपार्कका होटल सञ्चालकले भारतबाट आएका नेपालीलाई आफ्नो होटलमा ल्याउन निःशुल्क बस चलाएका छन। दिनभर आफ्नो होटलमा खानपीन गर्ने, त्यसपछि गन्तब्यसम्मको टीकटमा कमिशन पनि पाउने। अरू पनि फाइदा मिल्ने भएकाले होटल सञ्चालकले बसबाट जथाभावि यात्रु ओसारेको पनि देखियो।

सरकारले भारतबाट आएकाहरू नागरिकका लागि नाकामा निशुल्क एन्टीजेन परिक्षणको व्यवस्था गरेको छ। तर, बसका कर्मचारीले सकेसम्म एन्टीजेन परिक्षणबाट पनि छुटाएर यात्रुलाई बसपार्कसम्म ल्याएको पाईयो।
अछामको साफेबगरका रामबहादुर दमाई र सुर्खेतका सुरत नेपाली सँगै भारतको मुम्बईबाट गौरीफन्टा आइपुगे। दुबै जना सँगै नै विन्दास भएर नेपाल छिरे। उनीहरूले न मास्क लगाएका थिए न त स्यानिटाइजरकै प्रयोग गरेका थिए। सयौंको भीड छिचोल्दै भारतको मुम्बईबाट बसमा आएका उनीहरूलाई हेल्थ डेस्कका कर्मचारीले मास्क दिए।

‘मास्क लगाएर के गर्नु ? यो मास्कले कोरोनाको किटाणु रोक्दैन भनेर सुनिन्छ’, धनगढी बसपार्कमा अछाम जान बसको टिकट बनाइरहेका भरत राललले भने, ‘सरकारले केही सुविधा दिएको छैन, न क्वारेन्टाईन छ, न गतिला आईसोलेशन नै। अब हामीले मास्क लगाएर मात्र कोरोनाबाट जोगिने हो त ? मास्क लगाए झन शरिरमा अक्सीजन कम हुन्छ र मानिस विरामी हुन्छ।’ सीमा क्षेत्रमा कोरोनाबारे देखिएको चरम लापरवाही देखेपछि अन्नपूर्ण पोस्ट्को टोली धनगढीको बढी भीडभाड हुने स्थान ट्राफिक चोक पुग्यो। आधा घण्टाको बसाइमा ९० प्रतिशत अटो रिक्साका चालक र त्यसमा बसेका यात्रुले मास्क नलगाएको पाइयो।

‘आज बिहानै निस्के, मास्क थिएन, यात्रु बोक्दा बोक्दा किन्ने फुर्सद पनि भएन’, अटो नम्बर से १ ह १४८६ का चालक खडक नेपालीले भने, ‘पहिला पहिला प्रहरीले गाली गर्थ्यो, अहिले प्रहरीले पनि केही भन्दैन।’ ट्राफिक चोकमै अटोमा यात्रा गरिरहेका दुई विद्यार्थीसँग भेट भयो। कक्षा ११ मा पढने सञ्जीवनी सेढाईले भनिन्, ‘मास्क खल्तीमा छ, गर्मी भएकाले नलगाएको।’ उनले बसेको अटोका चालकले पनि मास्क लगाएका थिएनन।

ट्राफिक चोकपछि हामी धनगढीको रातोपुल पुग्यौं। धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसमा स्नातकमा पढिरहेका एक विद्यार्थी विनामास्क गन्तब्यतिर लागिरहेका थिए। ‘खल्तीमा मास्क छ, गर्मीका कारणले नलगाएको, अली पर गएर खाजा खाने सोच थियो, त्यही भएर नलगाएको’, ती विद्यार्थीले भने।

अन्नपूर्णको टीम त्यसपछि धनगढी बसपार्क पुग्यो। धनगढी बसपार्क कोरोनाका लागि सबैभन्दा बढी जोखिमयुक्त स्थान हो। भारतबाट फर्केका र एन्टीजेन परिक्षण छलेर आएकाहरू सिधै सार्वजनिक यातायातबाट यात्रा गर्ने भएकाले पनि त्यो स्थान बढी जोखिमयुक्त हो।

धनगढी बसपार्कमा ड्युटीमा रहेका प्रहरीले नै मास्क प्रयोग नगरेको पाइयो। धनगढी बसपार्कमा आधा दर्जन यातायात कम्पनीका टीकट काउन्टर छन। नयाँ वर्ष र चैते दशैंका बेला भएकाले यात्रुको निकै चाप छ। तर काउन्टरमा टिकट काट्न लाम लागेका यात्रु हुन वा बसका स्टाफ, अधिकांशले मास्क लगाएका थिएनन्। ‘सबै यस्तै छ, अरुलाई हेर्नु न कसले लगाएको छ मास्क ? मैले मात्र हो र नलगाएको ?’, बस चालक बसन्त नेपालीले झर्किदै भने, ‘नेपालमा जनताले मात्रै सबै कुराको पालना गर्नुपर्छ, सरकारले केही पनि गर्दैन।’

फलफूलका ठेलादेखि लिएर कपाल काट्ने सैलुन, सानादेखि ठूला सवारी साधनमा यात्रा गर्ने केहीबाहेक अधिकांशमा कोरोना जोखिमको चिन्ता देखिएन। गौरीफन्टा नाकामा मात्रै चैत ३ गतेयता गरिएको ९ हजार जनाको एन्टीजेन परिक्षणमा शुक्रबार बेलुकी ५ बजेसम्म ६१६ जनामा कोरोना पोजेटिव देखिएको छ। यो झण्डै ७ प्रतिशत हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.