नयाँ वर्ष
सारा वृक्ष नवीन पत्र रङले पाई नयाँ यौवन
मौरी गीत सुनाउँदै वनवनै डुल्दैछ खोजी रस
पृथ्वीमा तृण घाँस उम्रिन पुगे ढाकेर धर्ती तन
आयो बैंस लिएर षोडश कला बोकेर नौलो मन
ढाक्यो फूल फुलेर वाग गमला सौन्दर्य छर्दै अहो !
आयो हर्ष लिई वसन्त ऋतु यो उल्लास आनन्दको।
सङ्लो ताल नदी सुरम्य गिरिले बोकेर नौलो प्रभा
हाँस्छन् नित्य सुवास वायु तनमा आई सदा ठोक्किँदा
घन्क्यो कोकिलको सदैव वनमा सानन्द पार्ने ध्वनि
घुम्टोले सजिई अतीव कलिली जस्ती भइन् मेदिनी।
नेपाली मनमा छ हर्ष सुखको नौलो नयाँ वर्षको
सारा जीर्ण विचार तुच्छ तहका छोडेर समृद्धिको
लागोस् देश विकास सभ्य पथमा होओस् सुखी जीवन
सारा दु:ख हटून सबै तरहका निस्वार्थ बोकुन् जन।
आत्मा शुद्ध बनोस् पवित्र जलझैं सौन्दर्य छर्दै गिरि
हाँसोस् राष्ट्र चिनाउँदै हरघडी निस्तेज होउन् अरि
माया प्रेम बढोस् सुखी मुलुक होस् बोकेर सद्भावना
आओस् यो नववर्ष हर्षित भई उल्लास बोकीकन।