ढालियो हात नभएको लिंगो
भक्तपुर : आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको बिस्का जात्राको अन्तिम दिन आइतबार भक्तपुर नगरपालिका ४ पोटेरी स्क्वायरमा हात नभएको ज्याठा गणेशको योसिङ द्यः (लिंगो) ढालिएको छ ।
गत वर्षको अन्तिम दिन चैत ३१ गते बिहान ठड्याइएको उक्त योसिङ द्यः आइतबार छैटौं दिनमा ढालिएको छ । स्थानीय ज्याठा गणेश मन्दिर परिसरमा डोरीले तानेर करिब ५० हात लामो योसिङ द्यः ढालिएको हो । यो योसिङ द्यः ठड्याउन र ढाल्न माटोको भाँडा बनाउने प्रजापतिहरुमात्र सम्मिलित हुने प्रचलन छ ।
संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भक्तपुरको बिस्का जात्राको प्रमुख आकर्षणको रुपमा रहेको भनपा वडा नं ५ योसिंखेलमा मनाइने योसिङ द्यः जात्राभन्दा धेरै समयपछि ज्याठा गणेशको योसिङ द्यः जात्रा प्रचलनमा आएको जानकारी दिए ।
स्थानीय ज्याठा गणेश मन्दिर परिसरमा ठड्याइने भएकाले यसलाई ज्याठा गणेशको योसिङ द्यः मानिने उनको भनाइ छ । तर योसिंखेलमा ठड्याइने योसिङ द्यःलाई भने भैरव एवं इन्द्र देवताको प्रतीक मानिने उनी बताउँछन् ।
वर्षान्तको दिन बिहानै ठड्याइने यो लिंगो बिस्का जात्राको अन्तिम दिन पनि बिहानै ढाल्ने परम्परा रहँदै आएको छ ।