देउता बोलाउँदै खरेल
काठमाडौं : सामाजिक सचेतनाको आवाज बोकेको सन्देशमूलक गीत ‘बोल देउता बोल’ सार्वजनिक भएको छ। प्राज्ञ ज्योति प्रकाशको स्वर तथा संगीत रहेको गीत चन्द्र भट्टचनले लेखेका हुन्।
समाजमा उतल्लो र उपल्लो समुदाय वा जात भनेर गरिने विभेदविरुद्ध आवाज बुलन्द गरिएको गीतमा एउटा मूर्तिकारले बनाएको मूर्ति मन्दिरमा स्थापना गरेपछि स्वयं मूर्तिकारले नै छुन र पूजा गर्न नपाएपछिको पीडा सम्बोधन गरिएको छ।
सामाजिक विकृतिविरुद्ध आवाज उठान गर्ने गीतको भिडियो शान्तिप्रियले निर्देशन गरेका छन् भने भिडियोमा चलचित्र निर्देशक माधवराज खरेलको अभिनय छ। भिडियोमा खरेलका अलावा गीतकार लोकराज अधिकारी र गीतकार सुमन बैरागीलाई पनि देख्न सकिन्छ। गोविन्द अञ्जानको छायांकन रहेको गीत विकास धमलाले सम्पादन गरेका हुन्। राजु कार्कीको संगीत सम्योजन रहेको गीतको रेकर्डिङ सुर संगीतमा गरिएको हो।