निफमा तीन नेपाली
काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)–२०२१ मा यो वर्ष तीनवटा नेपाली चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा भाग लिने भएका छन्।
आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवका लागि नेपाली चलचित्र लाटोकोसेरो, सरिता ११ वर्ष र आमा खान्डो फिचर फिल्म प्रतिस्पर्धाका लागि छानिएको बताए।
महोत्सवका लागि विश्वका विभिन्न ५२ देशबाट चार सय ५० चलचित्र प्राप्त भएका छन्। आन्तरिक छनोट समितिले दिएको नम्बरका आधारमा उच्च नम्बर पाउने चलचित्रमध्येबाट ३१ देशका ६३ चलचित्रलाई महोत्सवमा प्रतिस्पर्धाका लागि पहिले नै छनोट गरिएको थियो भने नेपाली प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म छनोट गर्न बाँकी राखिएको थियो। अब निफमा ६६ फिल्म देखाइनेछन्। तीन चलचित्रमध्येबाट एक चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रको एक लाख नगद पुरस्कारसहितको ट्रफी, उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्री ट्रफी पाउनेछन्।
‘विश्वका कथाहरूको उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटेगोरीमा प्रतिस्पर्धा गराई अवार्ड पनि वितरण गरिने आयोजकको भनाइ छ।
कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले पाँच सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ।
यसैगरी सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई सात सय ५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु–चलचित्रलाई ५ सय डलर राशिको बागमती अवार्ड यथावत् रूपमा प्रदान गरिनेछ। महोत्सव २०७८ वैशाख २३ देखि २७ सम्म काठमाडौंमा आयोजना हुनेछ।