हावाहुरीले गोरखाका ४७ घरको छाना उडायो
गोरखा : आइतबार साँझको हावाहुरीले गोरखाको ४७ वटा घरको छाना उडाएको छ । जिल्लाका ११ वटै पालिकाका ४७ घरधुरीको छाना उडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साथै आइतबार साँझदेखि गोरखा जिल्लाभर विद्युत सेवा ठप्प छ । विद्युत सेवा नहुँदा जिल्लाभर सबै सेवा प्रदायक कम्पनीका इन्टरनेट सेवा अवरुद्ध भएको छ । जिल्लाबाट प्रकाशन हुने तीनवटै दैनिक पत्रिका तथा तीनवटा एफएम रेडियो प्रकाशन, प्रशारण बन्द भएको छ । कम्प्युटरबाट हुने कार्यालयका कामहरु पनि प्रभावित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार सिरानचोक गाउँपालिका ६ महटारको १७ वटा घरको छाना उडाएको छ । त्यहाँका दलित बस्तीका १७ वटा घरको छाना उडाएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक धर्म अधिकारीका अनुसार सिरानचोक गाउँपालिका वडा नं. ६ महटारका भीमबहादुर बिक, मैतबहादुर बिक, झलकबहादुर दमै, गिरीराज लामिछानेको घरको छाना उडाएको हो ।
त्यस्तै सोही गाउँका शम्सेर परियार, धनबहादुर नेपाली, सीता उपरकोटी, रसमाया नेपाली, आइतबहादुर गुरुङ, पार्वती नेपाली, शिव नेपाली, मीना नेपालीको घरको छाना उँडाएको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए । त्यस्तै सोही ठाउँका नारायणप्रताप राणा, सूर्यबहादुर तामाङ, भेजबहादुर गुरुङ, पूर्णबहादुर भट्ट र यमबहादुर श्रेष्ठको घरको छाना उडाएको प्रहरीले जनाएको छ ।
स्थानीय आइतबहादुर गुरुङको कुखुराको खोर उँडाउँदा १२ वटा कुखुराको चल्ला मरेको प्रहरीले जनाएको छ । त्यस्तै गोरखा नगरपालिका २ कोखे आहालेको १० वटा घरको पनि छाना उँडाएको छ । स्थानीय सुस्मिाता श्रेष्ठ, हिरामाया श्रेष्ठ, उत्तम श्रेष्ठ, जीवन श्रेष्ठ, ज्ञानमाया श्रेष्ठको घरको छाना उडाएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै सोही ठाउँका गोपाल श्रेष्ठ, वीरबहादुर श्रेष्ठ, रुद्रबहादुर श्रेष्ठ, शिवलाल श्रेष्ठ र रेमन मियाँको घरको छाना उडाएको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए । शहीदलखन गाउँपालिका ७ ओयाकका नौजनाको घरको छाना पनि उडाएको छ । स्थानीय टंकबहादुर श्रेष्ठ, लोकबहादुर परियार, गगन परियार, सन्तमान श्रेष्ठको घरको छाना उडाएको छ । त्यस्तै सोही ठाउँका ज्ञानबहादुर रम्तेल, वीरबहादुर राना, प्रकाश थापा, वुद्धिमाया बयलकोटी र लोकबहादुर परियारको पनि घरको छाना उडाएको प्रहरीले जनाएको छ ।
त्यस्तै पालुङ्टार नगरपालिका ४ बर्सरेका चार दलित परिबारको घर र एउटा सामुदायिक भवनको छाना उडाएको छ । स्थानीय मीना सुनार, पूर्णबहादुर सुनार, भक्तबहादुर सुनार र पूर्णबहादुर सुनारको घरको छाना उडाएको प्रहरीले जनाएको छ ।
भीमसेनथापा गाउँपालिका ७ बोर्लाङमा पनि चार घरको छाना उडाएको छ । त्यहाँका श्यामबहादुर श्रेष्ठ, बुधे सार्की, बिमल श्रेष्ठ र सरस्वती माविको छानो उडाएको स्थानीय प्रहरी चौकीलाई उद्धृत गर्दै इन्स्पेक्टर अधिकारीले जानकारी दिए ।
बारपाकसुलीकोट गाउँपालिका ७ देउरालीका सुमन गुरुङ र गुञ्जमान श्रेष्ठको घरको पनि छाना उडाएको प्रहरीले जनाएको छ ।घरको छाना उडाउँदा घरमा रहेका अन्नपात, लत्ताकपडा तथा अन्य सामग्री भिजेर क्षति पुगेको स्थानीय प्रहरीचौकीले दिएको जानकारीलाई उद्धृत गर्दै इन्स्पेक्टर अधिकारीले जानकारी दिए ।