बागलुङमा एकै विद्यालयका ३९ जनामा कोरोना संक्रमण
बागलुङ :जिल्लाको बलेवा नारायणस्थानस्थित जनताधन माध्यमिक विद्यालयका ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बागलुङले उक्त विद्यालयका ९८ जनाको स्वाब परीक्षण गर्दा शिक्षक र विद्यार्थी गरी ३९ जनामा संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
पुष्टि भएकालाई घरघरमै सुरक्षित रहन भनिएको छ । यस विद्यालयमा आइतबार र सोमबार नियमित कक्षा सञ्चालन भएको थियो । संक्रमणको जोखिम उच्च रहेपनि नगरपालिकाले भने विद्यालय बन्द गर्ने निर्णय गरेको छैन ।
संक्रमण बढेपछि अभिभावकले विद्यालय बन्द गर्नुपर्ने माग गरेका छन् । कोरोना सङ्क्रमण तीब्र बढ्दै गएपछि बागलुङ देशभरमै अति प्रभावित हुने १४ जिल्लाको सूचिमा छ ।