विद्यार्थीमा कोरोना देखिएपछि बागलुङ नगरका तीन वडामा निषेधाज्ञा
बागलुङ : जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि बागलुङ नगरपालिकाका तीन वडामा निषेधाज्ञा जारी गरिएको छ । बुधबार एकै दिन नगरपालिकाको वडा नम्बर १२ स्थित जनताधन माविका विद्यार्थी शिक्षकसहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले वडा नम्बर १२,१३ र १४ मा निषेधाज्ञा जारी गरेको हो ।
भारतबाट बागलुङ आएका ३ जनामा केही दिनअघि कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ८ जनामा कोरोना पुष्टि भएको थियो । फेरि ती ८ जनाको कन्ट्याक्ट ट्रेसिङबाट ९८ जना विद्यार्थी र शिक्षकको स्वाब परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण भएकाले बागलुङको बलेवा क्षेत्रका तीन वटा वडामा मंगलबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
‘कोरोना भयावह बढ्दै गएको संकेत देखिएको छ, यसमा हामी सबैले सचेतता र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ, ’प्रजिअ कार्कीले भने, ‘बलेवा क्षेत्रमा लकडाउनसहित अब भीडभाड हुने क्षेत्रमा पनि कडाइ गर्छौ, नागरिकलाई स्वास्थ्य सुरक्षाका उपाय अपनाउन सचेततामूलक कार्यक्रम पनि अघि बढाउँछौं ।’
बलेवा क्षेत्रका अत्यावश्यकीय सेवाबाहेक अन्य सबै विद्यालय, कार्यालय, नीजि तथा सार्वजनिक यातायात बन्द गरिएको छ । बलेवा हुँदै जाने कालीगण्डकी करिडोर र अन्य गन्तव्यका लागि बिचमा झार्न र राख्न नपाउने गरि सिधा यातायात भने सञ्चालन हुनेछ ।
नगरपालिकाका अन्य बिद्यालय भने खोल्ने कि बन्द गर्ने भन्नेमा अन्यौलता देखिएको छ । नगर शिक्षा अधिकारी डण्डपाणी शर्माले कोरोना संक्रमण फैलिँदो क्रममा देखिएकाले विद्यालयमा भौतिक रुपमै उपस्थित भएर पढ्ने पढाउने विषयमा वैकल्पिक उपायबारे छलफल भइरहेको बताए ।
बलेवा क्षेत्र बाहेक नगरपालिकाका जोखिमयुक्त विद्यालयका लक्षण देखिएका विद्यार्थीको प्रतिनिधिमूलक हिसाबले स्वाब लिएर नमुना परीक्षणको तयारी गरिएको उनको भनाई छ । बागलुङलाई नेपाल सरकारले कोरोना संक्रमण फैलिँदै गए पछि अति प्रभावित १४ जिल्लाको सूचिमा राखेको छ ।
सोमबारसम्मै जनताधन माविमा विद्यालय सञ्चालन भएकाले अन्य विद्यार्थीमा पनि संक्रमण फैलिएको आशंका बढेको छ । कोरोना संक्रमण पुष्टी भएका सबै विद्यार्थी र शिक्षकलाई घरमै आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिए ।