हिउँले उज्यालियो जलजला (फोटोफिचर )
रोल्पा : रंगिचंगी गुराँसले ढकमक्क बनेको रोल्पाको उत्तरी क्षेत्र जलजलामा हिमपात भएको छ । हिमपातपछि जलजला आसपासका क्षेत्र सेताम्मे देखिएका छन् । सदरमुकाम लिबाङबाट सेताम्मे देखिने हिउँसहितको जलजलालाई मोबाइल र क्यामेरामा कैद गरी यहाँका स्थानीय सामाजिक संजालमा राखिरहेका छन्।
वैशाखमा हिउँ परेपछि अचम्ममा परेका छन् । वर्षेनि पुस, माघतिर हिउँ पर्ने भएपनि वैशाखमा भने विरलै हिउँ पर्ने बुढापाका बताउँछन् । यसपाली हिउँदभर खडेरी पर्यो ।
पानी समेत नपरेपछि जलजलामा हिमपात हुने कुरै भएन । बुधबार बिहानबाट जिल्लामा हल्का वर्षात भएको हो । हिमपातसँगै पानी परेपछि बर्खे बाली लगाउन सहज हुने भन्दै किसान खुशी भएका छन् । हिमपात र वर्षातका कारण केही हप्तादेखि धुमिलिएको आकाश खुलेको छ ।