अति भो, अब मिल्नुहोस्

अति भो, अब मिल्नुहोस्

एमालेको आन्तरिक किचलोले देशको राजनीति फेरि गिजोलेको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच झोंक–प्रतिशोधको व्यवहार जारी छ। दुवै नेताका अहंका कारण पार्टी विभाजनको डिलमा पुगेको छ। यसैबीच अप्रत्यासित रूपमा दुवै नेताले भेटघाट र मन माझामाझ गरेका छन्। बुधबार र बिहीबार दुई चरणमा भएका संवादले केही सकारात्मक सञ्चार भने गराएको छ। तर, त्यसपछि दुवै नेताका मुखबाट छिटफुट फुत्किएका अभिव्यक्ति हेर्दा लाग्छ– मेलमिलाप होइन, स्थिति झन् विग्रहतर्फ पो बढेको हो कि ! त्यस्तो नहोस्। सम्हालिनोस्। जनताको भरोसाको ख्याल राख्नुहोस्। फराकिलो छाती बनाएर दुवैले केही दूरी घटाउनुहोस्। मिलनबिन्दु पक्कै आइपुग्नेछ।

अघिल्लो चुनावपछि वाम गठबन्धनको बहुमत आउँदा जनता रमाएका थिए। ठानेका थिए– देशमा राजनीतिक अस्थिरता सकियो। निर्वाचनमा तालमेल गरेका एमाले र माओवादी जब एक भए, एउटै दललाई दर्बिलो बहुमत पुग्यो। २०४६ को राजनीतिक परिवर्तनपछि यो पहिलो स्थिरताको जनादेश थियो। तर, सत्ता तानातानको आन्तरिक खेलमा त्यो आधा कार्यकाल पनि राम्ररी धानिएन। एक वर्ष ननाघ्दै दलभित्रैबाट सरकारको खुट्टा तान्न सुरु भयो। दुई वर्षपछि सरकार ढाल्ने खेल चरमोत्कर्षमा पुग्यो। तीन वर्ष नछुँदै दलै दुई चिरा भयो। सर्वोच्च अदालतको आदेशले आआफ्ना ठेगानमा पुगेका एमाले र माओवादी वस्तुतः सग्ला रहन भने सकेनन्। माओवादीका धेरै नेता ओलीले एमालेमै अड्काइदिए। अर्कातिर नेपाललगायत कतिपय नेता आफ्नै नेतृत्वभन्दा माओवादीसँग घनिष्ठ हुँदै गए। तन एमालेतिर, मन माओवादीतिर जस्ता देखिए। दल त्याग गरेर जाने त गए, दलभित्रै बसेर ‘फ्लो क्रस’ गर्ने संस्कार निर्माणले भने दलीय राजनीतिको मर्मलाई दूषित बनायो।

निर्दलीय व्यवस्थाभन्दा दलीय प्रणालीका केही विशिष्ट विशेषता हुन्छन्। दल कमजोर भए लोकतन्त्र निम्छरो हुन्छ। दल फुटिरहे लोकतन्त्रमा अन्यथा आँखा लाग्छ। दलीय व्यवस्थामा दलहरू दर्बिला हुनैपर्छ। दलका नेताहरू सत्ता, पद र शक्ति जोगाउने खेलमा अलमलिए देशमा सुशासन हुँदैन। देशको राजनीतिक चरित्रलाई लिएर संसारले खिल्ली उडाउँछ। त्यसैले हामीले दल विभाजन होइन, एकता लोकतन्त्रको हितमा हुन्छ। उसो त एमाले र माओवादीको एकता उतिसारो प्राकृतिक थिएन। टिकाउ हुने धेरैले आँकलन पनि गरेका थिएनन्।

एमाले लोकतान्त्रिक प्रतिस्पर्धामा साख कमाएको दल थियो। माओवादी भने सशस्त्र युद्धबाट उदाएर उकालो लाग्दो अवस्थामा थियो। कुनै कालखण्डमा युद्धको मुख्य तकाइमा एमाले र त्यसकै नेताहरू थिए। ओली माओवादी अध्यक्ष पुष्पकमल दाहालका कट्टर आलोचक थिए। दाहाल पनि ओलीका उत्तिकै आलोचक थिए। परिस्थिति यस्तो आयो– दुवैले सहअध्यक्षता गरे। एउटै दलको नेतृत्वमा रहे। अन्ततः त्यो विभक्त भयो। तर, यसले अर्को अवसर प्रदान गरेको थियो– दुवै दलले प्रतिस्पर्धात्मक स्वार्थ राजनीतिको आआफ्ना बाटा कोर्ने। कुनै दिन, कुनै बिन्दुमा वातावरण बने पुनः एकता गर्ने तर परिस्थिति झन् असहिष्णु बन्दै गएको छ।

राजनीति राज्यनीति हो। राजनेताका चरित्रका शासित हामी जनता हौं। नेताका गुण–अवगुण बेहोर्ने बाध्यता हामीलाई छ। त्यही भएर जनपंक्तिले झगडा नगर्नुहोस्, मिल्नोस् भन्ने हक लाग्छ। देशको अगुवाइ गर्ने भएकाले राजनीतिक नेताहरूले सर्वसाधारणलाई संस्कार सिकाउनुपर्छ। अनुकरणीय काम गर्नुपर्छ, ताकि अरूले त्यसैको सिको गरून्। पार्टी एकता वा विभाजन सम्बद्ध नेताहरूको तजबिजी हो। तर, हामी जनताको चासो यति मात्र हो, कृपया अस्थिरताको बादलमा देशलाई सधैं नमडार्नुहोस्। विचारको मन्थन गर्नुहोस्। सिद्धान्तको गन्थन गर्नुहोस्। तर, निजी स्वार्थमा झगडा नगर्नुहोस्। क्षणिक लाभको हिसाबमा दल छिया–छिया नपार्नुहोस्। नफुटाउनुहोस्। हो, अब त अति भो ! मिल्नोस्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.