यो वर्षको निफ हाइब्रिड !
काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल –निफ) यो पटक हाइब्रिड हुने भएको छ। कोभिडका कारण परिस्थिति जटिल बन्दै गएको र नेपाल सरकारको नयाँ मापदण्ड जारी भएको हुनाले यसपटकको निफका केही इभेन्ट प्रत्यक्ष र केही अनलाइनमार्फत हुने भएको हो।
उद्घाटन र समापन समारोह मापदण्ड अनुसार गरिने तर त्यसलाई विभिन्न माध्यमबाट प्रत्यक्ष प्रसारण गरी धेरै दर्शकसम्म पुर्याइने आयोजकले जनाएको छ। त्यसैगरी फेस्टिभलका चलचित्र भने अनलाइनबाट प्रसारण गरिनेछ, जसलाई दर्शकले घरमै बसेर हेर्न सक्नेछन्।
विषयगत बहस भने प्रत्यक्ष आयोजना गरी विभिन्न अनलाइन माध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ जसमा दर्शकले सहभागिता जनाउन सक्नेछन्। ‘तयारी त हाम्रो भौतिक रूपमै गर्ने गरी भइरहेको हो, भौतिक रूपमै गर्नका लागि नै हामीले नियमित सेड्युलबाट सारेर वैसाखमा ल्याएका थियौं, तर परिस्थिति सहज नभएकाले यसपटक हाइब्रिड गर्न बाध्य भयौं। तर यसले हामीलाई अझ धेरै दर्शकसम्म पुग्ने अवसर सिर्जना गरिदिएको छ’, फेस्टिभलका अध्यक्ष केपी पाठकले बताए। चौथो संस्करणमा आयोजना हुनलागेको निफ यसअघि हरेक वर्ष फेब्रुअरीमा हुने गरेको थियो।