राज्य पुनर्संरचनामा मनुवाद

राज्य पुनर्संरचनामा मनुवाद

संघीयताको आधार र नामाकरणमा पहिचान र सामथ्र्यको सिद्धान्तले मात्रै आमउत्पीडित समुदायलाई समेट्न सक्दैन


नेपाली इतिहासमा यहाँको कला र संस्कृतिको जग बसाउनमा कुनै न कुनै रूपमा घटीबढी रूपमा सबै राजा र शासकहरूको योगदान रहेको पाइन्छ।सबैभन्दा बढी भूमिका भने मल्ल र लिच्छवीवंशको छ। यसको अलावा नेपाली संस्कृतिको भण्डार बढाउन ईशापूर्वका शताब्दीदेखि ईशाको सत्रौं र अठारौं शताब्दीसम्म राजवंशबाहेक कुषाण, शक पार्थियन, पाल, शाक्य, कोली, बज्जी, सेन आदि वंशका शासकले पनि प्रचुर मात्रामा योगदान पुर्‍याएका थिए।

काठमाडौंमा बर्मन (लिच्छवी ?) वंशी राजा सुपुष्प बर्मा (ई.पू. २१०–१९४) को समयमा हिन्दू वर्णव्यवस्थाअनुसारको ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्र गरी समाजलाई चार वर्णमा बाँडिएको थियो। सम्भवतः विदेह र कपिलवस्तुको शाक्य राज्यमा हिन्दू वर्णाश्रमव्यवस्थाको प्रभाव अझ अघि नै भइसकेको हुँदा त्यसको प्रभाव विस्तारित हुँदै काठमाडौंसम्म आइपुगेको हुनुपर्छ। राजा सुपुष्पदेव बर्मा (ई.पू. २१०–१९४)ले काठमाडौं सहर र पशुपतिनाथको मन्दिर स्थापना गरेको उल्लेख वंशावलीमा पाइन्छ।

नेपालमा इशापूर्व पाँचांै शताब्दीतिर नै दक्षिणका विदेह, कोलिय (कामी), शाक्यहरू तथा उत्तरका किराँतहरूमा व्यापार विनिमय बढ्दै गएको थियो। यो समयमा बसाईसराई र श्रम विभाजनको पनि महत्वपूर्ण भूमिका रहेको थियो। अब कविलाहरू पनि पूर्णरूपमा आत्मनिर्भर अर्थतन्त्रको एकाइबाट वस्तु विनिमयको प्रक्रियातर्फ तीव्र रूपले गइरहेको कारण श्रममा विविधीकरण बढ्दै जानु स्वाभाविक थियो। मानौं उनको कामगर्ने गुरुङहरू, माटोको भाँडाकुँडा बनाउने कुमालेहरू,लुगा सिलाउने दर्जीहरू, सुनचाँदीका गहना तथा फलामका औजार बनाउने विश्वकर्माहरू,तामा आदिका भाँडा बनाउने बाँडाहरू,लेखपढको काम गर्ने कायस्थहरू, अध्यापन गराउने तथा टिपचिना हेरेर ज्योतिष काम गर्ने ज्योतिषीहरूर धार्मिक अनुष्ठान र पूजापाठ आदि काम गर्ने ब्राह्मण पुरोहित,व्यापारमा संलग्न नेवारका विभिन्न शाखा, केश काट्ने नाई, छाला आदिको काम गर्ने सार्की, चमार देशैभरिका विभिन्न कविलाका परम्परागत भौगोलिक क्षेत्रमा फैलिनथाले।

दक्षिण तराईमा तिरहुत राज्यमासन् १०९७ देखि १३२५ सम्म कर्णाटकवंशी डोय राज्य चल्न गयो। मुसलमानको आक्रमणले यो राज्यको पतन भएको थियो। ई.स.१५१३देखि १७६२ को अवधिमा पाल्पादेखि मोरङसम्म सेन राज्य विस्तार भएको थियो। यसरी के देखिन्छ भने वर्तमान नेपालको भू–भागअन्तर्गतका विभिन्न स्थानमा राज्य खडा हुने, विस्तार हुने या अर्को राज्यमा विलय हुने प्रक्रिया चल्दै गए (नेपाली, २०७६)।  यस तथ्यबाट यो थाहा हुन्छ कि आमउत्पीडित समुदाय नेपालमा पहिलो शताब्दीको आसपासबाटै उपस्थिति रहेको देखिन्छ।

देशैभर र विशेषगरी सुदूरपश्चिम र कर्णाली क्षेत्रमा शिल्पी/दलित समुदायको दर्जनांै कोट,गढी र  किल्लाहरू रहेको पाइन्छ। जसमा–मुसहरकोट(मुसहर–अहिले मुसीकोट)–रुकुम, भियालकोट(सार्की) र सुनारकोट(राजा कालुसुनेल)–मुगु, भुलकोट(सार्की)–बाग्लुङ्ग/बझाङ, डुमकोट–सुर्खेत, तिरुवाकोट(कामी), रुचालकोट(सार्की), समुद्रपालगढी(सार्कीकोट) र सार्कीदेउ–हुम्ला, सुवर्णनगर(कामी)–जुम्ला, डुम्राकोट(अर्थात् उदुम्बरपुरी)–डोटी, सराङकोट) (सार्की) कास्की, दर्नाकोट(दमाई)–अछाम,बादीकोट (बादी)–प्युठान, कुमालीकोट(बादी)–डोटी, गन्धर्वकोट(गल्कोट) र नरसिंहकोट–बाग्लुङ प्रमुख रहेका छन्। त्यसैगरी तराई/मधेशमा शिल्पी/दलित समुदायको थुप्रै राजा महाराजाहरू रहेको इतिहास पाइन्छ।

सातौंदेखि तेह्रांै शताब्दीभित्र वर्तमान सिरहा जिल्लालाई केन्द्र बनाएर चर्चित राजा सहलेश सम्राटले शासन गरेका थिए। सिरहा नगरपालिकामा रहेको मैसोथागढमा राजा सहलेशको राजदरबार रहेको थियो। राजा सहलेश (दुसाध/पासवान) सबैभन्दा चर्चामा रहेका शिल्पी/दलित समुदायका राजा पनि हुन्। सहलेश किराँतीहरूका समेत पूज्य थिए। उनको प्रभाव तराई/मधेशमा मात्रै सीमित नभएर उत्तरमा महाभारत शृंखला, दक्षिणमा गंगा नदीको किनार, पूर्वमा मोरङ, पश्चिममा गण्डक क्षेत्रसम्म फैलिएको थियो। गंगाको किनारमा मुक्माघाट रहेको छ।
जहाँ अहिलेसम्म ठुलो संख्यामा दुसाध (पासवान) जातिको बसोबास रहेको छ। त्यस समयका खस राजा कुलेश्वरसँग समेत राजा सहलेशको सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको थियो। खस राजाका सेनापति चुहरमल्लको उदण्ड व्यवहारलाई नियन्त्रण गर्न राजा कुलेश्वरलाई, राजा सहलेशले मद्दत गरेका थिए। दिनाराम दिनाभद्री दुई दाजुभाइ थिए। उनीहरूले सहलेश र वरिपरिका शिल्पी/दलित राजाहरूलाई सरसहयोग गर्ने गर्दथे। एकप्रकारले दाजुभाइ सुरक्षाकवच र पहलमानको रूपमा रहेका थिए तर विरोधी र विपक्षीहरूले षड्यन्त्र गरेर कटैया भन्ने ठाउँमा दाजुभाइलाई नै बध गरिएको थियो। आफ्नो प्रिय सहयोगी पहलमानको हत्याले राजा सहलेश विक्षिप्त बने तापनि पनि समानता र न्यायमा आधारित राजकाजलाई राजा सहलेशले जारी राखे। 

आफ्नो राज्यमा जनताको न्यायका लागि ‘गहबर’ को स्थापना गरिदिएका थिए। मैथिली भाषामा ‘गहबर’ को अर्थ देवताको स्थानमा गुहार लाउने, अपिल गर्ने, न्याय माग्ने, मेलमिलाप केन्द्र, ग्रामीण अदालत भन्ने हुन्छ। राजा सहलेशले आफ्नो जनताको सुख–शान्ति र सुरक्षाका लागि गाउँ–गाउँमा, ठाउँ–ठाउँमा ‘गहबर’ केन्द्रको व्यवस्था गरिदिएका थिए। पूर्वसांसद् रामप्रीत पासवान (एमाले) का अनुसार–‘अहिले पनि तराई/मधेशका सबै जिल्लामा दुसाध(पासवान) जातिको घर–आँगनमा ‘गहबर’ मन्दिर बनाएको हुन्छ। जहाँ राजा सहलेश उपस्थिति भएर न्याय पाइन्छ भन्ने जनविश्वासले पूजाआजा र प्रार्थना गर्ने गरिन्छ।’ पासवान भन्नुहुन्छ–‘किराँतीहरूले ‘देउराली’ वा ‘गहबर’ मा ‘जय सहलेश महाराज’ भन्दै श्रद्धाभावले शिर झुकाएको आफैंले समेत देखेको छु।’

शिल्पी/दलित समुदायका राजा सहलेशको यस्तो गौरवशाली इतिहास रहेको पाइन्छ। यसैगरी कारिक महाराज (चमार), तराई/मधेश, सोसिया महाराज (खत्वे) तराई/मधेशका चर्चित र प्रमुख राजाकारूपमा रहेका छन्। यसरी अनार्य द्रविड, शिल्पी/दलित समुदायले विकास गरेको राजकाज, भूमि, अनादिकालीन मौलिक शिल्पसभ्यता र संस्कृतिबाटै खसबाहुन शासकहरूले विस्थापित गरेको इतिहास साक्षी छ। त्यस्तै शिल्पी/दलितसमुदायको भूमि र अस्तित्वसँग जोडिएका नामहरूमा–ललितपुर जिल्लामा दमाईटार, भक्तपुर जिल्लामा नगरा–नगरकोट, काभ्रे जिल्लामा कामीडाँडा, कास्की जिल्लामा माछापुच्छ्र«े हिमश्रृंखला (६२४८ मिटर) मा रहेको गन्धर्वचुली तराई/मधेशमै सुनारीपुर, लोहारीपुर र चमारीपुर, पत्थरकोट आदि भौगोलिक तथ्य प्रमाणहरूको रूपमा रहेको पाइन्छ।

यसरी थप अन्य भौगोलिक क्षेत्रहरू खोज तथा अनुसन्धानको विषय बनेको छ।नेपालका इतिहासकारहरूले यी समुदायको भौगोलिक नामाकरणहरूलाई आफ्नो लेखनमा खुलेर लेखेका छैनन् किनकी इतिहास पनि वर्ग र शासक जातिकै गुणगान गाउने हतियार भएकाले जित्नेहरूको इतिहास लेखियो, हार्नेहरूको मेटाइयो। मनुको धार्मिक विधानअनुसार अनार्य द्रविड, शिल्पी/दलित समुदाय बहिष्करण, अलगीकरण, किनाराकृत र नष्टीकरणमा पारिएका जातीय समूहहरू हुन् (विश्वकर्मा र नेपाली, २०७६)।

मनुस्मृतिमा भनिएको छ : आहरेत्रिणी वा द्वे वा कामं शुद्रस्य वेश्मनः। न हि शूद्रस्य यज्ञेषु कश्चिदस्ति परिग्रह।। (मनुस्मृति ७/७९) अर्थात्–यज्ञका निमित्त ब्राम्हणले शुद्रको धन खोसेर लिन सक्छ किनभने यज्ञसँग शुद्रको कुनै सम्बन्ध छैन। मनुले मनुस्मृतिमा लेख्छन् : शक्तेनापि हिशूद्रेण न कार्यो धनसंचयः। शूद्रो हि धनमासद्य ब्राह्मणानेव बाधते।।(मनुस्मृति १०/२९) अर्थात्–सक्षम भएर पनि शुद्रले धन सञ्चय गर्नुहुँदैन। शुद्रले धन पायो भने ब्राह्मणलाई सताउँछ। यही मनुको धार्मिक शुत्रलाई प्रयोग गरी शिल्पी/दलित समुदायलाई भूमि र सम्पत्तिविहीन बनाउने श्रृंखला चलेको थियो। यो क्रम अहिले पनि जारी छ।

शिल्पी/दलित समुदायको प्रदेशगत जनसंख्यामा प्रदेश नं.१ मा १०.०६ प्रतिशत, प्रदेश नं.२ मा १७.२९ प्रतिशत, प्रदेश नं.मा ३ मा ५.८४ प्रतिशत, प्रदेश नं. ४ मा १७.४४ प्रतिशत, प्रदेश नं. ५ मा १५.११ प्रतिशत, प्रदेश नं. ६ मा २३.२५ प्रतिशत र प्रदेश नं. ७मा १७.२९ मा प्रतिशत जनसांख्यिक उपस्थिति रहेको छ(हिमाल,२०७६ः३९)।

यो समुदायको जनसंख्या प्रदेशगत रूपमा पहिलो कर्णाली–भेरी र दोस्रो गण्डकी देखिन्छ तर बाहुल्यताका हिसाबले हिमाल–पहाडमा पहिलो कर्णाली–भेरी र दोस्रो तराई–मधेशको २ नं. प्रदेशमा छ। अर्थात् पूर्व झापादेखि पर्सासम्म ११ वटा जिल्लामा यादवको भन्दा ज्यादा बाहुल्यता उत्पीडित समुदायको रहेको तथ्यांकले देखाउँछ। यो समुदायको १–१ भौगोलिक प्रदेश बन्न सक्ने वस्तुगत, सैद्धान्तिक र व्यावहारिक आधार यही दुई ठाउँ हुन्। हिमाल पहाडका कथित दलित समुदायकोपश्चिम नेपालका ८ जिल्लामा(बाग्लुङ, सुर्खेत, जाजरकोट, दैलेख, कालीकोट, अछाम, बाजुरा र डोटी) यसको उपस्थिति २३ देखि ३० प्रतिशतसम्म छ। यो ८ जिल्लालाई समेटेर पनि प्रदेश बनाउन सक्ने आधार देखिन्छ। बाँकी ठाउँ र क्षेत्रमा संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र, विशेष क्षेत्र कायम गर्न सकिन्छ। अर्को विकल्प निर्वाचन आरक्षित क्षेत्र कायम गरी पूर्ण समानुपातिकमा ध्यान दिइनुपर्दछ। जसले गर्दा आम उत्पीडित समुदायको राज्यले नै हजारौं वर्षदेखि दबाएको आत्मसमान माथि उठ्न सक्छ।

नेपालमा इशापूर्व पाँचौं शताब्दीतिर नै दक्षिणका विदेह, कोलिय (कामी), शाक्यहरू तथा उत्तरका किराँतहरूमा व्यापार विनिमय बढ्दै गएको थियो। यो समयमा बसाईसराई र श्रम विभाजनको पनि महत्वपूर्ण भूमिका रहेको थियो।

कतिले भन्ने गर्दछन् कहाँ यो समुदायको प्रदेश बन्न सक्छ ?उहाँहरूलाई प्रश्न छ, अरू समुदायको चाहिँ दोस्रो, तेस्रो जनसंख्या भएको ठाउँमा प्रदेश दिन मिल्छ भने यो समुदायको बाहुल्यता भएकोठाउँमा किन दिन नमिल्ने ? शिल्पी/दलित समुदायको सहभागिताबिना कस्तो राज्यको परिकल्पना गरिएको हो ?नेपाली समाजको बहुलताअनुसार यो हुनै सक्दैन। हजारौं वर्षदेखि विभेद र उत्पीडनमा पारेर बन्धक बनाइएका समुदायमाथि सरासर अन्याय हुन्छ। संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था वा समाजवाद उन्मुख २०७२ को संविधानलाई शिल्पी/दलित समुदायको उल्लेखनीय नेतृत्वको सहभागिताबिना यो व्यवस्था नै अधुरो रहन्छ। यो समुदायलेप्रदेश पाउन पहिलो जनसंख्या हुनैपर्ने कस्तो मत्स्य न्याय हो ?अरूले हामीमाथि हजारौं वर्षदेखि उत्पीडन, विभेद र शासन गर्न मिल्ने तर हामीले अहिले शासकमाथि शासनाधिकारको हक भने किन नपाउने ? यो कस्तो अधिकार र न्याय हो ?
उत्तम आजीविका ब्राह्मणको हुनुपर्छ भन्ने सन्दर्भमा मनु लेख्छन् –

सेनापत्यं च राज्य. च दण्डनेतृत्वमेव च। सवैलोकाधिपत्यं च वेदशास्त्रविर्हति।। (मनुस्मृति १२/१००) अर्थात्–राज्यमा सेनापतिको पद, न्यायाधीश, शासनको अध्यक्ष पद, प्रत्येकमा शासन गर्ने अधिकार केवल ब्राह्मणहरूको मात्र छ। त्रैविद्या हेतुकस्तर्की नैरुक्तो धर्मपाठकः। त्रयश्राश्रमिणः पूर्वे परिषत्स्याद्यशावरा।। (मनुस्मृति १२/१११) केवल वेदज्ञाता दश ब्राम्हण मण्डली नै सभासद हुनसक्छ। त्यसैगरी मनु लेख्छन् ः जातिमात्रोवजीवी वा कामं स्याद्धाह्यणब्रुवः। धर्मप्रवक्ता नृपेतेर्न तु शुद्रःकथंचन।। (मनुस्मृति ८/२०) अर्थात् ः ब्राह्मण जात भएको कारणले मात्र पनि ब्राम्हण राजाको धर्म प्रवक्ता हुनसक्छ तर शुद्र कहिल्यै पनि हुन सक्दैन।

मनुले सबै श्रेष्ठ पद र अधिकार ब्राह्मणहरूका लागि आरक्षित गरिदिए। उनले ब्राह्मणहरूलाई सावधान गर्दै भनेका छन्। यदि कथंमकदाचित् शुद्र राजा भइहाल्यो भने पनि ब्राह्मणहरू शुद्र शासित क्षेत्रमा बस्नुहुँदैन। यसबाट शुद्रहरूप्रति ब्राम्हणहरूको फरक भाव देखिन्छ अर्थात् हिजो शासकहरूले अनार्य द्रविड, शिल्पी दलितहरूलाई अलग अलग गरेर उनीहरूमाथि नै शासन गरे। आज हामी सबै एउटै हांै भन्ने ललिपप देखाएर नयाँ आवरणमा शासकहरू फेरि शासकै बनिरहने षड्यन्त्र गरिरहेका छन्। यो शासकीय चलाखी, दाउपेच र षड्यन्त्र कसैलाई पनि बुझाइराख्नुपर्ला जस्तो लाग्दैन (विश्वकर्मा र नेपाली, २०७६)। 

हिजो हामी माथि छुट्ट्याएर शासन सत्ता लादे। आज हामी एउटै हौं भन्ने हरियो घाँस देखाएर सदाबहार शोषण, दमन र शासन गर्न खोजिरहेका छन्। नामको नयाँ व्यवस्था तर काम चाहिँउही मुनुवादी र नश्लीय मानसिकताबाट ग्रसित देखिन्छ। विगतमा गौरवशाली राजकाज, शासनसत्ता गरिसकेका, किराँतहरूका समेत पूज्य लोकनायक भूमिपुत्र सहलेश र दिनाराम दिनाभद्री सम्राटलाई पूरै वेवास्ता गरी प्रदेश २ को नामकरण गर्न खोजिनु आपत्तिजनक विषय हो। यो बर्साैंदेखि विभेद र उत्पीडनमा पारिएका शिल्पी/दलित समुदायको अस्तित्वलाई अस्वीकार गर्नु हो। यो नयाँ स्वरूपको विभेदको सुरुआत पनि हो। अहिले कसैको दबाब, प्रभाव, सत्ता र शक्तिको आडमा एकलौटी प्रदेश नामाकरण गरिएपनि रैथाने उत्पीडित समुदायहरूलाई कदापि मान्य हुन सक्दैन।

यदि सबैको अस्तित्व स्वीकार, आत्मसम्मान, सामेली संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने सवालमा महान् सहलेश सम्राट्लाई भुल्नुहुँदैन। रैथाने उत्पीडित र पछि आएकालाईसमेत मान्य हुने प्रदेश नामाकरण गरिनुपर्दछ। जस्तै–प्रस्तावका लागि सहलेश सम्राट् तराई–मधेश प्रदेश, सहलेश भोजपुरा–अवध मधेश प्रदेश, सहलेश सम्राट् मधेश प्रदेश आदि नाममा वर्तमान प्रदेश नं.२ को नामाकरण गर्दा सबैलाई मान्य हुनसक्छ। 

रैथाने शिल्पी/दलित समुदायको लामो इतिहास, विभेद र उत्पीडनको हिसाबले क्षतिपूर्तिको रूपमा वा सम्मानजनक लोकतन्त्रको प्रत्याभूति गराउन जरुरी छ। सहलेश सम्राट् राजा मात्रै नभएर त्यहाँका रैथाने उत्पीडित जनताको माटो, भूगोल, अस्तित्व इतिहाससँग अभिन्न रूपमा जोडिएको विषय हो। संघीयताको आधार र नामाकरणमा पहिचान र सामथ्र्यको सिद्धान्तले मात्रै आमउत्पीडित समुदायलाई समेट्न सक्दैन।संघीयताको आधार र नामाकरणमा उत्पीडन र विभेदलाई पनि मुख्य आधार बनाइनुपर्दछ। अहिले सहलेश सम्राट्–दिनाराम दिनाभद्रीलाई नजर अन्दाज गरी प्रदेश नामाकरण गरिएपनि आगामी दिनमा आन्दोलन उठानलाई कसैले रोक्न नसक्ने विषयलाई हेक्का राख्नु जरुरी छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.