टाउको
कविताको ठूलो हतियारले
यसलेसोचिरहन्छ सधैं
ठुलो नोटबुकमा
मन्त्रीहरूको नाम कोर्छ फेरि मेट्छ
आफूले लेखेको नाम पढेर
बारम्बार मुस्कुराउँछ,
फोन उठाउँछ र भन्छ
यो सरकारसँग कुनै आशा छैन !
सत्ता परिवर्तनको नयाँ मुस्कानसहितको
बतासे व्याख्या गर्छ,
समुद्रले समुद्रमै बसेर तिर्खाएझैं
सुस्केरा हाल्छ,
फेरि फोन उठाउँछ र भन्छ
यो मन्त्रीको पनि के कुरा गर्नु
कलाको ‘क’ जान्दैन
साहित्यको ‘स’ जान्दैन
संगितको सुर नै थाहा छैन
संस्कृतिको मूल्य नै थाहा छैन
फेरि भन्छ–
नारायण गोपालले गाउनै जान्दैन
नातीकाजीको पनि संगीत हो र बेसुरा छ
लक्ष्मीप्रसादले पनि लेख्छ र
सत्यमोहनले पनि संस्कृतिको कुरा गर्छ यार !
उ सोच्दैन– मात्र बोल्छ, धेरै बोल्छ
आफूबाहेक अरू केही पनि जान्दैन भनेर बोल्छ
कार्यक्रममा आसनग्रहण गर्नै पर्छ
मन्तव्य राख्नै पर्छ–
पाएन भने निदाएको बहाना गर्छ
नत्र हुट्ट्यिाउँले आकाश धानेको सपना देख्छ
आफूले आफ्नै जिब्रोमा
सरस्वतीले बास बसेको छ ढुक्कसँग भन्छ ।
जसलाई उसले दास बनाएको छ
त्यो झुण्डले महान् भनेपछि हौसिएर
मदिराको समुद्रमा डुबेको बेला
आकाश च्यात्छु भन्छ,
चन्द्रमाको फुटबल खेल्छु भन्छ,
साप्रामा सुताएर नाक उठाउनेहरूलाई
कसमको डोरीमा बाँधेर सुरहराएको गीत गाउँछ,
कहिलेकाही त म नै कृष्ण हुँ भन्छ
जिन्दगी त कुरुक्षेत्र हो
म चलाउँछु सुदर्शन चक्र भन्दै
नयाँ जोगीहरूको खोजीमा
उदास साँझ पर्खेर सिकारमा निस्कन्छ,
वास्तविकता बुझ्नेहरू भन्छन्
उसको हातले जहाँ छोयो त्यही भत्केको छ
जहाँ टेक्यो त्यही चर्केको छ
तर ऊ सपनामा पनि ऋषिमुनि भएको
आफ्नो सपनाको व्याख्या गर्छ ।
प्रियवर !
जसले समयको गीत गाउँ भन्छ
जीवनको उज्यालो र
कविताको शक्तिको कुरा गर भन्छ
आफूसँग नभएको विद्घत्वता र
निपूर्णताको गफ नहाँक भन्छ
र आफैंलाई बिर्सेर मात्र सोचिरहन्छ
प्रेम र कविताको बारेमा
सामथ्र्य र कलाको बारेमा
सभ्यता र संस्कृतिको बारेमा
जीवन र संगीतका बारेमा
साह्रै ह्याङ भो !
कविताको ठूलो हतियारले
छिनाल्छु म आफ्नै टाउको
सधैं सोचिरहन्छयसले
उनीहरूको प्रपञ्चनाको विरोधको बारेमा
ज्यादै गाह्रो हुने गरी सोचिरहन्छ
सिङ्गो समयको बारेमा ।