समाजको प्रतिच्छाया

समाजको प्रतिच्छाया

बल्ल आफूलाई बुझ्ने मान्छेले धोका दिएको थाहा पाउँछे। त्यसपछि धेरै आहत हुन्छे किनभने उसले जीवनलाई मनैदेखि माया गरेकी हुन्छे। उसलाई विश्वासमा घात हुन्छ। विक्षिप्त हुन्छे। तर के गर्नु ! जे हुनु भइसकेको थियो।


तृषा अर्थात् प्यास, तिर्खा, इच्छा, लालसा, लोभ आदि। उपन्यासको कथा हाम्रै घर र हाम्रै वरिपरिको कथा हो। यसमा उपन्यासकार सुशीला पौडेलले आफ्नो लेखन सीप र आफ्नो लेखन क्षमता देखाएकी छन्। पहिलो उपन्यास भए पनि उनको कलम माझिएको छ। त्यसो त यिनी गीत, गजल, मुक्तक र कवितामा रमाउँदै आएकी सर्जक हुन्।उपन्यासमा पात्रहरू धेरै छैनन्, घटनाहरू झिँजो लाग्ने खालका छैनन्। कथा सलल्ल अगाडि बढेको छ। पढ्दै जाँदा अब के होला भन्ने जिज्ञासा जाग्छ। किताब पढ्दै जाँदा पाठक कतै भावुक हुन्छ त कतै मज्जाले हाँस्न पुग्छ।

उद्योगपति प्रमोदको एउटा सानो र सुखी परिवार हुन्छ। उसकी श्रीमती प्रमिला र साना केटाकेटी छोरी साधना र छोरो सार्थक। चारजनाको परिवार। नपुग्दो केही थिएन। चिटिक्क परेको बंगला, मोटरगाडी, पर्याप्त बैंक ब्यालेन्स, राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार। दुवै पढालेखा तर पनि उनीहरूमा एउटै कुराको अभाव हुन्छ। त्यो हो एकले अर्कालाई दिने समय, शरीरले खोजेको आवश्यकता र एकले अर्कालाई दिने सम्मान अनि इज्जत। यसमा प्रमोद चुकेको हुन्छ। उसले प्रमिलाको भावनालाई बुझ्दैन मानौं प्रमिला उसकी जीवन साथी होइन। घरकी एउटी बफादार र इमान्दार नोकर्नीमात्र हो।

यही कारण जहिले पनि ऊ अफिस जाने बेलामा उसको मोजा र टाई खोजेर ठिक्क पारेर राखिदिनुपर्छ। उसको ल्यापटप र पेन ड्राइभ बोकेर खडा हुनुपर्छ। न उसले प्रमिलाको चाहनालाई बुझ्छ न त छोराछोरीलाई समय दिन्छ। उसलाई केवल व्यापार बढाउन पाए पुग्छ। जति भए पनि पुग्दैन उसलाई। यही खटपटलाई लिएर उपन्यासको कथा अगाडि बढ्छ।प्रमिलाको घरमा सावित्री नामकी केटी पनि बस्छे। भाडामा। तल्लो फ्ल्याटमा। ऊ एक्लै हुन्छे। उसको लोग्ने प्राचार्य विदेश गएको हुन्छ। पैसा कमाउन।
काठमाडौंकी नेवारकी छोरी झापाको कट्टर ब्राह्मणको छोरासँग प्रेम विवाह हुन्छ। सानी छोरी हुन्छे। उनीहरूको प्रेम प्रसंग पनि साह्रै रोचक छ। रमाइलो छ। उनीहरूको प्रेम मात्र २० रुपैयाँको नोटले गराएको हुन्छ। यो उपन्यासमा रमाइलो गर्ने उनीहरू नै हुन्। प्रमोदले प्रमिलालाई घरबाहिर जान दिँदैन। आफ्नै व्यवसायमा पनि हात बढाउन दिँदैन अनि कुनै जागीरमा लाग्न पनि दिँदैन। घरमै कठपुतली बनाएर राखेको हुन्छ। प्रमिलालाई घरमा बसेर समय काट्न गाह्रो हुन्छ। सावित्रीले दुःखसुखमा उसलाई साथ दिन्छे। उसको सामीप्यताले गर्दा प्रमिलालाई अलिकति भए पनि सान्त्वना मिलेको हुन्छ।

नभएको कुरा पाउन खोज्नु मानवीय स्वभाव हो। उपन्यासमा अर्को एउटा मुख्य सहायक पात्र हुन्छ जीवन। ऊ प्रमोदको फ्याक्ट्रीको मेनेजर। जीवन पहिलो भेटदेखिनै प्रमिलाको पछि लाग्छ। ऊ प्रमिलाको रूपको प्रशंसा गर्छ। प्रमिलालाई असाध्यै प्रेम गर्छु भन्छ। उनलाई नपाए मर्छु भन्छ। प्रमिलाको भावना बुझेको नाटक गर्छ। प्रमिला जीवनको कुरामा विश्वास गर्छे। उसको नाटकीय प्रेममा पग्लिन्छे र उसलाई पटकपटक आफ्नो शरीर सुम्पिन्छे। एक दिन जीवनले आफ्नो बुबा आगोमा जलेर मर्नु न बाँच्नु हुनुभएको छ, दिल्लीमा उपचार गर्न जानुपर्‍यो भनेर प्रमिलासँग पाँच लाख सापटी मागेर लान्छ र बेपत्ता हुन्छ।जीवनले फ्याक्ट्रीको व्यापारका लागि भनेर प्रमोदसँग पनि छ लाख लिएर गएको हुन्छ। पछि प्रमिलाले बुझ्दा ऊ अस्ट्रेलिया गएको हुन्छ। बल्ल आफूलाई बुझ्ने मान्छेले धोका दिएको थाहा पाउँछे। त्यसपछि धेरै आहत हुन्छे किनभने उसले जीवनलाई मनैदेखि माया गरेकी हुन्छे। उसलाई विश्वासमा घात हुन्छ। विक्षिप्त हुन्छे। तर के गर्नु ! जे हुनु भइसकेको थियो।

‘तृषा’ एउटा उच्च कोटिको मनोवैज्ञानिक उपन्यास हो। हाम्रो समाजमा यस्ता घटना धेरै घट्ने गरेका छन्। अहिले पनि शिक्षित र आफूलाई विद्वान् छु भनेर गर्व गर्ने व्यापारी वा जागिरे पुरुषहरूले महिलालाई घरबाहिर निस्कन दिँदैनन्। श्रीमतीलाई अरूसँग बोल्न दिँदैनन्। बिहान उठ्नेबित्तिकै खुट्टाको पानी खान लाउँछन्। तर बाहिर भने समानताको गुड्डी हाँकिरहेका हुन्छन्। अरू त अरू भैहाले, सबैभन्दा बढी नारी स्वतन्त्रताको नारा फलाक्ने नेताहरूले पनि यसो गरेको देख्दा यो मन कटक्क काटिएर आउँछ। समाजका अगुवाहरू– मुखले भन्छन् एउटा र व्यवहारमा गर्छन् अर्कै। कस्तो विडम्बना !

उपन्यासको मुख्य पात्र प्रमोद यस्तै एउटा सम्पन्न तर घटिया पात्र हो। पैसा भएपछि घर त्यत्तिकै स्वर्ग हुन्छ भन्ठान्छ। यौवनले धपक्क बलेकी आफ्नी सुन्दर श्रीमतीको यौन चाहनालाई बुझ्दैन। सधैं अफिसको मिटिङ, सधैं राति अबेला घर आउँछ र सुतिहाल्छ। श्रीमतीले के भन्न खोजेकी छे, छोराछोरीले पढे कि पढेनन् उसलाई केही मतलब छैन। प्रमिलाले घरको उकुसमुकुसबाट एउटा निकास खोजिरहेकी हुन्छे। त्यही बेलामा उसको अगाडि जीवन भन्ने मान्छे टुप्लुक्क आउँछ र ऊ बिस्तारै त्यता ढल्किन्छे। तर त्यो निकास पनि एउटा अँध्यारो सुरुङ थियो, एउटा दलदल थियो र एउटा खाल्डो थियो अनि ऊ जानी नजानी त्यो खाल्डोमा खस्छे। उपन्यास यसरी सकिन्छ।

नाम चलेका लेखक र नाम चलेका किताबका अगाडि यो उपन्यास निरीह हुन सक्छ, ओझेलमा परेको हुन सक्छ तर साँच्चै घोत्लेर पढ्ने हो भने यो पुस्तकको कथानक, भाषा र शैली अब्बल छ। मान्छेहरू भन्छन् नि, बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन। त्यस्तै उपन्यास हो यो। चुपचाप लेखिरहेकी छन्। गुमनामछन्। उपन्यासमा एकाध ठाउँमा भाषा खलबलिएको छ र केही ठाउँमा शुद्धाशुद्धिलाई त्यति ध्यान दिइएको छैन। मीठामीठा व्यञ्जन खाइरहेको बेलामा कहिलेकाहीँ दाँतमा ठेस लाग्न पुग्छ।कलात्मक कृतिका लागि सुशीला र शिखा बुक्सलाई बधाई !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.