त्यो अमरज्योति यो अमरज्योति
अमरज्योतिबाट उत्पादन भएका विद्यार्थीहरू प्रधानमन्त्री, विश्वविद्यालयका कुलपति, उपकुलपति, संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि, राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतका पदमा पुगेकाछन्।
पालुङ्टार नगरपालिका४ लुइँटेलस्थित अमरज्योति जनता माविका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष प्रकाश न्यौपाने अहिले गोरखा कारागारमा छन्। आफैं अध्यक्ष रहेको विद्यालयमा पढ्ने एक बालिकामाथि जबरजस्ती करणीगरेको आरोपमा उनी पक्राउ परे। उनी आवद्ध राजनीतिक दलको दबाब र प्रभावका कारण प्रहरीले उनलाई तारेखमा रिहा गर्यो।
उनीपछि सोही वडाका वडाअध्यक्ष ठाकुरकान्त रानाभाट विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बने। उनी पनि सोही विद्यालयको कक्षा नौमा अध्ययनरत एक बालिका बलात्कारको मुद्दामा अहिले कैद सजाय भोगिरहेका छन्।यो घटनाले अहिले अमरज्योति माविको बदनाम गराएको छ। यो त्यही लुइँटेल स्कूल हो, जहाँबाट २०२६ सालको एसएलसीमा बाबुराम भट्टराई बोर्ड प्रथम भएका थिए। त्यही ब्याचका उपेन्द्र देवकोटा बोर्डको दसौं स्थानमा उतीर्ण भएका थिए।त्यही विद्यालय हो, जहाँ पढेका विद्यार्थीले २०२६ सालदेखि २०३३ सालसम्मको प्रत्येक एसएलसीमा लगातार दुईजना, तीनजना, चारजनासम्म पनि बोर्डको ‘टपटेन’मध्ये कुनै न कुनै स्थान कब्जा गर्थे।
२०२२ सालदेखि सो विद्यालयले एसएलसी परीक्षामा सहभागी गराउन थालेको हो। पहिलो वर्षमा एसएलसीमा सहभागी छ जनामध्येशतप्रतिशतले उतीर्ण गरेपछि अभिभावक हौसिएका थिए।एसएलसीमासहभागी हुन थालेको चारै वर्षमा २०२६ सालमा बाबुराम भट्टराईले एसएलसी बोर्डमा प्रथम स्थान जमाएपछि २०३० सालमा हरिप्रसाद ढकाल बोर्ड चौथो भए। २०३१ मा दीपक धिताल पनि बोर्ड चौथो भए।
२०३२ मा बोर्डको दसस्थानमध्ये चारवटा स्थान अमरज्योतिले हात पार्यो। देवेन्द्रसिंह पन्त चौथो, होमप्रसाद न्यौपाने पाँचौं, शम्भुप्रसाद न्यौपाने छैठौं र राजेन्द्र वाग्लेले एसएलसी बोर्डको नवौं स्थान हासिल गरे।२०३३ सालमा विष्णुप्रसाद देवकोटाले सातौं र केदारप्रसाद बडुले बोर्डको दसौं स्थान हात पारे।त्यतिबेला राजधानीबाहिर ग्रामीण भेगको विद्यालयबाट वर्षेनी बोर्डमा पर्ने अमरज्योति मावि मात्र थियो।यो त्यही लुइँटेल स्कूल हो, जसले एसएलसीमा उत्कृष्ठ स्थान हासिल गरेबापत लगातार पाँच वर्षसम्म राजाको हातबाट राष्ट्रिय पुरस्कार हात पार्यो।
डा. बाबुराम भट्टराई, डा. उपेन्द्र देवकोटा, डा. देवेन्द्र वाग्ले, डाक्टर दिनेशचन्द्र देवकोटा, डा. लक्ष्मीप्रसाद देवकोटालगायतले अमरज्योतिलाई अमर बनाए।पूर्वप्रधानन्त्रीसमेत रहेका पूर्वविद्यार्थी बाबुराम भट्टराई त्यतिबेलाको अमरज्योति स्मरण गर्दै भन्छन्, ‘अमरज्योतिलाई त्यो अवस्थामा पुर्याउनुमा अमेरिकी नागरिक एलिनर एल्किन्सको योगदान सबैभन्दा अग्रपंक्तिमा आउँछ। हामी सबैकी आदरणीय गुरुआमा साँच्चैकी गुरु मात्र नभएर आमा र अझ भनौं एउटी देवदूत नै हुनुहुन्थ्यो। त्यस्ती महान् महिलाबाट औपचारिक शिक्षा मात्र होइन, अनुशासन र नैतिकताको पाठ सिक्न पाउनु हाम्रो साँच्चै अहोभाग्य थियो। अमरज्योति विद्यालयलाई अमरज्योति बनाउनुमा उहाँको योगदान अतुलनीय छ। आजभन्दा ४० बर्षअघि एउटा साधारण गाउँको विद्यालयमा इन्साइक्लोपेडिया ब्रिटानिका, नेशनल जिओग्राफिक रिडर्स डाइजेष्टजस्ता पुस्तक पढ्न पाउनु चानचुने कुरा थिएन, जुन उहाँको निजी प्रयत्नको प्रतिफल थियो।’
केरलाबाट आई त्यहाँ पहिलो प्रधानाध्यापकथोमस बर्गीस् र मेरी बर्गीस्दम्पत्ति, त्यसपछिका प्रधानाध्यापक बर्गीस् थोमस र अनामा थोमस दम्पत्तिको योगदानलाई पनि उनले सम्झना गरे। ‘गणित र विज्ञानमा गुणस्तर वृद्धि गर्न उहाँहरू सो विद्यालयमा नभइदिएको भए हामीले सहरबजारका सुविधासम्पन्न स्कूलका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने थिएनौं’, भट्टराई सम्झन्छन्।त्यसअघि लक्ष्मी मावि गाईखुरमा मात्र हाइस्कूल थियो। २००९ सालमा स्थापित गाईखुरको लक्ष्मी माविमा अन्य ठाउँका विद्यार्थीलाई सजिलैसँग भर्ना लिदैनथ्यो।भर्ना लिएपनि त्यहाँकाविद्यार्थीले अन्यत्रबाट गएका विद्यार्थीलाई हेप्थे।
‘खोप्लाङ, लुइँटेल, आँपपीपल, हर्मी, ठाँटीपोखरी, पालुङटार, च्याङ्ली, धुवाँकोट र मिरकोट क्षेत्रका विद्यार्थी पढ्ने एउटा मात्र हाइस्कूल थियो, गाईखुरमा। टाढाटाढादेखिका विद्यार्थी चकटी बोकेर पढ्न जान्थे। तर गाईखुरका विद्यार्थीले लुइँटेलबाट गएकालाई हेप्ने, जथाभावी बोल्ने, कुट्ने, लखेट्ने, अभिभावकले पनि हेप्ने गरेपछि हामी २०१७ साल फागुन नौ गतेयहाँ हाइस्कूल खोल्न बाध्य भयौं’, संस्थापक भवनाथ देवकोटाले भने, ‘स्कूल खोल्ने भनेर त अठोट गरियो तर यहाँदेखि खरिबोटसम्म चन्दा उठाउँदा पनि स्कूल बनाउन नसक्ने पैसा नजुटेपछि हामी आँपपीपलमा क्रिश्चियन मिसन अस्पताल सञ्चालन गरेका यूएमएन(युनाइटेड मिसन टु नेपाल)सामु हात फैलाउन पुग्यौं। उनीहरूले स्कूल भवन, होस्टेल भवन बनाउनेदेखि शिक्षक, शिक्षिका राख्ने र सबै सञ्चालनको जिम्मा पाउने भए मात्र जिम्मा लिने कुरा गरे। हामीले हुन्छ भन्यौं। त्यसरी सुरु भएको हो।’
स्कूल खुल्नुअघि लुइँटेल भञ्ज्याङको एउटा पौवामा संस्कृतको पढाइ हुने सानो पाठशाला थियो। आफ्ना बालबालिका गाईखुरमा हेपिने गरेको घटनाले आजित भएका लुइँटेलभञ्ज्याङका अभिभावकले स्थानीय व्यापारी गोविन्द देवकोटा र राजनीतिक पार्टीका नेता कृष्णप्रसाद धितालको अगुवाईमा सम्पन्न भएको भेलामा रगतले सहीछाप गरेर हाइस्कूल खोल्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
यहाँबाट माध्यमिक तह पार गरेका विद्यार्थी अधिकांश इञ्जिनियर र डाक्टर भएका छन्। ‘ठ्याक्कै तथ्यांक त छैन’, पूर्वविद्यार्थी लक्ष्मीप्रसाद देवकोटा भन्छन्, ‘तर यहाँबाट अहिलेसम्म तीनसयजनाभन्दा धेरै इन्जिनियर उत्पादन भइसकेका छन्।’ एसएलसी परीक्षा दिएर गएका विद्यार्थीलाई यहाँका विदेशी शिक्षकहरूले राम्रो क्याम्पस छनौट गर्न, विज्ञान विषय छान्न प्रेरित गर्ने, छात्रवृत्तिमा विदेश प्लानमा जान सिकाउने भएकाले यहाँका विद्यार्थी डाक्टर र इञ्जिनियर धेरै भएको उनी बताउँछन्।
अमेरिकाबाट आएकी एलिनर एल्किन्सले विद्यालय स्थापना कालदेखि २६ वर्षसम्म रेखदेख गरिन्। अंग्रेजी र भूगोल पढाउँथिन्। छात्रवासका विद्यार्थीको विशेष रेखदेखगर्ने, अनुशासनमा विशेष जोड दिने गर्थिन्।
यूएमएनले विद्यालय सम्हालेपछि २०१९ मा पहिलो नेतृत्व रन वायटनले लिएका थिए। २०२१ सालदेखि दुई वर्षसम्म थोमस बर्गीसले विद्यालयको नेतृत्व लिए। २०२४ सालपछि २१ वर्ष लगातार बर्गीस थोमसले अमरज्योति सञ्चालन गरे। यही युग नै अमरज्योतिको ‘स्वर्णिम युग’ बन्यो।
बर्गीस थोमस दम्पत्ति र थोमस बर्गीस दम्पत्तिले गणित र विज्ञान विषय पढाउँथे। ‘विदेशीले पढाएको अंग्रेजी, विज्ञान र गणितमा विद्यार्थी असाध्यै राम्रो हुन्थे’, पूर्वप्रधानाध्यापक गोविन्द खनाल भन्छन्, ‘अनि एसएलसी दिएपछि साइन्स पढ्नविद्यार्थीलाई अभिमुखीकरण गर्ने, अस्कल, पुल्चोक क्याम्पसमा सम्पर्क गरेर यहाँका विद्यार्थी पठाउने गर्थे। प्लानमा पढ्न जाने तरिका सिकाइरहन्थे।’ यहाँबाट उत्पादन भएका विद्यार्थीहरू प्रधानमन्त्री, विश्वविद्यालयका कुलपति, उपकुलपति, संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि, राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतका पदमा पुगेको पूर्वप्रअ खनालको भनाइ छ।
‘फूलको बासना वरिपरि, मान्छेको बासना डाँडापारि’ भनेझैं फैलिएको अमरज्योतिको कीर्तिका कारण गोरखाका प्रायः सबै भूभागबाट र लम्जुङ, तनहुँ, मनाङ, नवलपरासी, कास्कीबाट समेत त्यहाँ पढ्न आउँथे। अमरज्योति आसपासका गाउँका खोपी, कोठा भाडामा लिएर बस्नेहरूको भीड हुनेगथ्र्यो। ‘त्यतिबेला गाउँको घरमा धेरै कोठा हुन्थेन। घरको दायाँबायाँको पिँढी बारेर खोपी बनाएको हुन्थ्यो। माथिल्लो तलको बार्दलीमा पनि खोपी हुन्थ्यो। त्यहीँ भाडा तिरेर बस्नेहरू खचाखच हुन्थे’ विद्यालयका संस्थापक भवनाथ देवकोटा भन्छन्, ‘गुरुआमाले यसलाई छात्रबासमा राखेर पढाउनु राम्रो हुन्छ भनेर ठम्याएकालाई छात्रबासमै राख्थिन्। अरू यस्तै खोपीमा खचाखच हुन्थे।’
उमेरले ९५ वर्ष कटेका देवकोटा अहिले अमरज्योतिको त्यो चम्किलो ज्योति देख्दैनन्। उमेरका कारण उनले नदेखेका होइनन्। त्यतिबेलाको अमरज्योति देखेका, भोगेका कसैले पनि त्यो ज्योति अहिले देख्दैनन्। जब नेपालको राजनीतिक आकाशमा विभिन्न थरी बादल मडारिन थाले, त्यसपछि यूएमएन विचलित भयो। २०३६ सालको राजनीतिक आन्दोलनपछि बिस्तारै हात झिक्दै गएको यूएमएनले २०४१ सालपछि पूर्ण रूपमा बाहिरियो।त्यसपछिको २१ वर्ष गुणप्रसाद न्यौपानेले विद्यालयको नेतृत्व सम्हाले। त्यसपछिको केही वर्ष गोविन्द खनाल र हाल माधव देवकोटाले विद्यालय सम्हालिरहेका छन्।अमरज्योति सञ्चालन गर्न जिम्मा लिएका संस्थापक हवार्ड वार्कले दुई वर्षअघि पोखरा हुदै लुइँटेल पुगेका थिए। त्यतिबेला भूकम्पले अमरज्योतिको भव्य महल तहसनहस भइसकेको थियो।
कीर्तिपुरदेखि इँटा बनाउने, भवन बनाउने मजदुर ल्याएर बनाएको अमरज्योतिको भवन ध्वस्त भएको देखेपछि उनले रुञ्चे मुख लगाएर सोधे, ‘खै मेरो लुइँटेल स्कूल ? खै मैले बनाएको त्यो बिल्डिङ ?’पूर्वप्रअ गोविन्द खनालले भने, ‘माइक लाउनै नपर्ने ठूलो स्वर थियो उहाँको। वरिपरि घुम्दै सोध्नुभयो, ‘खै मेरो लुइँटेल स्कूल ? खै मैले बनाएको त्यो बिल्डिङ ?’ उनको ध्यान भवनतिर मात्र गयो। शैक्षिक गुणस्तरको दृष्टिले पनि त्यो अमरज्योति अहिले छैन। त्यतिबेला नेपाल जित्ने अमरज्योतिले अहिले गोरखा जिल्ला मात्र पनि जित्न सकेको छैन। जिल्लामा अहिले अमरज्योति मावि कुनै वर्ष चौबीसौं, कुनै वर्ष पच्चीसौं, तीसौं, एकतीसौं स्थानमा छ।
भारतीय दूतावासले विद्यालयको भव्य महल बनाइदिएको छ। पुस्तकालय छ, विज्ञान प्रयोगशाला, अंग्रेजी प्रयोगशाला, गणित प्रयोगशाला छ। दृष्टिविहीन पढ्ने विशेष कक्षा पनि सञ्चालित छ। विद्यालयसम्म मोटरबाटो छ। विद्यालयको आफ्नै स्कूलबस पनि छ। तैपनि त्यो अमरज्योति अहिले छैन।पूर्वविद्यार्थी इञ्जिनियर डा.लक्ष्मीप्रसाद देवकोटा भन्छन्,‘त्यतिबेला पूर्वाधार थिएन, शिक्षक पाउन गाह्रो थियो, शैक्षिक सामग्री कम थियो तर पढाइ राम्रो थियो। शिक्षक र प्रअको अपनत्व थियो। सहयोगी अभिभावक थिए। अनुशासित विद्यार्थी थिए। सबैको जोडकोण थियो। अहिलेभौतिक रूपमा सुविधासम्पन्न छ। ल्याब छ।विद्यालयको भवन ठूलो छ, तर परिवार छैन।’
परिवार भन्नाले विद्यार्थी, शिक्षक, अभिभावकको कसिलो सम्बन्ध भएको उनको भनाइ छ।अमरज्योतिको अवस्था खस्किँदै गएबारे देवकोटाको आफ्नै धारणा छ। शिक्षामा राजनीति भयो। त्यो पनि नकारात्मक राजनीति। शिक्षकहरू राजनीतिक पार्टीका सदस्य बने। व्यवस्थापन समिति बनाउँदा विद्यालय रणभूमि हुन थाल्यो। मुठभेडबाट बनेको समिति विद्यालय तान्नेतिर भन्दा धकेल्नेतिर लागे, बनाउनेतिर भन्दा बिगार्नेतिर लागे। विदेशीले अमर बनाइदिएको अमरज्योति स्वदेशीले बिगारेको उनको टिप्पणी छ।
त्यो अमरज्योति र यो अमरज्योतिमा आकाश जमिनको भेद हुनुमा विद्यालयका प्रधानाध्यापक माधव देवकोटा भने विद्यार्थी र अभिभावकमा दोष थोपर्छन्। त्यतिबेलाको जस्तो पढ्नु पर्छ भन्ने विद्यार्थी नहुनु, आफ्ना छोराछोरीलाई जसरी पनि पढाउनु पर्छ भन्ने अभिभावक नहुनुले यो अवस्था आएको उनको तर्क छ। बोर्डिङमोहले सम्पन्न र सचेत अभिभावकले बालबच्चा सहरतिर लगेका कारण गुणस्तर खस्केको उनको निष्कर्ष छ।