राष्ट्रियताको इन्द्रेणी
राष्ट्रिय भावनालाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन तथा विस्तारित तुल्याउन भाषा, साहित्य एवं कलाको अहंमहत्व रहन्छ। एउटा देशको भाषा, साहित्य वा कलालाई अर्को देशका मानिसले बुझ्न, सिक्न सक्छन्। त्यसबाट भाषा, साहित्य, कलाको अन्तर्राष्ट्रिय प्रभाव र गरिमामा वृद्धि हुनजान्छ। अंग्रेजी भाषाले विश्वव्यापी मान्यता पाउन सक्नुमा यसको एउटा महत्वपूर्ण उदाहरण हुनसक्छ। एक देशमा सिर्जित उत्कृष्ट कलाले संसारभरिकै मानिसद्वारा सम्मान प्राप्त गर्दछ।
भिन्ची, पिकासो, माइकल एन्जेलोआदिका चित्रकला, मोजार्टलगायत अन्य कैयौं संगीतकारका संगीत सिर्जना विश्व सम्पदाका रूपमा रहेका पाइन्छन्। बेलायतलाई शेक्सपियर, किट्स, शेली आदि स्रष्टाहरूले विश्वव्यापी रूपमा सम्मानित गराउन योगदान पुर्याएका छन्। संस्कृत साहित्यलाई विश्वबाट नै सम्मान प्राप्त छ। व्यास, वाल्मिकी आदि प्राचीन स्रष्टाहरूले कति अमर साहित्यको सिर्जना गरे ! विश्व ज्ञानगंगाका रूपमा सम्मानित उनीहरूको प्रभावलाई जित्नसक्ने स्रष्टाअरू भाषामा पनि सायदजन्मिएको छैन। रामायण तथा महाभारतजस्ता साहित्यको महत्त्व विश्व सभ्यतामा नै अमर रहेको छ, जुन कहिल्यै पुरानो बन्दैन।
हरेक वर्ष विश्व साहित्यका उत्कृष्ट कृतिका स्रष्टाहरूलाई नोबल पुरस्कारद्वारा सम्मान गरिन्छ। त्यसपछिएक्लो स्रष्टा वा व्यक्तिविशेष मात्र नभई उसको देश नै विश्वमा सम्मानित हुनजान्छ। विश्वस्तरमा सम्मानित र पुरस्कृत हुन त्यहीस्तरको साहित्य वा कलाको सिर्जना गरिनुपर्छ। भाषाले सभ्यतालाई जीवित राख्न सर्वाधिक भूमिका खेलेको हुन्छ।नेपाली जनतामा भावनात्मक एकताको अनुभूति प्राप्त हुने अनेक राष्ट्रिय तत्त्वमध्ये नेपाली भाषा पनि एक प्रमुख तत्त्व हो। नेपाली भाषाले नेपालभरिका अनेकौं भाषिक समुदायलाई एकापसमा जोड्न सर्वाधिक भूमिका खेलेको छ। नेपालमा जम्मा १२५ जाति र १२३ भाषाभाषी छन्।
शासन व्यवस्था सञ्चालनको मुख्य माध्यम नेपाली भाषा बनेको राजनेता विपीले बताएका थिए, ‘प्रशासकीय एकताको सन्दर्भमा नेपाली भाषाको उदयको इतिहासको अध्ययन हुनसक्ने हुनाले राष्ट्रियताका लागि तयार भएका सामग्रीहरूको चर्चा गर्दा प्रशासकीय एकता अन्तर्गत नेपाली भाषाको व्यापक प्रयोगको चर्चा गर्न सकिन्छ।’ प्रदीप गिरिले लेखेको लेखमा यो उल्लेख छ। सुगौली सन्धिपछि राष्ट्रिय भावना अभिवृद्धिका लागि नेपाली भाषा नेपालको भाषिक, प्रशासनिक, सामाजिक, सांस्कृतिक विविधतालाई जोड्ने माध्यम बनेको आशय विपीको छ।
मानिसले चेतना र बुद्धिको प्रारम्भिक अभ्यास मातृभाषाकै माध्यमबाट गर्दछ। मातृभाषा र त्यसबाट निर्मित संस्कृतिलाई व्यक्तिले उपेक्षा गर्दैै गयो भने कालान्तरमा उसको भाषा र संस्कृति नै लोप हुने सम्भावना बढेर जान्छ। मातृभाषाको प्रयोगमा ह्रास आउँदै गएमा कालान्तरमा व्यक्ति मातृभाषाविहीन हुनजान्छ। राज्यको भाषिक एवं शैक्षिक नीतिले पनि भाषाको जीवन्ततालाई निर्धारण गरेको हुन्छ। राज्यले विगतमा नेपालका भाषाहरूप्रति बलियो संरक्षणको नीति नअपनाउँदा धेरै भाषाभाषी लोप भएका छन्। एउटा भाषा लोप हुनु भनेको राष्ट्रिय सम्पदामा ठूलो क्षति हुनु हो। नेपाली राष्ट्रियताको इन्द्रेणी नेपालका सबै भाषाभाषी र तीद्वारा निर्मित साहित्य, कला, संस्कार र सभ्यताका रंगहरूद्वारा निर्मित छ।
नेपालका भाषा संस्कृतिमाथि हुने वा भइरहेका बाह्य सांस्कृतिक अतिक्रमणका प्रहार र प्रभावलाई कमगर्दै जान राज्यले उपयुक्त नीतिका साथ अग्रसरता लिएन भने धेरै भाषा चाँडै नै लोप भएर जान सक्ने देखिन्छ। राज्यस्तरबाट नै सम्पर्क भाषा नेपालीलगायत नेपालका अन्य धेरै भाषाको कथ्य र लेख्य रूपलाई आआफ्नो मौलिकतासहितको अभ्यासका निम्ति प्रेरित र निर्देशित गर्न जरुरी भइसकेको छ। सुगौली सन्धीपछि सुस्ताएको नेपाली जनजीवनलाई ब्युँझाउँदै नेपाली भाषाका माध्यमबाट आमनेपाली जनतामा राष्ट्रिय एकताको भावनाको बीजारोपण कवि भानुभक्तले गरे।समालोचक बालचन्द्र शर्माले बताएका थिए, ‘जनताको बीच बसी जनताको भाषा, जनताको कथा सुनाउने कविका रूपमा भानुभक्त नै सर्वप्रथम भए जो उनको सबभन्दा ठूलो महत्त्व हो।’
भौगोलिक एकीकरणपछिको विशाल नेपालका नागरिकलाई जोड्ने एकमात्र माध्यम भाषा ‘नेपाली’ रहँदै आएको कुरालाई सबैस्रष्टा, समालोचक, भाषाशास्त्री, विद्वान् एवं लेखकहरूले उल्लेख गरेका छन्। प्रा. यदुनाथ खनालले गरेका थिए,‘भानुभक्त अब नेपालमा न कुलसीमित न ता देशकाल सापेक्ष छन्। उनको अन्तर्निहित विशिष्टताले र विभिन्न व्यक्ति तथा संस्थाको प्रयासलेअहिले उनको नाम नेपाली साक्षर बालवृद्धबनिताको घरघरसम्म पुगेको छ।’ भनी प्रा. जयराज आचार्यले लेखेका थिए।यसरी भानुभक्त नेपाली भाषालाई साहित्यका माध्यमबाट राष्ट्रियस्तरमा विस्तारित गर्ने प्रथम कवि थिए। नेपाली भाषाले झन्डै एक हजार वर्ष पहिलेदेखि नै लोकभाषाकोरूप लिन थालेको थियो। एकीकरणकालमा पनि नेपाली भाषा जनबोलीमा त थियो तर जनभाषाकै साहित्यका रूपमा भने विकसित भइसकेको थिएन। भाषिक एवं सांस्कृतिक बहुलतालाई पारस्परिकरूपमा जोड्ने सेतु बनेको नेपाली भाषा सांस्कृतिकरूपमापनि नेपाली राष्ट्रियताको बलियो आधारस्तम्भ बन्यो।
मानिसले चेतना र बुद्धिको प्रारम्भिक अभ्यास मातृभाषाकै माध्यमबाट गर्दछ। यसैले आधारभूतरूपमा मातृभाषाको सम्मान व्यक्तिले नै गर्ने हो। मातृभाषा र त्यसबाट निर्मित संस्कृतिलाई व्यक्तिले उपेक्षा गर्दैै गयो भने कालान्तरमा उसको भाषा र संस्कृति नै लोप हुने सम्भावना बढेर जान्छ।
भानुभक्तसँगै विस्तारित र हुर्कँदै आएको नेपाली भाषा साहित्यमा मोतीराम भट्ट, लेखनाथ पौड्याल, शम्भुप्रसाद ढुंगेल, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरणश्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, सुर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान, युद्धप्रसाद मिश्र, माधव घिमिरे, भूपि शेरचन, मोहन कोइराला, भवानी भिक्षु, इन्द्रबहादुर राई, वैरागी काइँला आदि असंख्य स्रष्टा, द्रष्टा, लेखक एवं समालोचकद्वारा सिर्जित नेपाली साहित्य वर्तमानसम्ममा धेरै अगाडि पुगिसकेको छ। नेपाली मातृभाषीद्वारा मात्र यसको प्रवद्र्धन भएको छैन, अन्य भाषी स्रष्टा, साधकहरूका प्रतिभा एवं सिर्जनशीलताको अभिव्यक्तिकरण र अभिलेखनको प्रमुख माध्यम पनि नेपाली भाषा बन्दै आएको छ। नेपालको भौगोलिक सीमा बाहिरका अनेक जातिका नेपालीलाई जोड्ने माध्यम पनि नेपाली भाषा नै बनेको छ।
भारतका पूर्वोत्तर वा अन्य केही राज्य तथा इलाकाहरूमा सरकारी कामकाजको भाषा नै नेपाली रहेको छ। म्यानमार, मलेसिया आदि दक्षिण–पूर्वी एसियाली मुलुकका नेपाली समाजमा पनि नेपाली भाषा नै सम्पर्क भाषाका रूपमा रहँदै आएको छ। भारतीय संविधानको अनुसूचीमा नेपाली भाषालाई मान्यता दिइएको छ। विश्वभरि अनेकौं मुलुकमा पुगेका नेपाली जुन जाति, भाषाका भएपनि मूलतः नेपाली भाषाकै प्रयोग गर्दछन्। यसर्थ नेपाली भाषाले अरू सारा भाषिक क्षेत्रभन्दा विशाल क्षितिजको निर्माण गरिसकेको छ।
नेपालभित्रका नेपाली बाहेकका अन्य भाषा र तिनका साहित्यहरूले नेपाली सांस्कृतिक विविधताबाट निर्मित सौन्दर्यलाई सुगन्धमय पारेका छन्। नेपाली भाषाझैंअरू भाषा पनि राष्ट्रभाषाकै रूपमा छन्। मैथिली, नेपाल भाषा, भोजपुरी, अवधि, लिम्बु, राई, गुरुङ, मगर, शेर्पा, थारु आदि भाषा र तिनका साहित्यिक सिर्जनाहरूले ती भाषी नेपालीका विगतदेखिका जीवनवृत र आँसुहाँसोका इतिहास र भावनालाई समेटेका छन्। ती सबै एउटै बृहत् राष्ट्र नेपाल र नेपाली राष्ट्रियताका अमूल्य खजाना हुन्। त्यसबाटै समष्टिगतरूपमा नेपाली जातीय सभ्यताको धरोहरको निर्माण भएको हो।
अनन्तकालदेखिको यस्तो सहिष्णुता, मैत्री समभाव र एकत्त्वपूर्ण पारस्परिक विश्वासलाई सिञ्चन गरिराख्ननेपाली भाषा एक प्रमुख माध्यम बनेको छ।संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग बताउँछन्, ‘...प्रत्येक समुदायले बोल्ने ती थरिथरिका भाषालाई हाम्रो राष्ट्र नेपालको वर्तमान प्रजातान्त्रिक समाजवाद उन्मुख लोकतान्त्रिक गणतान्त्रिक संविधानले मान्यता प्रदान गरेको छ। यद्यपि देवनागरी लिपीमा लेखिने नेपाली भाषालाई सबै तहका संघीय, प्रादेशिक, स्थानीय जननिर्वाचित महानगर, उपमहानगर, नगर, गाउँपालिका र वडा सरकारहरू यावतले नेपाली भाषालाई नै सार्वजनिक अभिलेखीकरणका माध्यम ठानीमानी आएका छन्।’
कुनै पनि भाषाको सर्वाधिक महत्व यसले निर्माण गर्ने संस्कृतिसँग गाँसिनुमा रहेको हुन्छ। बालकले जब बोल्न सिक्छ, उस्ले संस्कृतिको निर्माणको आधार पनि स्वतः तय गरिरहेको हुन्छ। मातृभाषा नै हरेक संस्कृतिको प्रथम आधार हो। फरकफरक संस्कृतिका आधार भनेका फरकफरक मातृभाषा नै हुन्छन्। मातृभाषाहरूकै आधारमा भाषिक समुदायहरूको निर्माण हुन्छ। नेपालका अनेक मातृभाषाहरू सबै राष्ट्रिय सम्पदा हुन्। भाषासँगै साहित्य, कला पल्लवित हुन्छन्। भाषा नै मानवीय सभ्यताको प्रथम परिचय र आधार पनि हो। सबैलाई आआफ्नो मातृभाषा सर्वाधिक प्रिय लाग्छ।
तसर्थ एकले अर्को भाषीप्रति सम्मानभाव राख्नुपर्छ अन्यथा सांस्कृतिक सामञ्जस्य खल्बलिन गई त्यसबाट सामाजिक तनाव वा बेचैनीको अवस्था उत्पन्न हुनसक्ने धारणा साहित्यकार डा. रामदयाल राकेशको छ। ‘...यदि कसैले कसैको भावना वा संवेदनालाई उस्को मातृभाषाको अपमान गरेर ठेस लगाउन खोज्छ भने त्यसको प्रभाव व्यक्ति, परिवार र समाजमा नराम्रो पर्छ। कसैको मातृभाषालाई होच्याउने र हेप्ने प्रवृत्ति खतरनाक सावित हुनसक्छ। यस्बाट सामाजिक सन्तुलन, सामाजिक सामञ्जस्य र सामाजिक समरसता बिग्रने सम्भावना धेरै हुन्छ।’ उनको भनाइ छ।
भाषामात्र नभई नेपालका अनेक जातजातिका आआफ्ना चित्रकला, सांगीतिक कलाका इतिहास र परम्परा छन्। तिनले नेपाली ढुकढुकीका बेग्लाबेग्लै चाललाई प्रतिनिधित्व गर्दै नेपाली सांस्कृतिक धरातललाई मलिलो पारेका छन्। सबैमा नेपाली जनजीवनको महक छ, त्यही महक नै नेपाली राष्ट्रियता हो।नेपालभित्र बोलिने, लेखिने अनेकौं भाषा एवं नेपाली भाषी संसारका सबै भाषा साहित्य कलामा नेपालीपन हुन्छ, नेपाली हृदय हुन्छ। ती सबैप्रति सबैको पारस्परिक सम्मान भएकैले नेपाली—नेपालीका बीचमा एकताको भावना कायम रहन सकेको हो। नेपालका सबै भाषाभाषी समुदायलाई जोड्न सम्पर्क भाषाका रूपमा नेपाली भाषा संयोजकीय भूमिकामा सम्मानित रहेको छ। त्यसबाटै राष्ट्रियस्तरमा एकता कायम भई समग्रतामा नेपाली राष्ट्रियताको धरातलको निर्माण भएको हो।