जीवन एउटा कन्फ्युज्ड क्यानभास

जीवन एउटा कन्फ्युज्ड क्यानभास

कसैले त्यही जीवनलाई अत्यासलाग्दो देख्छन्। कसैले फूल देख्छन् त्यही जीवनलाई कसैले काँडा। कोही निराशावादी कोही आशावादी। कसैले जीवनलाई संघर्षको नाम दिन्छन्। कसैले जीवनलाई रहस्यमय दृष्टिकोणले हेर्छन्। सन्तुष्टि/असन्तुष्टि यो पनि जीवन भोगाइ र जीवनप्रतिकै दृष्टिकोण रहेछ, बुझाइ रहेछ।


बुबा रुनुभयो। पुष–माघ महिना हुनुपर्छ। बिहान बेलुका निक्कै जाडो थियो। बुबाआमा राति तीन बजेदेखि नै उठेर अगेनाको डिलमा बसेर आगो ताप्नु हुन्थ्यो। अगेनाको कुँडेमा लैना वस्तुलाई खोले फुत्किरहेको हुन्थ्यो। आमा छेउमा गुन्द्रीमाथि बसेर हतेउरी बाट्नु हुन्थ्यो। गुन्द्री बुन्ने बाबियाको हतेउरी। बेलाबेला बुबाआमा पालैपालो जूनकिरीझैं अँध्यारोमा सुर्ती तान्नुहुन्थ्यो। आमालाई लहरेखोकी लाग्थ्यो। खोक्न थालेपछि खोकीले हिरिक्कै पार्‍थ्यो। पहिलेदेखि नै आमा अलि रोगी हुनुहुन्थ्यो।

हरेक वर्ष बर्खा लागेपछि अब बर्खा कसरी काट्नु भन्नुहुन्थ्यो। हिउँद लागेपछि पनि अब फेरि यो हिउँद कसरी काट्नु हो भन्नुहुन्थ्यो। रातभरि खोक्नुहुन्थ्यो। नबाली नहुने भएपछि मात्र बाल्नुहुन्थ्यो बत्ति नत्र तेल सकिन्छ भनेर बाल्नुहुन्नथ्यो। तेल सकिन्छ र हामीलाई पढ्न खाँचो हुन्छ भन्नुहुन्थ्यो। हामी कुपीमा मट्टितेल लाएर बाल्थ्यौं। त्यसैमा पढ्थ्यौं। जति खोकी लागे पनि आमा हतेउरी बाट्न छोड्नु हुन्नथ्यो।

गुन्द्री नेपालको नक्साजस्तै
आमाको अगाडि तातोपानीमा भिजाएको बाबियाको निक्कै गतिलो मुठो हुन्थ्यो। आमाको हातका हत्केला, औंलाका टोप्रा, खुट्टाका पैताला र कुर्कुच्चाको छाला पट्पटी फुटेको हुन्थ्यो। बुबाआमा गफ गर्दै आगो तापेर उज्यालो पार्नुहुन्थ्यो। आमा हिउँदभरि आँगनमा तान लाएर हतासोले गुन्द्री बुन्नुहुन्थ्यो। परालका राम्रा गुन्द्री। ती गुन्द्रीमाथि जतनसाथ आमाको छेउमा बसेर पढ्थें। पाँच घरे, सात घरेदेखि लिएर एघार घरेसम्मका हुन्थे ती गुन्द्री। ती गुन्द्री नेपालको नक्शाजस्तै लाग्थे। हतेउरीको पोको हातमा बोकेर आमालाई गुन्द्रीको तान लाउन सघाउँथें।

चालीस–बयालीस सालतिर हुनुपर्छ। बाह्र–चौध वर्षको थिएँ होला। हाम्रो ठूलो परिवार थियो। त्यो दिन स्कुल गइनँ सायद जाडोविदा थियो। बिहान सात बजेतिर। अगेनामा एउटा पित्तलको ठूलो भाँडामा जुनेलाको भात छड्किरहेको थियो। बुबा दुवै हात कन्पारामा लाएर झोक्रिइरहनु भएको थियो। त्यतिबेलाको जमानामा ठाउँअनुसार रनघन थियो हाम्रो घरको आर्थिक अवस्था। ठुलो खेतीपाती थियो बुबाआमाको। चार खला खेत, तौली, मंसिरे दुई बाली धान फल्ने खेत। गहुँ अनि आलु हुन्थ्यो। तीन खायल बारी थिए। मकै, जुनेलो, कोदो ,दाल, बदाम हुन्थ्यो बारीमा। हिउँदे र बर्खे गरी बारीमा दुई बाली मकै हुन्थे। गर्न मात्र सक्नु पथ्र्यो सबैथोक हुन्थ्यो। बुबाआमा साह्रै परिश्रमी, पसिनामा विश्वास गर्ने।

‘पाखुरा बजारेर खानुपर्छ’

पाखुरा बजारेर खानुपर्छ भन्नुहुन्थ्यो। गाउँकै नमुना कृषक हुनुहुन्थ्यो बुबाआमा। अहिले सम्झँदा कथाजस्तो लाग्छ। आमा बिहानको तीन बजे उठेर घरको काम गर्नुहुन्थ्यो। उज्यालो हुँदा त चार–पाँच पाथी मकै जाँतोमा पिँधी, केलाइ, खोलेफाँडो गरी पँधेराको पानी ल्याइ, खाना पकाइ, वस्तुभाउलाई घाँस दिई नाम्लो–डोरी र हँसिया हातमा चेपेर घाँस काट्न जानुहुन्थ्यो। एकैछिनमा दुई भारी घाँस काटेर ल्याउनुहुन्थ्यो। बुबा पनि राति नै उठेर खेतमा पानी लाउन जानुहुन्थ्यो। उज्यालो हुँदा खेतमा पानी छिचोलाएर गाई, भैंसी दुहुन आइपुग्नुहुन्थ्यो। अनि जोत्न जानुहुन्थ्यो। बिहान छ बजेदेखि बाह्र बजेसम्म एक हल गोरु जोत्नुहुन्थ्यो भने बाह्रदेखि चार बजेसम्म अर्को हल। गाउँलेहरू छक्क पर्थे बुबाआमाको काम देखेर। भन्थे, एक छाक भात खानलाई के त्यतिसारो मरिहत्ते गर्नु ! 

बुबाआमाको पसिनाले हामीले मात्र खाएका थिएनौं भात। गाउँका अरू खान नपुर्‍याउनेहरू अनि वल्लो गाउँ, पल्लो गाउँलेहरू पनि हाम्रो घरमा अन्न मकै, धान, जुनेलो बेसाउन आउँथे। बुबाआमा खेतबारीमा थुप्रै अन्न फलाउनु हुन्थ्यो। आफूले खाएर बचेको अन्न बेचेर पैसा आर्जन गर्नुहुन्थ्यो। गाई, भैंसी, भेडा, बाख्रा बेचेर पनि पैसो आर्जन गर्नुहुन्थ्यो। भ्याए र सकेसम्म सबै काम आफैं गर्नुहुन्थ्यो। मान्छे त्यत्ति लाउनु हुन्नथ्यो। आफूले नभ्याउँदा र नसक्दा मात्र मान्छे लाउनुपर्छ भन्नुहुन्थ्यो। 

बुबाआमाले गाउँले धेरैलाई गरिखाने बाटो देखाइदिनुभएको थियो। सरसहयोग र भरथेग गर्नुहुन्थ्यो। अचेल तिनै मान्छेहरू सम्पन्न जीवन बाँचिरहेका छन्। त्यो देख्दा खुसी लाग्छ। आमा रोगी भए पनि कामबिना कहिल्यै बस्नु भएन। घरबाट निस्कँदा पनि खोक्दैखोक्दै निस्क्नुहुन्थ्यो अनि कामबाट फर्कदा पनि खोक्दैखोक्दै। आमा मेलापातबाट फर्कदा हामीलाई परैबाट थाहा हुन्थ्यो। उहाँका खस्रा हातका छालाले हाम्रा औंलाहरूलाई कोरेजस्तो लाग्थ्यो।

तीन घन्टा हिँडेर खेती
आमा भन्नुहुन्थ्यो, सार्के खेतीमा जाँदा नावा खोला तर्दा बुबाआमा दुवैलाई खोलाले बगाएर झण्डै लगेको रे। बुबाले हातमा समाएर आमालाई तार्न लाग्दा दुवैलाई बगाएर निक्कै तलसम्म पुर्‍याएको थियो रे। जीवन त लामै रहेछ। त्यसपछि नै बुबाआमाले त्यो खेत बेच्नु भएको रे तीन घन्टा हिँडेर पुग्नुपर्ने त्यो सार्के खेती। एक देशको खेती भन्नुहुन्थ्यो। घरदेखि केही तल थिए, दुई खला खेत। लखुवा खोलाको पानी लाग्ने। बुबा र म रात बस्दै जान्थ्यौं, पानीको दुःख हुँदा खेतमा पानी लाउन। खेतको सिरानमा सानो परालले छाएको कटेरो हुन्थ्यो। एउटा थोत्रे गुन्द्री र सानो कोदालो। रेडिको पुरानो खास्टो र टर्चलाइट बोकेर झथ्र्यौं। खडेरी लागेको बेला पानीको अलिक दुःख हुन्थ्यो लखुवाको खेतमा। कहिले राँको बालेर झथ्र्यौं। कुलोमा पानी सोझ्याएर आएर गोठमा आगो बालेर बस्थ्यौं। बुबा लय हालेर रामायणका स्लोक गाउनुहुन्थ्यो। बुबाको स्वर अत्यन्तै मिठो थियो।

कहिले र्‍याप शैलीमा लय हालेर ती शब्दहरू गाउनुहुन्थ्यो। आरे हे जी सुन् सुन्छस् भने सुन् सेन्दैनस् भने मनमनै गुन् तलबाट आयो पुत्तले घोडा। पुत्तले घोडाको अभिलाखे बानी। सुर्ती खान कल्ले सिकायो ए कान्छा नानी। सुर्तीको साटो सुपारी दिउँला। पाँच भाइ मिली नेपाल जाऔंला। नेपालकी नेवारनी कपडा बुन्थी। एक दाम सुर्तीलाई दस दाम भन्थी। म केटो जाँदा तेसै पनि दिन्थी। तँ केटो जाँदा अघुल्टाले झोस्थी। आरे हे जी सुन्। सुन्छस् भने सुन् सुन्दैनस् भने मनमनै गुन्। सुन्दासुन्दै म निदाउँथें। बिहानीपख पानीले खेत छिचोल्न थालेपछि हामी उठेर बाटो लाग्थ्यौं। उज्यालो हुँदा घर आइपुग्थ्यौं।

जीवन के हो ? थाहा नपाइ जिउनुको आनन्द पनि कम्ति रमाइलो हँुदोरहेनछ। थाहा पाउन थालेपछि पीडा सुरु हुन्छ। जीवनमा पहिलोपल्ट हजुरआमा खस्दा रोएँ। दोस्रोपल्ट आमा खस्दा जतिबेला इजरायलमा थिएँ। तर जीवनमा एकपटक पनि हाँसेको अनुभूति भएको ख्याल छैन।

फेरि आफ्नो पालो आएपछि त्यसरी नै खेतमा पानी लाउन जान्थ्यौं। पानी नपुग्दा कहिले खेतमा मकै छथ्र्यौं त्यो पनि स्यालले खान्थ्यो। सेताम्मे भएपछि रुङ्न जानुपथ्र्यो। बुबालाई साथी दिन्थें। ठुल्दिदीको विवाह भइसकेको हुनुपर्छ। माल्दिदी र साल्दिदी हुनुहुन्थ्यो मभन्दा माथि। साल्दिदी मसँगै स्कुल जानुहुन्थ्यो। ठुल्दिदी र माल्दिदीले पढ्नु भएन। त्यतिबेलासम्म पनि छोरीलाई पढाउने भन्दा पनि अर्काको घर जाने जात भनेर छिट्टै बिहे गरेर पराइको घर पठाउने चलनमा खासै परिवर्तन आएको थिएन।

सबै मरिन्छ भन्दा बैनी रातभर रोई

बुबा अलिक कडा स्वभावको हुनुहुन्थ्यो। उहाँले भनेपछि सबैले मान्नै पर्ने। माल्दिदी सानैदेखि अलि निडर र विद्रोही स्वभावकी। पढ्न नपाएकोमा बेलाबेला गुनासो गर्नुहुन्थ्यो। एक दिन माल्दिदी गोठालो गएको बेला ठूलो आँधी–पानी आउँदा लखुवा खोलाले हाम्रा सबै गाई–वस्तु दुमो पनि नराखी बगाएर लग्यो। पानी पर्न थालेपछि घर लैजाउँ भनेर खोलो तार्दातार्दै माथिबाट बाढी आएर गोठै रित्याइदिएको थियो। त्यतिबेला हो मैले पहिलोपल्ट आमा रोएको देखेको। बुबा पनि घरमा हुनुहुन्नथ्यो, मधेश जानुभएको थियो। सबै सानै थियौं। बिहानसम्म गोठभरि वस्तुभाउ थिए, बेलुका गोठ रित्तै। लैनो गाई, हलगोरु केही पनि भन्न पाएनौं। धन्न मान्छे बगाएन छ। ओढारमा बसेर बचेछन्।

त्यहीँबाट सिकें जीवनको अर्को पाटोलाई हेर्न। त्यहीँबाट देखें जीवनको दुःख र पीडालाई। सानो फुच्चे भए पनि मलाई जीवनमा दुःख पनि रहेछ भन्ने कुराको बोध भयो। गाउँकै एकजना काका बस्नुहुन्थ्यो हाम्रो घरमा काम सघाउन। दिदी सानै भएको र एक्लै गोठालो जान सक्ने नभएकाले उहाँ लानुहुन्थ्यो वस्तुभाउ चराउन। दिदी उहाँको साथी जानुहुन्थ्यो। बेलुकीपख ठूलो आँधी–बेहरीसाथ भिषण वर्षा भयो। वस्तु घर लैजाऔं भनेर लखुवा खोलो तार्दातार्दै माथिबाट आएको बाढीले छोपिहालेछ। धन्न मान्छे चाहिँ बच्नु भएछ। राति आमाले खोजेर ल्याउनुभयो उहाँहरूलाई। त्यसको हप्ता–दस दिनमा बुबा आउनुभयो मधेसबाट।

हिउँद लागेपछि बुबाआमा आधा रातदेखि नै उठेर अगेनाको छेउमा बसेर गफ गर्दै उज्यालो पार्नुहुन्थ्यो। पिलपिल अगेनामा आगो बलेको हुन्थ्यो। बुबाआमा आगो तापेर बस्नुहुन्थ्यो। निद्राले छिट्टै छोड्थ्यो अनि अगेनाको छेउमा बसेर बुबाआमाका कुरा सुन्थें। बुबाआमा किन उठेको तँ ? जा गएर सुत। उज्यालो हुन अझै रात निकै बाँकी छ, भन्नुहुन्थ्यो। कुरा सुन्ने र नसुत्ने आशयले भन्थें, निद्रा पुगेर उठेको। बुबाआमा दुःखसुखका कुरा गर्नुहुन्थ्यो। चुपचाप सुन्थें। जीवन यत्तिकै बित्छ भन्ठान्थें। जन्मेपछि मरिन्छजस्तो लाग्दैनथ्यो जीवनमा। बालक जन्मेपछि हुर्कन्छ, बढ्छ, किशोर, युवा हुँदै वृद्ध भएर एक दिन मर्छ भन्ने कुरा पनि बुझें। ‘एक दिन सबै मरिन्छ ढिलो चाँडो मात्र हो’ भनेर आमाले भन्दा सानी बहिनी रातभरि रोएकी थिई। मेरा पनि आँखा आँसुले भिजेका थिए।

हाँसोबिनाको जीवनको रहस्य
जीवन के हो ? थाहा नपाइ जिउनुको आनन्द पनि कम्ति रमाइलो हँुदोरहेनछ। हामीलाई त्यस्तो दुःख थिएन। मैले चाल पाएदेखि हामीलाई खानलाउन छेलोखेलो थियो। पहाडको दूरदराज भए पनि ठाउँ अनुसारको ख्याती कमाएरै बसेका थियौं। जीवन त्यति मात्र रहेनछ। जीवन त आँसु, हाँसो, खुसी, रोदन, दुःख, पीडा, साह्रो–गाह्रो, सजिलो, अप्ठेरो सबैसबै रहेछ। जीवनमा पहिलोपल्ट हजुरआमा खस्दा रोएँ। दोस्रोपल्ट आमा खस्दा जतिबेला इजरायलमा थिएँ। तर जीवनमा एकपटक पनि हाँसेको अनुभूति भएको ख्याल छैन।

मलाई रेलाको शैलीमा कति साथीहरू भन्ने गर्थे, तँ हाँसेको कहिल्यै देखेको छैन। तँ हाँस्दैनस् त। त्यसैले म भन्ने गर्छु जीवन जति छ, त्यति तिमीले बुझेका छैनौ, जति तिमीले बुझेका छौ, त्यति अरूले बुझेको छैन। जीवन के हो ? आफ्नै बुझाइ त रहेछ नि कसैले त्यही जीवनलाई एउटा उत्सवका रूपमा लिन्छन्। कसैले त्यही जीवनलाई निराशा र हारको रूपमा लिन्छन्। कसैले जीवनलाई सुखी कसैले दुःखी ठान्छन्। कसैले सुखदुःख दुवै ठान्छन्। कसैले आँसु हाँसो भन्छन् त कसैले सम्झौता। यो सबै भोगाइ त रहेछ। हरेकको जीवन आखिर एउटै हो। खाली भोगाइ फरक रहेछ।

कसैले त्यही जीवनलाई छोटो देख्छन्। कसैले त्यही जीवनलाई अत्यासलाग्दो देख्छन्। कसैले फूल देख्छन् त्यही जीवनलाई कसैले काँडा। कोही निराशावादी कोही आशावादी। कसैले जीवनलाई संघर्षको नाम दिन्छन्। कसैले जीवनलाई रहस्यमय दृष्टिकोणले हेर्छन्। सन्तुष्टि÷असन्तुष्टि यो पनि जीवन भोगाइ र जीवनप्रतिकै दृष्टिकोण रहेछ, बुझाइ रहेछ। जति उधारे पनि पत्रै–पत्र ! गुदी नभेटिने प्याजजस्तो जीवन। बोक्रा सम्झिए पनि हुने। गुदी सम्झिए पनि हुने।

बुबा पनि रुनुभयो आमाजस्तै
भन्दै थिएँ, बुबा रुनुभयो। पहिले त बुबा रुनुभएको हो कि होइन ठम्याउन नै मुस्किल पर्‍यो। नजिक गएर तत्काल ठम्याउन पनि अलिक कडा स्वभावको हुनुहुन्थ्यो। सोध्न पनि आँट आएन। छेउमा बसेर बुबाको रुवाइमा मैले मौन समर्थन जनाएँ। बुबा रुनु नै भएको हो। जीवनमा आरोहअवरोह त आउँछन् नै। समय सधैं एकनास रहँदोरहेनछ। सधैं बुबाआमाको अनुहारमा खुसी नै खुसी मात्र देख्ने म। जीवनमा पहिलोपल्ट बुबाका आँखामा पनि आँसु देखें। आमाका आँखामा जस्तै। म बुबाआमाका आँखाका आँसु पुछ्न चाहन्थे।
म फुच्चेको बुबाआमाका आँखाका डिलसम्म हात पुग्दैनथे। यहीँबाट थप सिकें। जीवनमा खुसी मात्र छैन। रोदन पनि छ। हाँसो मात्र छैन, आँसु पनि छ। जीवन पूर्ण मात्र छैन, अपूर्ण पनि छ। जीवन सम्झौता पनि हो। जीवनमा धेरै अप्रिय कुराहरू सहेको छु। तिनलाई छातीभित्र चट्टानले छोपेर राखेको छु। सायद मैले बुबाआमाका आँखामा त्यसरी आँसु नदेखेको भए जीवनको अर्को पाटो दुःखलाई देख्ने थिइनँ होला।

यहीँबाट दुःखमा आँसुले मन धोएर जिउन सिकें। निकैबेरपछि बुबा उठेर काममा जानुभयो। उहाँको अनुहारमा निराशता भन्ने पटक्कै थिएन। बरु नयाँ जोश र जाँगर पो भरिएको थियो। जस्तोसुकै आपतविपतमा पनि उहाँको अनुहारमा कहिल्यै निराशा देखिनँ। मैले यहीँबाट सिकें, दुःखसुखमा जिउन। लाग्छ, जीवन एउटा उत्सव पनि रहेछ !

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.