सुगम संगीतका माइष्ट्रो

सुगम संगीतका माइष्ट्रो

बाबु सानै उमेरमाबिते पनि गोपाल योञ्जनको घरायसी आर्थिक अवस्था कमजोर भने थिएन। उनकी आमा उनलाईसके डाक्टर नभए पनि इन्जिनियर बनाउन चाहन्थिन्। विद्यालय स्तरकोअध्ययन समाप्तिपछिउनलाईस्थानीय सेन्ट जोसेफ कलेजमा भर्ना गरियो। जन्मजात कलाका अनुरागी उनी विज्ञान र गणितका निरस सूत्रहरूसित पटक्कै रमाउन सकेनन्।

विज्ञानका अल्छीलाग्दा सूत्रहरू देखेपछि उनलाई जरैदेखि टाउको दुख्थ्यो। कला सिर्जनामा फुक्काफाल विचरण गर्न चाहने उनलाई यो पढाइ घाँडो भयो र एकाएक आमाको पाउ पर्दै भने– आमा मलाई विज्ञान पढ्न बाध्य नपार म डाक्टर बन्न सक्दिनँ। आफैंले रोजेको विषयमा रमाउन देऊ। आमाका लागि अप्ठ्यारो स्थिति आयो। उनले छोरालाई जीवशास्त्रमा रुचि नभए पनि इन्जिनियरिङमा त रुची होला कि भनी जबर्जस्ती जलपाइगुडी लगेर त्यहाँको इन्जिनियरिङकलेजमा भर्ना गरिदिइन् तर त्यहाँ पनि नतिजा पहिलाको जस्तै निस्कियो। अब आमाले हार खाएर उनलाईजेसुकै गर भनी छाडिदिइन्। यसपछि उनी उफ्रिँदै दार्जीलिङ आएर सांगीतिक गुुरु अम्बर गुरुङले खोलेको आर्ट एकेडेमीमा भर्ना भए।

त्यहाँ भर्ना भएको केही समयपछि अम्बरले स्थानीय सरकारी संस्था लोकमनोरञ्जन शाखामा जागिर पाए। जसका कारण एकेडेमीमापनि उनी सक्रियरहन सकेनन्। उनी पुनः अम्बरको पछि लागेर लोकमनोरञ्जन शाखामा बाँसुरी वादकका रूपमा भर्ना हुन पुगे। यो उनको सरकारी जागिर थियो। नेपाली सुगम संगीतका स्वर्णिम कालखण्डका माइष्ट्रो अर्थात् गोपाल योञ्जन। उनको त्यो जमानाको दार्जीलिङ नेपाली भाषासाहित्य,कला र रंगमञ्चकोमुटु नै थियो । इन्द्रबहादुर राई,ईश्वरबल्लभ तथाबैरागी काइँलाहरूले थालेको तेस्रोे आयामले साहित्य जगत् झन्कृत भएको अवस्था त्यो थियो भने मनबहादुर मुखिया,किरण ठकुरी,प्रताप सुब्बा तथा देवदत्त ठटालहरूमार्पmत् नृत्य र रंगमञ्च।

यस्तै बेला अम्बर गुरुङले अगमसिंह गिरिको पहलमा आर्ट एकेडेमी खोलेका थिए। बाबु बुद्धिमान योञ्जन र आमा छेकुडोल्माको सम्मिलनबाट२००० सालको भदौ महिनामा जन्मेका गोपाल आफ्ना सांगीतिक सहपाठीहरूकर्म योञ्जन,अरुणा लामा,शरण प्रधान तथा जितेन्द्र बर्देवासँगैका उत्पादन थिए अम्बरको गुरुकुलमा। गुरुको सान्निध्यमा केही समय लोकमनोरञ्जन शाखामा बाँसुरी वादकका रूपमा रहेपछि सधैं यस्तै हो भने आफ्नो प्रतिभा नै कुँजो हुने भन्ने उनलाई लाग्यो र उनी संलग्न हुन पुगे स्थानीय हिमालय कला मन्दिरमा। बंगाली कलाकारहरूको हालिमुहाली भएको सो संस्थामा जब गोपाल योञ्जन,कर्म योञ्जन तथा दिलमाया खातीहरूको प्रवेश भयो तब त्यो संस्था नेपाली सुगम संगीतको एउटा प्रतिनिधि संस्था बन्न पुग्यो। यसै मेसोमा खुल्यो अर्काे सांगीतिक संस्था संगम क्लब जसमा जितेन्द्र बर्देवा,शरण प्रधान तथा अरुणा लामाहरू गाँसिए। अब संगम क्लब र हिमालय कला मन्दिरका बिच मैत्रीपूर्ण सांगीतिक लडार्इं सुरु भयो। दुवै समूहमा एक से एककलाकार तथा उस्तादहरूरहे।

यता नेपालको काठमाडौं खाल्डोमा प्रेमध्वज प्रधान,नारायण गोपाल,तारादेवी तथा नातिकाजीहरू थिए। उनीहरूसित समग्र दार्जीलिङका सांगीतिक समूह र तिनका हस्तीहरू स्वस्थ प्रतिस्पर्धा गर्थे। यही कालखण्ड अर्थात् विक्रमाब्दको बीसको दशकको सुरुवातदेखि यही दशकको अन्तसम्मको अन्तराल जसलाई नेपाली सुगम संगीतको स्वर्णयुग भनी चिनिन्छ। दार्जीलिङको हुकर रोडका तत्कालीन बासिन्दा गोपाल समकालीन दौतरीहरू माझ ‘गोफ्ले’ नामले चिनिन्थे। उनीहरूले यसोभन्दा नराम्रो पनि मान्दैनथे। त्यतिबेलाका नामुद गितारवादक तथा पछिका बेजोड उपन्यासकार पीटरजे. कार्थक र ती गोफ्लेका बीचमा मैत्रीपूर्ण तँतँ र मम चल्थ्यो।

बाँसुरीवादन,गीतलेखन र गायन तीनै विधामा क्रमशपोख्त हुँदै गएका गोपाल सेन्ट जोसेफ कलेजमाविज्ञान संकायमा भर्ना भए। सोही क्रममाउनको नेपालस्थित धनकुटाका नगेन्द्र थापासित दोस्ती सुरु भइसकेको थियो। थापासित उनको विचार ठ्याक्कै मिलेपछि दुवैजना स्थानीय सरकारी कलेजमा मानविकी संकायमा भर्ना भए। अब त त्यहाँको वातावरण बिल्कुल गोपालले चाहेजस्तै भयो। त्यहाँ कवि गुमानसिंह चाम्लिङ,प्रेम थापा,नगेन्द्र शर्मा तथा बैरागी काइँलाजस्ता कविलेखक पढ्थे। स्थानीय गोर्खा दुःख निवारण सम्मेलनले आयोजना गर्ने प्रतियोगितात्मक कार्यक्रमहरूमा गोपालका प्रस्तुतिहरूएकपछि अर्काे पुरस्कृत हुन थाले।

नगेन्द्र र कवि ईश्वरबल्लभमार्फत् स्वरसम्राट नारायण गोपाल पनि उनलाई खोज्दैकाठमाडौबाट दार्जीलिङ पुग्न भ्याए। सोही अवसरमा हो त्यहाँको महांकाल मन्दिरमा बल्लभ र नगेन्द्रको समुपस्थितिमा यी दुई गोपालहरूका बीचमा मितेरी साइनो गाँसिएको।राजा महेन्द्रकै शासनकाल थियो त्यो बेला। त्यो कालमा भारतीय नेपाली विद्यार्थीहरूलाई नेपाली साहित्यमा स्नातकोत्तर अध्ययन गर्न विशेष छात्रावृत्ति प्रदान गर्ने गरिन्थ्यो। त्यहीछात्रावृत्तिमा छानिएर आएका वानिरा गिरि,नगेन्द्र शर्माहरूझैं गोपाल पनि छानिए त्रिभुवन विश्वविद्यालयमा अध्ययनका लागि। योमामलामा धेरैले भन्छन्, अम्बर गुरुङझैं राजा महेन्द्रकै चाहनामा गोपाल नेपाल पसेका हुन् भनेर। स्वयं कवि रहेका राजा महेन्द्रको उनीप्रति सहानुभूति र सद्भाव भएपनि उनी छात्रावृत्तिमा छानिएर नेपाल पसेका हुन्। पढ्न यता आएपछि मितज्यू र नगेन्द्र थापाको पनि जोडबल रह्यो होला,उनी यतै बसे। चौथो पुस्ताअघिका उनका पुर्खाहरू यतैबाट चियाको बोटमा पैसा टिप्न दार्जीलिङ पसेका थिए तर गोपाल यतै पसे।

मान्छेको जिन्दगी सधैंँ सरल रेखामा मात्र अघि बढ्दो रहेनछ,नसोचेको क्षण पनि आउँदो रहेछ। २०४० सालको आसपासमा यी दुई गोपालका बीचमा नराम्रो दरार पैदा भयो अर्थात् पानी बाराबार भयो।

स्नातकोत्तरपछि पद्मकन्या क्याम्पसमा स्थायी जागिरे भए नेपाली विषयका शिक्षकका रूपमा। यहाँनेर एउटा अर्काे भ्रम के रहेको छ भने गोपाल त्यहाँसंगीतका शिक्षक थिए भन्ने तर उनी नेपाली साहित्यका शिक्षक थिए।काठमाडांै प्रवेशपछि उनको संगीतयात्राको दोस्रो अध्याय सुरुभयो। आफ्नै रचना,संगीत र गायन, नातिकाजीसितको सहसंगीत संयोजन तथा मितज्यूसितको सहयात्रामा उनको गायकी जीवनले नयाँ संसार रच्न पुग्यो। विशेषत गायन,रचना र संगीतमा उनबाट सिर्जित राष्ट्रिय गीतहरूले नेपाल र नेपालीको वास्तविक परिचय दिएका छन् :
देशले रगत मागे मलाई बलि चढाऊ
रुँदिनन् मेरी आमा ऊ नेपालकी छोरी...

यस्ता राष्ट्रभक्तिले ओतप्रोत गीतहरू गोपालका सिर्जनाका उदाहरणहरू हुन् भने सुगम,लोकआधुनिक र भजनहरूमा समेत उनको उपस्थिति देखिन थाल्यो। परिपक्व शब्द,उर्जाशील सन्देश र स्वाभिमानको उजागर भएका उनका राष्ट्रिय गीतहरूले अनुपम देशभक्तिको उदाहरण दिए। मुरलीबाट बाजा बजाउन सुरु गरेका उनी बाँसुरी, हार्माेनियमलगायत अन्य बाजा किशोरावस्थादेखि नै बजाउन थाले। सुन्दा नै अचम्म लाग्छ छ कक्षापढ्दापढ्दै उनले आफ्नै रचना,संगीत र गायनमा मञ्चमा उभिएर गीत गाई स्रोतालाई मन्त्रमुग्ध बनाएका थिए।

नेपाली संगीतमा उनका मूलगुरु अम्बर रहे भने शास्त्रीय संगीत उनले नानी दुलाल मुखर्जीबाट सिके अनि पाश्चात्य संगीतको ज्ञान स्ट्याण्डवर्गबाट। यसरी विश्वका तीनै सांगीतिक धाराको सैद्धान्तिक ज्ञान पनि गोपालमा थियो। आफ्नो जीवनकालमा झण्डै हजारको हाराहारीमा उनका गीति सिर्जना रहे। नेपाली चलचित्र सिन्दूर,कान्छी,बदलिँदो आकाश तथा अर्काे जन्मलगायत केहीमा उनको पाश्र्वसंगीत रह्यो भने केही गीति तथा नृत्यनाटकहरूमा पनि उनको सीप पोखिएको छ। भारतीय महान् सिनेनिर्देशक सत्यजित रायको वृत्तचित्र कञ्चनजंघाको पाश्र्वधुनमा बाँसुरी बजाउने कलाकार पनि उनै योञ्जन हुन्।

भारतको कालिम्पोङकी रिन्छेन लामा भोटियासित वैवाहिक जीवनमा बाँधिएका योञ्जनको विक्रमाब्दको दोस्रो दशकको अन्ततिर काठमाडौंको तत्कालीन श्री ५ महेन्द्र पुलिस क्लबमा भएको नारायण गोपालसितको मितज्यू नाइटको सम्झना आज पनि संगीतका पारखीहरू गर्दछन्। गायनविधामा मात्र होइन, उनले संगीताञ्जली तथा गीतमञ्जरीजस्ता दुईपुस्तकहरू पनि उनले तयार गरेका छन्।संगीतप्रधान पत्रिका बागीनाको पनि केहीसमय सम्पादन कार्य गरेका छन्।

आफ्ना गुरु अम्बरप्रति अगाध आस्था राख्ने योञ्जनप्रिय शिष्य थिए। हुन पनि हो नितेन्द्र बर्देवार गोपाल मात्र अम्बरका उस्ताद कलाकार भएर निस्किए,हरेक विधामा पारंगत। एउटा जमाना यस्तो पनि थियो कि नारायण गोपाल र गोपाल योञ्जन मिली तयार भएको जुनसुकै गीत पनि इतिहास रच्न सफल हुन्थ्यो।सारा दिन अरूलाई बाँडे...,तिम्रो जस्तो मुटु मेरो पनि...,जीवनदेखिधेरै नै थाकेर...,यति चोखो यति मीठो दिउँला तिमीलाई माया...तथा लौ सुन म भन्छु मेरो रामकहानी...जस्ता गीतहरू अजम्बरी गीतका नमूना भएका छन् नेपाली संगीताकाशमा। यीकालजयी कृतिहरूका संयुक्त स्रष्टा दुई गोपाल नै थिए।

ईश्वरबल्लभ,कर्म योञ्जन,यादव खरेल तथा नगेन्द्र थापाहरूको पनि गीतहरूमा सहभागिता थियो तर गीति लोकप्रियताको नापो दुई गोपालबाटै नापिने गरेको छ। मान्छेको जिन्दगी सधैंै सरल रेखामा मात्र अघि बढ्दो रहेनछ,नसोचेको क्षण पनि आउँदो रहेछ। २०४० सालको आसपासमायी दुई गोपालका बीचमा नराम्रो दरार पैदा भयो। पानीबाराबार भयो यीदुईबीच जसले गर्दा झन्डै दुई दशककाबीचको सांगीतिक सहकार्य पूर्ण रूपमा तोडियो। नारायण गोपाल त्यसपछि पूर्ण रूपमा दिव्य खालिङसित सहकार्यमा जुटे। नारायण यसपछि पनि सफल रहे तर योञ्जनको योलगायत अन्य घरायसी तथा पारिवारिक कारणले पनि होला सांगीतिक सक्रियतामा केही कमी आउन थाल्यो।

हुन त प्रवासमा जन्मिएर पूर्खाहरूको देशमा आएका गोपालद्धयलाई यहाँका रैथानेहरूले पाइलैपिच्छे छिर्के नलाएका होइनन् जसरी हरिभक्त कटुवाल,अम्बर गुरुङ,दिव्य खालिङ र तुलसी घिमिरेहरूलाई छिर्के लगाइयो। यसका बाबजुद आफ्ना अजम्बरी र देशभक्तिपूर्ण सिर्जनाहरूले त्यस्ता छिर्केदाउलाई पछार्दै उनी यो स्थानसम्म आइपुगेका हुन्। गोरखा दक्षिण बाहु,रेडियो नेपाल तथा तत्कालीन शाही नेपाल चलचित्र संस्थानको उत्कृष्ठ संगीतकार तथा छिन्नलता पुरस्कारजस्ता सम्मान उनका पोल्टामा परे। मरणोपरान्त उनका नाममा काठमाडौंको पद्यकन्या क्याम्पसले गोपाल योञ्जन पुरस्कार स्थापना गरी सम्मानको शृंखलालाई अघि बढाएको छ।

अम्बरका वरद् पुत्र ठान्ने गोपाल खुल्लमखुल्ला भन्ने गर्थे, कतिपय विधामा गुरुलाई चेलाले उछिन्छ है। हुन पनि हो, अम्बरका चेलाहरू जितेन्द्र बर्देवा र गोपालले कतिपय अवस्था र विधामा गुरुलाई उछिने पनि। आजीवन शाकाहारी जीवन बाँचेका गोपाल जीवनका अन्तिम कालखण्डतिर मदिरासेवनका निकै अम्मली हुन पुगे। मदिरासितको मितेरीले जसरी हरिभक्त कटुवाल,अगमसिंह गिरि,वासु शशी,जितेन्द्र बर्देवा तथा शरण प्रधान आदिलाई कालले अल्पायुमै लग्यो। गोपाल योञ्जनको पनि २०५४ जेठ ७ मा चोला उठ्यो।
अझ थुप्रै कालजयी सिर्जना पाउन बाँकी नै थियो नेपाली संगीतले। जे भए पनि उनको महाप्रस्थानको पूर्ति पटक्कै सम्भव छैन। जीवनका ५२ वसन्त पार गरेपश्चात् गोपालको सार्वजनिक भएको गीति सीडी निशानी–५२ वास्तवमै समग्र नेपाली जातिको सही निशानी बनेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.