प्रशंसनीय पुनर्निर्माण
धरहरा पुनर्निर्माण हुनेरहेछ, भयो। रानीपोखरी पनि पुनर्निर्माण भयो। गरे हुनेरहेछ। नेपालको परिचय, गौरव र इतिहास हो धरहरा। २०७२ वैशाख १२ गते गएको भूकम्पले पूर्ण रूपमा ध्वस्त भएको धरहरा पुनर्निर्माणपछि उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले भनेका वाक्य हुन् यी। नेपालको ढलेको शिर पुनः ठडिएको छ। गौरवमय इतिहास जीवन्त भएको छ। नौ तले धरहरा भत्किएपछि २२ तले बनेको छ। गरे के हुँदैन ? हो, झन्डै दुई वर्षभित्रै धरहरा ठडिएको छ। १५औं लोकतन्त्र दिवसको अवसर पारेर धरहरा उद्घाटन हुँदा धरहरासँगै नेपाल र नेपाली बौरिएको अनुभूति भएको छ। ओलीले पहिलोपटक प्रधानमन्त्री बनेको बेला २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियान थालेका थिए।
धरहराभन्दा अघि काठमाडौंको मुटुमा रहेको रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको छ। काष्ठमण्डपको काम झन्डै ९० प्रतिशत सकिएको दाबी गरिएको छ। यसैगरी क्षतिग्रस्त यस्तै ९२० वटा सम्पदामध्ये ४९३ को पुनर्निर्माण सकिएको छ। २८८ वटा सम्पदा पुनर्निर्माण भइरहेका छन्। उता अनुदान सम्झौता गरेका ८,११,७५४ लाभग्राहीमध्ये घरको पुनर्निर्माण सुरु गरेका कुल लाभग्राहीको संख्या ७,५३,१०४ पुगेको छ। अर्थात् झन्डै ९३ प्रतिशत काम सकिएको छ। पहिलो किस्ता वितरणको त ९९.८६ प्रतिशत नै काम सकिएको छ भने दोस्रोको पनि ८६.७८ र तेस्रोको ७८.६६ प्रतिशत पुगिसकेको छ। वर्ष दिनको विश्वव्यापी महामारी कोरोना संक्रमण र अन्य विभिन्न बाधाअड्चनबिच पुनर्निर्माण र पुनस्र्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत कार्य सम्पन्न हुनु प्रसंशनीय देखिन्छ।
आधाभन्दा बढी गुम्बा पनि सम्पन्न भएका छन्। क्षतिग्रस्त ७,५५३ विद्यालयमध्ये ८३ प्रतिशत, १,१९७ स्वास्थ्य संस्थामध्ये ६९८, ४१५ सरकारी भवनमध्ये ९० प्रतिशत, सुरक्षा निकायका २१६ संरचनामध्ये २१४ को पुनर्निर्माण सकिनुलाई पनि अर्थपूर्ण हिसाबले हेर्न सकिन्छ। विभिन्न जिल्लामा ७६२ किलोमिटर सडक पुनर्निर्माण गर्नुपर्नेमा ५२५ सम्पन्न भएको र बाँकी चालु आवमै सम्पन्न हुने सम्भावना पनि स्वागतयोग्य नै हो। पुनर्निर्माणका लागि विनियोजित ४ खर्ब ८८ अर्बमध्ये सरकार एवं दातृनिकायको हालसम्म ३ खर्ब ५७ अर्ब रुपैयाँ खर्च भएको छ।
६ वर्षअघि आजकै दिन गएको शक्तिशाली भूकम्पबाट ८,९७९ जनाको मानवीय क्षति भएको थियो भने २२,३०९ घाइते भएका थिए। २९९ मानव बस्ती, ५३ सडक, ३२१२ खानेपानी संरचना, ७५५३ शिक्षण संस्थाका ४९६८१ कक्षाकोठा क्षतिग्रस्त बनेका थिए। यति ठुलो विपत्ति र महिनौंसम्म चलेको पराकम्पको असरको सामना गर्दै यहाँसम्म आइपुग्नुलाई नजरअन्दाज गर्न मिल्दैन। यसले के देखाउँछ भने ६ वर्षे चुनौतीपूर्ण पुनर्निर्माणको यात्रामा नेपालले ‘गर्दै सिक्दै’ विश्वसामु पुनः पुरानै स्वरूपमा फर्कन सफल भएको प्रमाणहरू पेश गरिरहेको छ।
भूकम्प जस्तो विपद्लाई अवसरमा ढाल्न नेपाल सरकार सफल भएको छ किनकि पुनर्निर्माण अहिले सम्पन्नताको चरणमा पुगेको छ। भूकम्पबाट अति प्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लालाई सामान्य अवस्थामा फर्काउनु चानचुने प्रयास होइन। त्यसमाथि अधिकांश जिल्ला दुर्गम र पहाडी छन् जहाँ जोखिमयुक्त बस्ती पनि थिए। करिब पाँच हजार नागरिकका लागि दर्जनौं बस्ती नै स्थानान्तरण गर्नु, ६४ वटा एकीकृत बस्तीहरूको निर्माण गर्नु र ३३ वटा बस्ती सुधार गर्नु आदि सबै सम्भव भइसक्न लागेका छन्। बस्ती स्थानान्तरणदेखि जोखिमपूर्ण सम्पदालाई मौलिक स्वरूप दिएर पूर्ववत् अवस्थामा फर्काउनेजस्ता काममा अनेक जोखिम र समस्या चिर्दै पार लगाउनुले नेपाल सरकारले पुनर्निर्माण कार्यमा प्रसंशनीय कार्य गरेको ठहर्छ। पुनर्निर्माणका बाँकी कार्यलाई पनि सरकारले समयमै गुणस्तरीय ढंगले सम्पन्न गर्नु अबको आवश्यकता हो।