भक्तपुरमा एकैदिन एकसय ६ जनामा कोरोना पुष्टि
भक्तपुर : भक्तपुरमा शनिबार एकैदिन एकसय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जुन संख्या पछिल्लो समयको हालसम्मकै सबैभन्दा बढी रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।
कार्यालयका प्रमुख कृष्ण मिजारले शनिबार सूर्यविनायक नपामा सर्वाधिक ३६ जना संक्रमित थपिएको जानकारी दिए। जसमा २२ जना पुरुक्ष र १४ जना महिला रहेका छन्।
मध्यपुर थिमि नपामा १६ पुरुष र १२ महिला गरी २८ जना संक्रमित थपिए। भक्तपुर नपामा १४ पुरुष र १० महिला गरी २४ जना संक्रमित थपिँदा चाँगुनारायण नपामा ६ महिला र ५ पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको प्रमुख मिजारले बताए।
शनिबार संक्रमण पुष्टि भएका ४ पुरुष र ३ महिला गरी ७ जना भने सम्पर्क बाहिर रहेको उनले जानकारी दिए। शनिबार एकैदिन एकसय ६ जना थपिएसँगै भक्तपुरमा सक्रिय संक्रमित ५ सय ८८ पुगेका छन्। स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भक्तपुरमा शनिबारसम्ममा संक्रमितको संख्या १० हजार ३ सय ४३ पुगेको छ।
त्यस्तै यहाँका एकसय २८ जना संक्रतिमहरुको मृत्यु भइसकेको छ। जसमा ८३ जना पुरुष र ४५ जना महिला रहेका छन्। भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका ४५ जना संक्रमितको मृत्यु भएको छ। यहाँका २९ पुरुष र १६ महिलाले कोरोनाको कारण ज्यान गुमाएका छन्।
मध्यपुर थिमि नपाका २८ पुरुष र १४ महिला गरी ४२ जना संक्रमितको मृत्यु भएको छ। सूर्यविनायक नपाका १८ पुरुष र १३ महिला गरी ३१ ले संक्रमणको कारण ज्यान गुमाउँदा चाँगुनारायण नपाका ८ पुरुष र २ महिला गरी १० जनाको मृत्यु भएको छ।