जन्ती बसलाई टिपरले ठक्कर दिँदा दुई बालिकाको मृत्यु
बुटवल : रुपन्देहीको कोटीहवामा दुर्घटना हुँदा दुई बालिकाको मृत्यु भएको छ। जन्ती हिँडेको बसलाई टिप्परले ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको हो। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।
आइतबार दिउँसो भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बसलाई लु १ ख ६०६४ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो। टिपरले ठक्कर दिएपछि हुत्तिएको बसले जन्ती बोकेकै अर्को लु १ ख ५७८८ नम्बरको बसलाई ठक्कर दिएको र उक्त बस अनियन्त्रित भएर लु २ च ७०७२ नम्बरका बोलेरो जिपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
घटनामा रुपन्देही तिलोत्तका १५ का १० वर्षीय सरस्वती हरिजन र आठ वर्षीया गंगा हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा टिपर चालकसहित ६ जना घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। घाइतेमध्ये टिपर चालकको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र अन्य ५ जनाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइराखेको छ।
दुर्घटनापछि ट्राफिक प्रहरीले टिपरको आवतजावतमा रोक लगाएको छ। ट्राफिक प्रहरीका अनुसार बुटवलबाट भैरहवातर्फ जाने टिपर योगीकुटीमा रोकिएका छन् भने भैरहवाबाट बुटवलतर्फ आउने अन्चलपुरमा रोकिएका छन्।