आफू जोगिऔं, अरूलाई पनि जोगाऔं
संक्रमण दर ह्वात्तै उच्च भएसँगै सरकारले राजधानी काठमाडौंमा बिहीबार बिहानदेखि निषेधाज्ञा जारी गर्ने भएको छ। कोरोना संक्रमणका कारण घन्टैपिच्छे मृत्यु हुन थालेपछि सरकारले रोकथामको विकल्प रोजेको हो। छिमेकी भारतसँगै नेपालमा पनि महामारीले पुनः आक्रान्त पार्न थालेको छ। गतवर्ष चैत ११ गतेदेखि निषेधाज्ञा (लकडाउन) सुरु गरिएको थियो। क्रमशः सहज हुन थालेपछि खोलिएको निषेधाज्ञा दोस्रो चरणको कोरोना संक्रमणको व्यापकतासँगै बिहीबारदेखि पुनः सुरु गर्न लागिएको हो। सावधानी अपनाउने र प्रतिबन्धात्मक उपायहरू अपनाउनेजस्ता कामले माघ–फागुनदेखि जनजीवन सामान्यमा फर्किएको थियो। पछिल्लो एक सातामा संक्रमण र मृत्यु दरको आँकडाले भने मुलुकभर एकाएक नयाँ र चुनौतीपूर्ण परिस्थिति जन्माएको छ।
संक्रमणबाट जोगिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लागू गरेको मापदण्ड अपनाउनुको विकल्प पनि छैन। मुलुकका ९ जिल्ला हटस्पट मानिएका छन्। बाँकेमा सोमबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्रले कोरोना संक्रमण दर उच्च रहेका हटस्पटमा निषेधाज्ञा जारी गर्न सिफारिस गरेपछि काठमाडौंमा पनि लागू हुने भएको हो। वीरगन्ज पनि हटस्पट बन्दैछ। जहाँ एउटै बेडमा तीन संक्रमितको उपचार गर्नुपर्ने बाध्यता देखिएको छ। अक्सिजन नहुँदा उपचार प्रभावित भएको छ। चिकित्सकले निषेधाज्ञा जारी गर्न ढिलो भएको बताउन थालेका छन्। यस्तो अवस्था ढिलोचाँडो सबैतिर आउने देखिएको छ। कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै यो सातादेखि मुलुकभरका दर्जनौं अस्पतालमा बिरामीले बेड पाउन छोडेका छन्। गम्भीर प्रकृतिका संक्रमितलाई आईसीयू वा भ्यान्टिलेटरमा राख्नुपर्छ तर त्यो स्वास्थ्य सुविधा सबैले पाएका छैनन्।
मन्त्रालयको तथ्यांक हेर्ने हो भने मुलुकभर दुई सय ५२ जनाको उपचार आईसीयूमा र ६५ जनाको भ्यान्टिलेटरमा भइरहेको छ। हटस्पट मानिएका नेपालगञ्ज लगायतका ठाउँमा बिरामी बेड नपाएर छटपटाउन थालेका छन्। काठमाडौं उपत्यकामै पनि बेड, आईसीयू र भ्यान्टिलेटर नपाउने अवस्था सिर्जना हुन थालेको छ। भारतमा दैनिक तीन लाखभन्दा बढी संक्रमित भइरहेका छन्। हालसम्म एक करोड ७३ लाख १३ हजार एक सय ६३ संक्रमित भइसके भने एक लाख ९५ हजार एक सय २३ को निधन भइसकेको छ। भारतबाट स्वदेश फर्किने नेपालीको चाप थेगिनसक्नु हुन थालेको छ। सीमानाकाहरू अस्तव्यस्त छन्। मेचीको काँकडभिट्टा होस् वा कैलालीको गौरीफन्टा अनि कञ्चनपुरको गड्डाचौकी, दैनिक हजारौंको उक्त संख्याको सही व्यवस्थापन हुन नसक्दा र फर्किनेहरूले पनि स्वास्थ्य सावधानी नअपनाउँदा संक्रमण दर ह्वात्तै बढेको छ। सुरक्षाकर्मी र कर्मचारीले चाप थेग्न र व्यवस्थित गर्न नसकेपछि संक्रमण बढेको र उक्त चापले अस्पताल भरिभराउ हुन पुगेका छन्।
काठमाडौंमै दैनिक दुई हजार संक्रमित पुग्न थालेका छन्। मुलुकभर झन्डै २५ सय सक्रिय संक्रमित छन्। ज्यान गुमाउनेको संख्या तीन हजार एक सय ७६ पुगिसकेको छ। सातामै २४ घण्टाभित्र २८ जनाले ज्यान गुमाइसकेका छन्। यस्तो भयावह अवस्थामा पनि सडक, चोक र किनमेल आदिमा नागरिक सजग भएको पाइँदैन। न पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाएका छन् न अरूलाई जोगिने गरीको व्यवहार गरेका छन्। सरकारले निषेधाज्ञा जारी गर्नु एउटा सन्दर्भ होला, यस्तो उच्च संक्रमणका बेला, अस्पताल भरिभराउ भएका बेला, उपचारका लागि बेड, आईसीयू र भ्यान्टिलेटर नपाइरहेका समयमा नागरिक स्वतस्फूर्त रूपमा नियन्त्रित हुनुपर्ने होइन र ? ज्यान जोखिम हुने बुझेपछि पनि किन उस्तै लापर्वाही ? हरेक नागरिकले वर्तमान परिस्थितिको विश्व परिवेश र मुलुक अनि स्थानीय परिवेश विचार गरी सतर्कता अपनाए मात्र कोरोना रोकथाम सम्भव छ। अन्यथा समस्या ज्यूँका त्यूँ मात्र होइन, दिन दुई गुणा रात चार गुणा वृद्धि हुनेमा दुई मत छैन। त्यसैले सर्वप्रथम आफू जोगिऔं र सँगसँगै अरूलाई पनि जोगाऔं।