‘गण्डकी सरकार पनि संविधान उल्लंघन गर्ने कुराको मतियार भयो’

‘गण्डकी सरकार पनि संविधान उल्लंघन गर्ने कुराको मतियार भयो’

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध सोमबार प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको छ। प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले अविश्वास प्रस्ताव टेबल गरेका हुन्। 

पोखरेलले अविश्वास प्रस्ताव ल्याउनुपर्ने कारणबारे आफ्ना धारणा राखे। प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्ष सरकार चलाउनुको साटो बिचैमा प्रतिनिधिसभा विघटन गरेको आरोप पोखरेलले लगाए। त्यसकै प्रतिक्रियास्वरुप प्रदेशमा अविश्वास प्रस्ताव आएको उनको भनाइ थियो। 

‘गण्डकी सरकार पनि संविधान उल्लंघन गर्ने कुराको मतियार भयो’, उनले भने। उनले सत्तारुढ नेकपा विभाजनपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेमा अनेक चलखेल भएपछि नै जनताको भावना अनुरुप अविश्वास प्रस्ताव ल्याएको सुनाए। 

सत्तारुढ एमालेका सांसद धनञ्जय दवाडीले भने प्रधानमन्त्रीका कारण मुख्यमन्त्री हटाउँदा संघीयता बलियो हुन नसक्ने तर्क गरे। गाडी चढ्ने रहर भएकाहरु सरकार फेर्न लागेको आरोप दवाडीले लगाए। उनले हिजो एउटै सरकारमा भएकाहरुले एउटै घोषणापत्र कार्यान्वयन गर्न बेवास्ता गर्नु र आज विरोध गर्नु लाजमर्दाे भएको बताए। भने, ‘कोरोना हुँदासम्म मास्कले मुख छोप्नुहोला, भोलि के गर्नुहुन्छ ?’

माओवादीका सांसद दीपक कोइरालाले ६ दिन बढी भए पनि गाडी चढ्ने र झन्डा हल्लाउने रहरले अधिवेशन अन्त्य गरिएको आरोप लगाए। सोमबार र मंगलबार सदनमा अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूचीका लागि दलहरु सहमत छन्। सम्भवत बुधबार अविश्वास प्रस्तावमाथि मतदान हुनेछ। 

कांग्रेससहित तीन दलले वैशाख २ मा प्रदेशसभा सचिवालयमा उक्त प्रस्ताव दर्ता गरेका थिए। विपक्षीले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीसँगै मुख्यमन्त्री गुरुङले अधिवेशन अन्त्य गरेका थिए। लगत्तै अरु दलले प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन दिएका थिए।  सोही माग अनुसार शेरचनले १३ वैशाखमा अधिवेशन आह्वान गरेका हुन्। 
अविश्वास प्रस्तावमा २८ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टीका २ सांसदले हस्ताक्षर गरेका हुन्। १२ सांसद रहेको माओवादीबाट १ जनाचाहिँ सभामुख छन्। 

राष्ट्रिय जनमोर्चाका गण्डकीका सांसद गुरुङको पक्षमा भए पनि केन्द्रीय कमिटीले भने अविश्वासको प्रस्तावमा मतदान गर्न निर्देशन दिएको छ। ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २७ सांसद छन्। २७ मध्ये १ जना नेपाल समूहका छन्। एमालेकै समर्थनमा सांसद भएका मनाङका राजीव गुरुङ उर्फ दीपक मनाङेले सोमबार आफूलाई स्वतन्त्रकै हैसियत प्रदान गर्न प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.