सत्तारुढ एमालेबाटै गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

सत्तारुढ एमालेबाटै गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

पोखरा : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठकमा एमाले सांसदले सुरुआतमै उठेर आपत्ति जनाएका थिए । 

पीसीआर परीक्षण नगरी सामाजिक दूरी पनि कायम नगरी बैठक राखिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । बैठकमा एमाले सांसद राजीव पहारीले आफूहरु सबैको पीसीआर परीक्षण गरिनुपर्ने बताए ।

पीसीआर परीक्षण नगरी बैठक राख्दा हुन सक्ने क्षति प्रदेश सभाले नै व्यहोर्नुपर्ने उनको तर्क थियो । ‘धेरै माननीय पनि प्रेसर, सुगर, थाइराइडबाट ग्रस्त भएकाले संक्रमण छिटो हुन सक्ने छ । दूरी कायम नगरी बस्दा कसैको मृत्यु हुन गयो भने त्यसको जिम्मेवार को हुने?, ’ उनको प्रश्न थियो । 

सरकारले १५ जना भन्दा बढी भेला नहुन निर्देशन गरेका बेला प्रदेश सभामा सयौं जना राखेर बैठक राख्न नहुने उनको तर्क थियो । यसअघि सोमबारको बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले पीसीआर परीक्षण गरेर मात्रै संसद राख्न ध्यानाकर्षण गराएका थिए ।
 
एमालेले सदन अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित गरेको छ । सोमबारको बैठकमा २५ सांसदले बोल्ने कार्यसूचि थियो । वैशाख २ गते  प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । अविश्वास प्रस्तावमा बुधबार मतदान गर्ने योजना थियो । तर एमालेले बैठक अवरुद्ध गर्दा मतदान नहुने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.