म्याग्दीका शैक्षिक संस्था चौध दिन बन्द
बेनी : म्याग्दीका शैक्षिक संस्था चौध दिनका लागि बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सोमबार बसेको कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको आकस्मिक बैठकले २०७८ वैशाख १५ देखि २८ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
बेनी सामुदायिक माध्यमिक विद्यालयका एक जना शिक्षक र दुई जना विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आकस्मिक बैठक बोलाइएको थियो । ‘भर्चुअल विधिबाट कक्षा सञ्चालन र परीक्षा स्थगित गर्ने निर्णय भएको छ,’ प्रजिअ गणेशबहादुर अधिकारीले भने, ‘कोरोना (भाइरस)को संक्रमण फैलिने जोखिमयुक्त मानिएको विद्यालयमा संक्रमित भेटिएकाले तत्कालका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको हो ।’
म्याग्दीमा २६० भन्दा बढी शैक्षिक संस्थामा करिब ३५ हजार जना विद्यार्थी छन् । बैठकले स्थानीय तहहरुले कोरोना भाइरसको परीक्षण दर बढाउने, बेनी नगरपालिकाको अगुवाइमा कोरोना अस्पताल ब्यवस्थापन गर्ने, २५ जना भन्दा बढी भेला हुन नदिने निर्णय गरेको छ ।
बेनी अस्पतालको निर्माणाधिन ५० शैया क्षमताको भवनमा आइसोलेसन स्थापना गरिने भएको छ । कालीपुल नाकाको चेक पोष्टलाई प्रभावकारी बनाउन थप जनशक्ति परिचालन गर्ने प्रशासनले जनाएको छ ।
२५ जनाभन्दा बढी मलामी, जन्ती जान नपाउने, पूजापाठलाई सिमित व्यक्तिहरुको उपस्थितिमा मात्र गराउने र बाजा बजाउन नपाउने निर्णय गरेको छ । वैशाख ९ गते ११ जनामा कोरोना संक्रमण पुष्टि भएको म्याग्दीमा आइतबार ६ जना संक्रमित थपिएका थिए ।
बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिकाको सामाजिक विकास समितिको बैठकले पनि सोमबार पालिकाका सबै शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो ।
दोस्रो लहरको कोरोना भाइरसको संक्रमणको दर बढ्न थालेकाले नियन्त्रणका लागि विद्यालय बन्द गर्नुका साथै अन्य रोकथामका उपाय अपनाउने निर्णय गरिएको जलजला गाउँकार्य पालिकाको सामाजिक विकास समितिका संयोजक गोबिन्द खत्रीले बताए । जलजलामा ५२ वटा विद्यालय छन् ।
यसअघि वैशाख ८ गतेदेखि जिल्ला प्रशासन कार्यालय म्याग्दीले धार्मिक स्थल, खेलकुद कार्यक्रम र मेला महोत्सव सञ्चालनमा रोक लगाएको छ । मठ मन्दिर, मञ्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी नृत्य पूजा, ध्यान र प्राथना मात्र गर्न प्रशासनले निर्देशन जारी गरेको छ ।
जनस्वास्थ्यका मापदण्ड पालना गरेर पसल, ब्यवसाय सञ्चालन गर्ने, होटल, रेष्टुरेन्ट बेलुकी ८ बजेपछि बन्द गर्ने नियम बनाएको छ ।