नाकामा जाँच्दै घर पठाउँदै नगरौं
भारत विश्वकै कोरोना ‘हटस्पट’ बनेको छ। त्यहाँ हरेक दिन सरदर तीन लाखभन्दा बढी संक्रमित थपिइरहेका छन्। विश्वका नयाँ संक्रमितका आधाभन्दा धेरै भारतमै छन्। भारत हाम्रो यति घनिष्ठ छिमेकी देश हो, जहाँ लाखौं नेपाली रोजगारी र अन्य कामका लागि पुगेका छन्।
बीचमा कोराना केही मत्थर हुँदा उता गएका नेपाली अहिलेको परिस्थितिमा पुनः घर फर्किइरहेका छन्। यो स्वाभाविक हो। तर, तिनीहरू देशमा कोरोना ल्याउने प्रमुख माध्यम बनिरहेका छन्। तिनको उचित व्यवस्थापन हुन सके कोरानाको व्याकताबाट जोगाउन सकिने थियो। तर, हाम्रा नाकाहरूमा त्यसको प्रबन्ध हुन सकेको पाइँदैन।
भारतका विभिन्न सहरबाट घर फर्किनेको नेपाली नाकामा एन्टिजेन परीक्षण हुन्छ। तर, पोजेटिभ देखिएकालाई समेत होल्डिङ सेन्टरमा राखिन्न। अछाम नगरपालिका १४ का मीनबहादुर सोडारी वा सुर्खेतको लेकबेसी ४ का गंगाबहादुर थापाहरू यसका उदाहरण हुन्। एन्टिजेनमा पोजेटिभ देखिएका उनीहरूलाई सरकारी अधिकारीहरूले घर जान भने। सीमा क्षेत्रमा एन्टीजेन परिक्षण गर्ने स्वास्थ्यर्मीहरुले होम आइसोलेसनमा बस्न आग्रह गरे। उनीहरूले सार्वजनिक यातायातको टिकट काटे र घर गए। स्वास्थ्यकर्मीहरूलाई यसले कोरोना फैलावट हुन्छ भन्ने हेक्का नभएको होइन। तर, उनीहरूको बाध्यता– त्यसरी पोजेटिभ देखिनेका हकमा राख्ने ठाउँ व्यवस्था छैन। कहाँ राख्ने, कसरी राख्ने– झन् समस्या छ।
भारतबाट फर्किरहेका १५ प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ। मंगलबार मात्रै भारतबाट फर्केका नेपालीमा गौरीफन्टा नाकामा ७० जना र कञ्चनपुरको गड्डाचौकी नाकामा ३५ जनामा कोरोना पोजेटिभ पाइएको छ। यी सीमा नाकाबाट फर्केका नेपालीहरुमा गरिएको एन्टीजेन परिक्षणमा मात्रै १ हजार ५ सय ८७ जनामा पोजेटिभ देखिएको छ। पीसीआर परीक्षणबाट अहिले कैलालीमा ४ सय ६१ र कञ्चनपुरमा २ सय ३० गरी सुदूरपश्चिममा ९ सय ९ जना सक्रिय संक्रमित छन। चैत ३ गते यता सीमा नाकाम गरिएको एन्टीजेन परिक्षणमा २१ सय ९२ जनामा कोरोना पोजेटिभ देखिएको छ। उदाहरण सुदूर पश्चिमको भए पनि यसले अन्य नाकाको अवस्थासमेत प्रतिनिधित्व गर्छ। मेचीदेखि महाकालीसम्मका सबै नाकाबाट दैनिक ठूलो संख्यामा नेपाली स्वदेश आइरहेका छन्। उनीहरू चाहे पोजेटिभ होस् वा नेगेटिभ सरासर गाउँ पुगिरहेका छन्। यसले सबै जिल्लामा कोरोना भाइरस विस्तार भइरहेको छ।
पछिले समय जिल्ला–जिल्लाका अस्पताल संक्रमितले भरिँदै गएका छन्। कतिपय सहरमा कोरोनाका गम्भीर विरामीका लागि न आईसीयु खाली छ, न भेन्टिलेटर नै। बिरामीहरू उपचार नपाएर छटपटाइरहेका छन्। गम्भीर प्रकृतीका विरामीको संख्या बढिरहेको छ। बीरगन्ज, नेपालगन्ज, विराटनगर, भैरहवा, धनगढी, महेन्द्रनगर, भद्रपुर, काँकरभिट्टा, जनकपुरजस्ता सीमावर्ती सहरहरूमा बिरामीको संख्या बढ्दो छ। अघिल्लोपालिको भन्दा तीव्र संक्रमण र गम्भीर प्रकृति यसपालि पाइएको छ। त्यसैले सानोतिनो लापरबाही र कमजोरीसम्म हुनु अहिलेका लागि जोखिमपूर्ण बन्नेछ।
अतः सरकारले नाकाहरूमा हरेकलाई परीक्षण गर्नैपर्छ। चोरबाटोबाट नेपालतिर छिर्न पूर्णतः रोक्नुपर्छ। स्वास्थ्य परीक्षणमा पोजेटिभ देखिएकालाई सरकारले व्यवस्था गरेका आइसोलेसन सेन्टरमा कम्तीमा दुई साता राख्नुपर्छ। नेगेटिभ देखिएकालाई होम आइसोलेसमा बस्ने गरी बाध्यात्मक अवस्था सिर्जना गर्नुपर्छ। त्यसका लागि स्थानीय तहहरूको सक्रियता जरुरी छ। खासगरी सीमाबाट घरसम्म जानेका लागि सार्वजनिक बस होइन, विशेष बस व्यवस्थापन गर्नुपर्छ। भाडा यात्रुलाई तिराएरै किन नहोस्, विदेशबाट आएकालाई आउँदा आउँदै अन्य यात्रुसँग मिसाएर यात्रा गराउनु हुँदैन। उनीहरूको सुरक्षित यात्रा र आइसोलेसन बसाइको स्थानीय तहले अनुगमन गर्नुपर्छ। तब मात्र कोरोनाको व्यापकताबाट देशलाई जोगाउन सकिनेछ। अन्यथा भोलि अस्पतालमा बेड र अक्सिजन नपाएर धेरैको जीवन जोखिममा पर्न सक्छ। सोचौं बेलैमा।