तातोपानी कुुण्डहरु बन्द
बेनी : दोस्रो लहरको कोरोना भाइरस नियन्त्रणका लागि म्याग्दीका सबै तातोपानी कुण्डमा स्नानका लागि बुधबारदेखि प्रतिबन्ध गरिएको छ।
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सबै तातोपानीका कुण्डहरु बन्द गर्ने निर्णय गरेको हो।
बैठकपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा गलेश्वरधामको नित्यपूजा बाहेकका अन्य गतिविधि, सिंगा, भुरुङ्ग तातोपानी लगायतका कुण्ड, जिमखाना, कवर्डहल, योग केन्द्र बन्द गराउने निर्णय भएको उल्लेख छ।
म्याग्दीमा पीसीआर विधिबाट गरिएको परीक्षणमा एकैदिन १३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणका क्रममा ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सरदमुकाम बेनीका साथै ग्रामीण क्षेत्रमा पनि संक्रमित भेटिन थालेका छन्।
धेरै ठाउँका मानिसको जमघट हुने तातोपानी कुण्डमा भीड लाग्ने गर्छ। कुण्डमा आउने बिरामी तथा पर्यटकको माध्यमबाट कोरोना भित्रने जोखिमलाई मध्यनजर गर्दै सतर्कताका लागि बन्द गराउने निर्णय भएको जिल्ला प्रशासनले जनाएको छ।
फागुन, चैत र वैशाख महिना कुण्डमा स्नानको मुख्य सिजन (याम) हो। यो याममा दैनिक १ हजार ६ सय जनासम्मले कुण्डमा स्नान गर्छन्। म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्रिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुने लगायतका स्वास्थ्य समस्या निको हुने विश्वास छ।
अन्नपूर्ण गाउपालिकाको पाउद्धार, पोखरेबगरको रातोपानी, दोवाको सेकार्कु, रघुगंगा गाउपालिकाको दर्मीजा, धवलागिरी गाउपालिकाको बगर र गुर्जामा प्राकृतिक तातोपानी कुण्ड छन्। यी कुण्डहरुमा पनि स्नान गरेर उपचारका लागि बिरामी आउँछन्। कोरोनाको जोखिम हुने भएकाले स्थानीय प्रशासनले मेला, महोत्सव, सभा, समारोह आयोजना गर्न बन्द गराएको छ। २५ जना भन्दा बढी जन्ती र मलामी जान नपाउने नियम पनि बनाएको छ।
यसअघि शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १५ देखि २८ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो।