भारतमा कोरोना संक्रमण उच्च, मृतकको संख्या दुई लाख नाघ्यो

भारतमा कोरोना संक्रमण उच्च, मृतकको संख्या दुई लाख नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढिरहँदा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या मंगलवार दुई लाख नाघेको छ । अधिकारीहरूका अनुसार मंगलवार मात्रै ३,२८६ जना व्यक्तिको ज्यान गएको छ । यो महामारी शुरू भएयताकै एक दिनमा मृत्यु भएको सबैभन्दा उच्च संख्या भएको अधिकारीहरूले बताएका छन्।

स्वतन्त्र विश्लेषकहरूका अनुसार भारतमा कोभिड–१९ का कारण ज्यान गुमाउने मानिसहरूको संख्या सरकारले बताउने गरेको भन्दा दोब्बर हुनसक्छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अन्तिम संस्कार गरिएका आँकडा हेर्दा ज्यान गुमाउनेहरूको संख्या दोबर हुनसक्ने देखिन्छ ।

भारतमा अस्पतालमा भएका मृत्युहरूलाई मात्र गणना गरिएको छ। संक्रमणमा देखिएको पछिल्लो वृद्धिले भारतको स्वास्थ्य प्रणालीलाई घुँडा टेकाइदिएको छ ।

गत एक साताभित्र मात्र २० लाख कोरोना भाइरस संक्रमित थपिएको तथ्यांक छ । मृतकको हिसाबले संयुक्त राज्य अमेरिका, ब्रजिल र मेक्सिकोपछि भारत चौथो स्थानमा रहेको छ । यद्यपि ती मुलुकहरूमा भारतमा जस्तो अहिले देखिएको संकट चाहिँ नरहेको बताइएको छ ।

थुप्रै देश तथा विश्व स्वास्थ्य सङ्गठनले भारतमा खासगरी अक्सिजनको सहायता पठाउँदैछन्।अस्पतालमा शय्या तथा अक्सिजन नपाएर कतिपय बिरामीले ज्यान गुमाउनुपरेको छ भने बिरामीहरूको चाप थेग्न अस्पतालहरूलाई हम्मेहम्मे भएको छ । मसानघाटमा शव जलाउन ठाउँको अभाव हुँदा दिल्लीमा अस्थायी खालको संरचना बनाइँदैछ ।

दिल्लीमा २४ घण्टाको अवधिमा सबैभन्दा धेरै ३८१ जनाको कोभिड–१९ का कारण ज्यान गएको अधिकारीहरूले बताएका छन्। शव जलाउनका लागि दाउरा पूर्ति गर्न अधिकारीहरूले पार्कका रूखहरू काट्न थालेका विवरण आएका छन्।

मृत्यु हुने मानिसहरूको संख्या बढ्ने क्रम जारी रहँदा शव जलाउनका लागि दाउरा जम्मा पार्न तथा अन्तिम संस्कारका कतिपय पाटोमा सघाउनका लागि मृतकका आफन्तहरूलाई आग्रह गर्न थालिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.