गण्डकीका मुख्यमन्त्री विरुद्धको अविश्वासमाथि आजै मतदान
पोखरा : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध पेस भएको अविश्वास प्रस्तावमाथि आज बुधबार निर्णय हुने गरी गण्डकी प्रदेश सभाको बैठक सुरु भएको छ। अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यसूची प्रकाशन गरी बैठक पौने २ बजे सुरु भएको हो।
बैठकमा अहिले सांसदहरुले अविश्वास प्रस्तावमाथि छलफलमा भाग लिएका छन्। सांसदहरुले बोलेर सकिएपछि मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची छ। त्यसपछि मतदान हुने छ।
वैशाख २ गते संसद सचिवालयमा दर्ता अविश्वास प्रस्तावमा २८ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टीका २ सांसदले हस्ताक्षर गरेका हुन्। १२ सांसद रहेको माओवादीबाट १ जनचाहिँ सभामुख छन्।
गुरुङविरुद्धको अविश्वास प्रस्ताव सोमबार प्रदेश सभामा सोमबार टेबुल भएको थियो। प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल गरेका थिए।