कोरोनाबाट बागलुङमा थप एक महिलाको मृत्यु
बागलुङ : कोरोना भाइरस (कोभिड १९) का कारण जिल्लाका एक महिलाको मृत्यु भएको छ। बागलुङ नगरपालिका ११ रायडाँडाकी ६१ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
मृतक महिलामा गत बैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए। योसँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २१९ पुगेको छ भने बागलुङ जिल्लामा १२ पुगेको छ।
बागलुङ जिल्लामा तीव्र गतिमा कोरोना संक्रमण फैलिएको भन्दै नेपाल सरकारले अति प्रभावित जिल्लाको सूचिमा राखेको छ। केही दिन अघि एक सय बढी संक्रमित रहेको यस जिल्लामा अहिले ८४ जना सक्रिय संक्रमित छन्। मंगलबार मात्रै कोरोना विरुद्ध खोप लगाएका धौलागिरी अस्पतालका दुई स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ मा निषेधाज्ञा जारी गरिएको छ भने सबैजसो स्थानीय तहले शैक्षिक संस्था बन्द सहित कडाई गर्न थालेका छन्।