बेपत्ता भनिएका खिमविक्रम भन्छन्- 'अविश्‍वास प्रस्तावको पक्षमा भोट हाल्छु'

बेपत्ता भनिएका खिमविक्रम भन्छन्- 'अविश्‍वास प्रस्तावको पक्षमा भोट हाल्छु'

पोखरा : मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुनुअघिकै छलफलमा अनुपस्थित राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफ्नो पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको प्रष्ट गरेका छन् । 

संसद‍्मा अनुपस्थित भएर अस्पताल भर्ना भएका उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिएको आरोप लागेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा उनी अनुपस्थित हुँदामात्रै मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव असफल हुने थियो । सोही उद्देश्यबाटै शाही अनुपस्थित भएको आरोप लागेकोमा अस्पतालबाटै बिहीबार विज्ञप्ति जारी गरी पार्टी निर्णयप्रति प्रतिवद्ध रहेको उनले प्रष्ट पारेका हुन् । 

‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पाटी निर्णय प्रति प्रतिबद्वता कायमै छ,’ सांसद शाहीले भनेका छन्, ‘अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरी दिनु हुन म सम्पूर्ण दाजुभाइ दिदीबहिनी र मेरा शुभचिन्तकहरुमा प्रष्ट पार्न चाहन्छु ।’ 

राष्ट्रिय जनमोर्चाका सांसद शाहीको अनुपस्थितिको कारण देखाउँदै सभामुख नेत्रनाथ अधिकारीले बुधबार एक्कासि सदन स्थगन गरेका थिए । अविश्वास प्रस्तावको पक्षमा १ जना सांसदले मात्रै पनि मतदान नगर्दा गुरुङ सरकार जोगिन्थ्यो । कार्यसूचीसमेत प्रकाशित गरी बुधबार पौने २ बजे संसदको बैठक सुरु भएको थियो । बैठक सुरु भएपछि ११ जना सांसदले प्रस्तावमाथि बोलिसकेका थिए । त्यतिन्जेलसम्म कोरोना संक्रमित ४ र एकजना अर्का सांसद अनुपस्थित थिए । 

२० मिनेटका लागि स्थगित संसदमा जनमोर्चाकी सांसद पियारी थापाले आफ्नो पार्टीका सांसद शाहीको अवस्था अज्ञात रहेको भनी निवेदन दिएको र उनी सार्वजनिक नभएसम्म सदन नचलाइयोस् भनेर निवेदन दिएको हुँदा सदन स्थगित गरिएको सूचना प्रदेश सभा सचिवालय सचिव हरिराज पोखरेलले प्रकाशित गरेका थिए । 

कोरोना संक्रमण भएपछि एमाले सांसद राजीव पहारी र प्रभा कोइराला एवं कांग्रेस सांसद मनकुमारी गुरुङ पनि अपराह्नसम्म अनुपस्थितै थिए । तर राजमोकी सांसद  थापाको निवेदनकै आधारमा सदन स्थगन भएको छ । संसद स्थगनको सूचना आउनुअघि नै राजमो सांसद कोरोना संक्रमित भई चरक अस्पतालको आइसियुमा भर्ना भएको सार्वजनिक भइसकेको थियो । 

२ वैशाखमा २८ सांसदको हस्ताक्षरसहित कांग्रेस, माओवादी र जसपाले दर्ता गरेको अविश्वास प्रस्ताव पारित हुन ती दलले ३ सांसद भएको राजमोको साथ मिल्ने विश्वास गरेका थिए । राजमो केन्द्रीय कमिटीले अविश्वासको पक्षमा मतदान गर्न निर्देशनसमेत दिएको थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । १ स्वतन्त्र सांसदको पनि मुख्यमन्त्रीलाई साथ छ । 

सांसदले हस्ताक्षर गरी स्वकीय सचिव मिलन हमालद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ,
 
म खिमविक्रम शाही राष्ट्रिय जनर्मोचाको तर्फबाट गण्डकी प्रदेश, बागलुङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २, प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट निर्वाचित प्रदेश सभाको सदस्य हो । मिति २०७८ वैशाख १५ गते सदनको कार्यसूची बमोजिम मुख्यमन्त्रीमाथिको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने थियो । तर म सदनमा जाने भनी तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु । म अहिले उपचाररत छु । हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ भए पछि मेरो बारेमा उठेका कैयौं प्रश्नको बारेमा स्प्रष्ट गर्ने नै छु । 

अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामिक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरि दिनु हुन म सम्पूर्ण दाजुभाइदिदी बहिनी र मेरा शुभचिन्तकहरुमा प्रष्ट पार्न चाहन्छु । साथै पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पाटी निर्णय प्रति प्रतिबद्वता कायमै छ । 

मेरो स्वास्थ्यप्रति गम्भीर भई उपचारमा सहयोग गर्नुहुने स्वास्थ्यकर्मी, स्वास्थ्यप्रति चासो र चिन्ता प्रकट गर्नु हुने मेरा पार्टीका नेता, प्रदेश सभाका माननीयज्यूहरु, अग्रज साथीहरु र सम्पूर्ण शुभचिन्तकमा धन्यवाद प्रकट गर्दछु । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.