सैनमैनामा बन्यो कोरोना अस्पताल
बुटवल : कोरोना संक्रमण उच्च भएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ। सैनामैनाको बनकट्टामा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयलाई कोरोना अस्पतालमा परिणत गरेको हो।
अस्पतालमा पाँच वटा आइसीयू बेड, तीन वटा अक्सिजन मनिटर बेड र अन्य ४५ वटा आइसोलेसन बेड रहेका छन्। अस्पतालमा एकजना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चारजना अनमी र एकजना अहेब कार्यरत छन्।
रुपन्देहीका कोरोना विशेष अस्पतालमा बिरामीले बेड नपाइरहेको अवस्थामा यो अस्पतालले टेवा दिने नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए। ‘३० वटा अक्सिजन सिलिण्डर र एउटा एक्सरे मेसिन उपलब्ध भयो भने महामारीमा यो अस्पतालले ५० जना विरामीलाई सेवा दिन सक्छ, उनले भने,–‘हामीले प्रदेश सरकारसंग यी उपकरणको माग गर्दछौं।’
अस्पताललाई अर्थमन्त्री विष्णु पौडेलले संसद विकास कोषमध्यको ५० लाख रकम उपलब्ध गराएका छन्। सोही रकमबाट अहिलेलाई अस्पताल सञ्चालन गरिने नगरप्रमुख कार्कीले जानकारी दिए।
अस्पतालमा एकजना गम्भीर बिरामीको उपचार थालिएको छ। सैनामैना नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले संक्रमितको हेरचाहदेखि होम आइसोलेसनमा रहेकाको निगरानी गर्ने टिम समेत यही अस्पतालबाट परिचालन हुने बताए।
प्रदेश सरकारले पालिकास्तरमा आइसोलेसन निर्माणमा सहयोग गर्ने नीति बनाएको छ। अस्पताल उद्घाटन गर्दै सत्ता पक्षका प्रमुख सचेतक भुमिश्वर ढकालले सैनामैना जस्तै हरेक पालिकामा अस्पताल बनाएर कोरोना संक्रमितको उपचार नै पहिलो प्राथमिकता रहेको बताए।
सैनामैनाले गत वर्ष पनि कोरोना विशेष अस्पताल सञ्चालन गरेको थियो। पहिलो चरणको महामारीमा २ सय ५० भन्दा धेरै संक्रमितलाई अस्पतालमार्फत उपचार गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए। अहिले पनि संक्रमण बढ्न सक्ने जोखिम क्षेत्रमा एन्टिजेन परीक्षणलाई तिब्रता दिइने उनले बताए।