भारतमा कोरोना संक्रमण उच्च, चौबीसै घण्टा सामूहिक दाहसंस्कार
कोरोना भाइरस महामारीका कारण भारत अहिले अभूतपूर्व संकटमा परेको छ । कोभिड–१९ को दोस्रो लहर फैलिन थालेपछि बिरामी र मृतकको संख्या ह्वात्तै बढेको छ । भारतमा कोभिड-१९ का कारण मृत्यु हुने मानिसको संख्या दुई लाख नाघिसकेको छ । विगत सात दिनमा भारतमा अन्य देशमा भन्दा धेरै मानिसमा कोभिड-१९ पुष्टि भएको छ ।
अस्पतालमा शय्या तथा अक्सिजन र औषधि नपाएर बिरामीहरूको मृत्यु भएको छ । अस्पतालहरू बिरामीहरूको भार नसक्ने अवस्थामा पुगिसकेका छन् । अहिले अन्तिम संस्कार गर्ने ठाउँमा पनि ठूलो चाप बढेको छ । केही मसानघाटहरू अहोरात्र सञ्चालित छन्। त्यहाँ काम गर्ने कर्मचारीहरू आफूले विश्रामबिना नै दाहसंस्कार गरिदिनुपरेको बताउँछन्।
दिल्लीका घाटमा शव जलाउन ठाउँ नपुगेर नयाँ चिता बनाउपरेको छ। त्यहाँ घाटनजिकैका खाली ठाउँमा दाहसंस्कार गरिएको छ। अन्तिम संस्कारका लागि आवश्यक दाउरा जुटाउन सहरका उद्यानमा भएका रूखहरू काट्न थालिएको छ । मृतकका शोकाकुल आफन्तहरूले अन्त्येष्टिका लागि लामो समय पालो कुर्नुपरेको छ।