अक्सिजनमा आत्मनिर्भर बनौं

अक्सिजनमा आत्मनिर्भर बनौं

स्वासप्रश्वासमा समस्या देखिएका बिरामीको पहिलो आवश्यकता भनेकै अक्सिजन हो। अक्सिजन मास्क लगाएपछि मात्रै बिरामीलाई सहज बनाएर अन्य उपचार सुरु गरिने भएकाले अहिले यसको महत्व अझै बढी छ।

कोरोना भाइरसका संक्रमित दैनिक बढ्दै जाँदा बिरामीका लागि आवश्यक अक्सिजन नपाएर ज्यान पो जाने हो कि भन्ने भय र आशंका धेरैमा छ। छिमेकी मुलुक भारतमा अक्सिजनको अभावमै हजारौंले ज्यान गुमाएका छन्। संक्रमण दर बढ्दो नेपालमा अबको अवस्था झन् कस्तो होला ? प्रश्नले पिरोल्नु स्वाभाविक हो। अक्सिजन अभावको विषयमा जति सुन्छौं, देख्छौं र पढ्छौं त्यति आत्तिहाल्नु पर्ने अवस्था भने नेपालमा आएको छैन। सरकारले पनि संक्रमितका लागि आवश्यक पर्ने अक्सिजन अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ। अक्सिजन उत्पादन गर्ने उद्योगले पनि अक्सिजन सिलिन्डर पर्याप्त भए नेपालमै उत्पादन हुने अक्सिजनले दैनिक ३० हजार बिरामीलाई दिन सकिने बताइसकेको छ।

सरकारको प्रतिवद्धता र नेपालमा अक्सिजन अभाव नहुने मन्त्रिपरिषद्को निष्कर्ष पनि अर्थपूर्ण नै छ। अक्सिजन नेपालमै उत्पादन भइरहेको छ र यहाँ उत्पादन भएकै अक्सिजनलाई वितरण सहज बनाउन सके आवश्यक अक्सिजन खोज्न बाहिर जानु पर्दैन। यसको गतिलो उदाहरण प्रदेश १ का अस्पताल पनि हुन्। १ का १२ वटा सरकारी अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भइरहेको छ। केहीमा निर्माण सम्पन्न भएर उत्पादनको तयारी पनि गरेका छन्। केही निजी अस्पतालले त उत्पादन गरेर आफ्नो अस्पतालमा आवश्यक अक्सिजन बाहिरबाट खरिद गर्नसमेत छाडेका छन्। झापा बिर्तामोडको निजी अस्पताल मनमोहनले यसको प्रतिनिधित्व गर्छ। यहाँ दैनिक ७५ सिलिन्डर अक्सिजन उत्पादन भइरहेको छ। यसले अस्पतालमा पर्याप्त हुन्छ। यो अस्पतालले आफ्नै अक्सिजन प्लान्टबाट चार महिना अघिबाटै अक्सिजन उत्पादन गर्दै आएको हो।

झापाकै भद्रपुरमा रहेको सरकारी अस्पताल मेची प्रादेशिकमा प्रदेश सरकारकै ७५ लाख लगानीमा दैनिक ३५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट निर्माणको अन्तिम चरणमा छ। यसले अक्सिजन अभावको समयमा अझै ठुलो आशा जोगाएको छ। यो अबको एक सातामै सञ्चालनमा आउने भएकाले कोभिडका बिरामीलाई पक्कै राहत मिल्छ नै। यी सँगै प्रदेश १ का सबै अस्पतालले अब अन्य उपकरणसँगै अक्सिजन प्लान्ट पनि मुख्य हो। यो बुझेर निजी अस्पतालले पनि आफैं र प्रत्येक जिल्लाका सरकारी अस्पतालले पनि प्लान्ट निर्माणलाई तिब्रता दिनु सबैका लागि उदाहरणीय कार्य हो। अस्पतालका आफ्नै प्लान्टमा अक्सिजन उत्पादन भएपछि अस्पतालका प्रत्येक बेडसम्म पाइप पुर्‍याएर बिरामीलाई सहजै प्रदान गर्न सकिन्छ। त्यसैले प्रत्येक अस्पतालले सिलिन्डर खरिदभन्दा प्लान्ट निर्माणमा लाग्नुपर्ने देखिन्छ।
नेपालमा उत्पादन भएको अक्सिजनको ५५ प्रतिशतसम्म अक्सिजन औद्योगिक प्रयोजनमा जाने गरे पनि पछिल्लो समय कोरोना संक्रमणको तीब्र वृद्धिले यो तथ्यांक परिवर्तन भएको छ।

अहिले उत्पादनको ३० देखि ४० प्रतिशतसम्म अक्सिजन मात्रै औद्योगिक प्रयोजनका लागि गइरहेको र अझै घट्न सक्ने अनुमान गरिएको छ। सरकारले समेत अक्सिजनको प्रयोग हुने उद्योग तत्कालका लागि बन्द गर्न निर्देशन दिएकाले नेपालमै उत्पादन भएको अक्सिजन अब बिरामीमा केन्द्रित हुने देखिन्छ। नेपालमा अक्सिजनभन्दा पनि अक्सिजन भर्ने सिलिन्डर अहिले प्रमुख आवश्यकता बनेको छ।

‘आत्मबल दह्रो भए सोचे र सुरु गरेका काम मात्र होइन, रोगलाई पनि जित्न सकिन्छ’ भन्ने उदाहरण र अर्ती बुढापाकाले पनि दिँदै आएका थिए। जुन महामारी नियन्त्रणमा प्रमुख भूमिका निभाउनु पर्ने तीनै तहका सरकारलाई छ। त्यसैले अब परनिर्भर होइन, अक्सिजनमा पनि आत्मनिर्भर बन्न सुरु भएका अक्सिजन प्लान्टका योजना समयमै सम्पन्न गरौं।  प्रत्येक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण समयमै गर्न सके नेपालीले कसैसँग रोइकराई गर्न पर्दैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.