नबोली नबोलीको वर्चस्व
काठमाडौं : नेपाल म्युजिक एन्ड फेसन अवार्ड– २०७७ मा ‘नबोली नबोली’ बोलको गीतको भिडियोले बाजी मारेको छ। यो भिडियोले पाँच विधामा पुरस्कार जितेको हो। यस गीतका लागि गायक प्रवीण वेडवाल, गायिका समीक्षा अधिकारी, संगीतकार अर्जुन पोखरेल, निर्देशक विधान कार्की र मोडल सुधीर श्रेष्ठले पुरस्कार थापे।
काठमाडौंको जमलस्थित नाचघरमा सम्पन्न भएको अवार्ड समारोहमा वर्षको सर्वाधिक लोकप्रिय गीतको अवार्ड राजनराज शिवाकोटीको गीत फुलबुट्टे सारीले जितेको छ। नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड समारोह स्टार वन इन्टरटेनमेन्टको आयोजना र विलक्षण क्रिएसनको व्यवस्थापनमा भएको थियो।
अवार्ड समारोहमा आजीवन योगदान गीत साधक सम्मानबाट गीतकार उन्नति बोहरा शिलालाई सम्मानित गरियो। यस्तै १५ हजार रुपैयाँ राशिसहितको राष्ट्रिय रंग पत्रकारिता पुरस्कारबाट विदुर गिरीलाई पुरस्कृत गरियो।
समारोहमा गीतसंगीततर्फ विभिन्न ४७ विधामा अवार्ड प्रदान गरिएको थियो। लोक, आधुनिक, पप, लोकपप, राष्ट्रिय, चाडपर्व, भाषाभाषी, भेष विशेष, बालगीतमा अवार्ड प्रदान गरियो। यस्तै फेसनतर्फ विभिन्न २२ विधामा अवार्ड प्रदान गरिएको थियो।
यस्तै ‘त्यही सच्चा नेपाली’ बोलको गीतबाट रोशनी केसीले सर्वोत्कृष्ट राष्ट्रिय गीतको भिडियो निर्देशक अवार्ड जितिन् भने ‘टोपी टोपी’ बोलको गीतबाट सम्राट दाहालले सर्वोत्कृष्ट बाल मोडलको उपाधि पाए। कार्यक्रममा बेस्ट पेजेन्ट डिरेक्टर अफ दि इयर निशुकान्त झा भए।