आइसोलेसन बनाउन बेवास्ता

आइसोलेसन बनाउन बेवास्ता

इटहरी : सुनसरीका स्थानीय तहहरू आइसोलेसन सेन्टर निर्माण गर्न उदासीन देखिएका छन्। उनीहरूले कोभिड—१९ क्राइसिस मेनेजमेन्ट सेन्टर सुनसरीको आग्रहलाई समेत बेवास्ता गरेका छन्।

कोरोना भाइरसको संक्रमण बढेसँगै गत वैशाख १३ गते बसेको सेन्टरको बैठकले स्थानीय तहहरूलाई तीन दिनभित्र आइसोलेसन बनाउन आग्रह गरेको थियो। त्यसअघि १० गते पनि स्थानीय तहका प्रतिनिधिहरू बसेर आइसोलेसन बनाउने निर्णय गरेका थिए। यसरी निर्णय गरेको साता बिते पनि आइसोलेसन तयार गर्नको लागि स्थानीय तहहरूले कुनै तयारी गरेका छैनन्।

धरानमा वैशाखयता १ सय ५० जना संक्रमित भएका छन्। एक जनाको मृत्यु भएको धरान उपमहानगरपालिकाले जानकारी दिएको छ। त्यहाँको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका आईसीयू भरिएको छ। तर धरान उपहानगरपालिकाले आइसोलेसन बनाउन इच्छा देखाएको छैन।

‘होम आइसोलेसन क्वारेन्टाइन र होटल आइसोलेसन क्वारेन्टाइनलाई प्राथमिकता दिएका छौं,’ धरानका ११ होटलमा आइसोलेसन चलाउने तयारी भएको बताउँदै धरानका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले भने, ‘पोहोर पनि आइसोलेसन बनायौं तर प्रयोगमा आएन।’

उनका अनुसार हरियाली सामुदायिक वनमा २३ बेडको आइसोलेसन तयार गरिएको थियो। तर आइसोलेसन तयार गरेर सञ्चालनमा नआउँदै कोरोनाको प्रकोप साम्य भयो। त्योभन्दा होम आइसोलेसन प्रभावकारी देखिएको उनको भनाइ छ। ‘पुरानै आइसोलेसन पुनस्र्थापना गर्ने निर्णयअनुसार हामी त्यही आइसोलेसन फेरि चलाउने सोचिरहेका छौं, तर निर्णय भएको छैन,’ उनले भने।

अघिल्लो पटकको कोरोना लहरमा धरानमा ३ हजार ५ सय जना संक्रमित भएका थिए। तीमध्ये ७६ जनाको मृत्यु भएको थियो।

यता सुनसरी सदरमुकाम इनरुवामा पनि यो वर्ष तीन जनाको ज्यान गइसकेको छ। तर आइसोलेसन बनाउने आवश्यकता नपरिसकेको सूचना अधिकारी निरज पोख्रेल बताउँछन्। ‘अघिल्लो वर्ष तीन वटा स्कुल र बसपार्कमा क्वारेन्टाइन र आइसोलेसन बनाएका थियौं,’ उनले भने, ‘यो वर्ष पनि हामी आवश्यकता पर्‍यो भने तिनै आइसोलेसनलाई फेरि सञ्चालनमा ल्याउन तयार छौं।’

इटहरी रंगशालामा अघिल्लो वर्ष सय बेडको आइसोलेसन सञ्चालनमा ल्याएको इटहरीले यो पटक भने ५० बेडको आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको छ। अहिले ५० बेडको पूर्वाधार तयार गर्ने र आवश्यकताअनुसार बढाउने योजना रहेको आइसोलेसन व्यवस्थापन समितिका पूर्वअध्यक्ष भूपेन्द्र बरालले जानकारी दिए।

इटहरीमा वैशाखयता ७८ जना संक्रमितहरू देखिएका छन्, तीमध्ये तीन जना संक्रमितको ज्यान गइसकेको इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले बताए। अघिल्लो वर्ष ४६ जना संक्रमितको मृत्यु भएको थियो भने संक्रमितको संख्या २५ सय थियो।

यता सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने स्थानीय तहहरूले आइसोलेसन बनाउने तयारी गरिरहेको बताए। उनले भने, ‘म निरन्तर सम्पर्कमा छु, हामी तयारी गर्दैछौं भन्नुभएको छ, चाँडै बन्ला।’

एक साता निषेधाज्ञा
सुनसरीमा एक साता निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले वैशाख १७ गते रातिदेखि २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

सर्वसाधारणका लागि अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन र त्यसमा पनि वृद्ध र बालबालिकाहरूलाई बाहिर ननिस्कन सूचनामा भनिएको छ। विवाह तथा व्रतबन्धमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने सूचनामा उल्लेख छ।

सार्वजनिक एवं निजी सवारीसाधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने, ढुवानीका साधनहरू विषय उल्लेख गरेर सञ्चालन गर्न पाउने भनिएको छ। यस्तै जिल्लामा रहेको भन्टाबारी नाकाबाट विदेशीहरूको प्रवेश निषेध गर्ने समेत आदेश सूचनामा उल्लेख छ।

यस्तै पसलहरूलाई बिहान ११ बजेसम्म मात्र खुला गर्न दिइने भएको छ। होटलहरू बिहान ८ देखि बेलुका ८ बजेसम्म खोल्न पाउने र सोअघि पछि टेक अवे सेवा दिन सक्ने बताइएको छ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरूले कार्यालय र कर्मचारीको अवस्था हेरी अत्यावश्यक सेवाबाहेक अन्य सेवा स्थगित गर्न वा माथिल्लो निकायको स्वीकृति लिएर आलोपालो सञ्चालन गर्न भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.