कालापत्थरमा ‘स्ट्यान्डअप कमेडी’
काठमाडौं : हाँसो लामो आयुको कारण हो र स्वस्थ जीवनशैलीलाई चाहिने अत्यावश्यक ओखती। आफ्नै पारामा हास्यव्यंग्यको ठाडो शैलीलाई समातेर युवामाझ प्रिय बनेको नेपग्याजम कमेडी समूहले सगरमाथास्थित कालापत्थरमा स्ट्यान्डअप कमेडी प्रस्तुत गर्ने भएको छ।
‘प्रदूषणरहित समाजको परिकल्पना, हरअनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित नेपग्याजम मिडिया एन्ड प्रोडक्सन प्रालिले कार्यक्रम गर्न लागेको हो। यस कार्यमा नेपालको हेलिकोप्टर सेवामा अग्रणी सिम्रिक एयरको हेलिकोप्टरले उडानमा साथ दिने भएको छ। सो ‘हाई अल्टिच्युड स्ट्यान्डअप कमेडी सो गिग अन ल्यान्ड’ शीर्षकमा विश्व कीर्तिमान कायम गर्ने लक्ष्यका साथ आयोजना गर्न लागेको जनाइएको छ।
कार्यक्रम वैशाख २० गते विश्वकै सबैभन्दा उच्च शिखर सगरमाथाको फेद कालापत्थरमा सञ्चालन हुनेछ। यही विधामा इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले २५ अप्रिल २०१९ मा सगरमाथा आधारशिविर ५ हजार २ सय ७० मिटरमा स्ट्यान्डअप कमेडी गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका थिए।
नेपग्याजमले पाउलोको यो रेकर्ड तोड्न कालापत्थरको ५ हजार ६ सय ४३ मिटरक उचाइमा स्ट्यान्डअप कमेडी प्रस्तुत गर्न लागेको हो। त्यसका लागि दुई स्टयान्डअप कमेडियनलाई प्रस्तुत गरिनेछ। कमेडी प्रस्तुतिका लागि नेपग्याजमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट अनुमतिसमेत पाइसकेको छ।
नेपग्याजमका संस्थापक कलाकारद्वय उमेशकुमार गौतम (यूकेजी) र लेखमणि त्रिताल (रमेश अंकलको छोरो)ले स्ट्यान्डअप कमेडी प्रस्तुत गर्नेछन्। ‘उहाँहरूले स्वस्थ मनोरञ्जनात्मक सामग्री समेटिएको ३०–३० मिनेटका दुईवटा स्ट्यान्डअप कमेडी प्रस्तुत गर्ने कार्यक्रम छ’, नेपग्याजमका संस्थापक निर्देशक शरद श्रेष्ठले भने।
नेपग्याजमका अर्का संस्थापक निर्देशक ज्ञानेन्द्रराज मिश्रले उत्साहित रहेको बताए। ‘नेपाली हास्यव्यंग्यको स्तर अन्तर्राष्ट्रिय मनोरञ्जन बजारमा पुर्याउनु र प्रदूषणरहित विश्व समाजको सन्देश बोकेको कार्यक्रमका लागि आठ जनाको टोली सिम्रिक एयरको हेलिकोप्टरमार्फत कालापत्थर पुग्ने र त्यहाँ पुगेर स्वस्थ्य मनोरञ्जन पस्किने हाम्रो तयारी छ’, संस्थापक निर्देशक मिश्रले भने।
कलाकार गौतमले विश्वकै अग्लो भूभागमा प्रस्तुति दिनु आफ्ना लागि मात्रै नभई सबै नेपालीका लागि गर्वको विषय भएको बताए। यस्तै अर्का कलाकार त्रितालले कोरोना, राजनीतिक खिचातानी, बेरोजगारीजस्ता समस्याले तनावपूर्ण अवस्थामा केही सुखद समाचार दिऊँ भन्ने चाहनाका साथ प्रस्तुति दिन लागेको बताए।