जीडीपी चार प्रतिशत

जीडीपी चार प्रतिशत

काठमाडौं : कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ४ प्रतिशतले वृद्धि हुने देखिएको छ। चालू आर्थिक वर्षका ९ महिनासम्मका आर्थिक आकलन हेर्दा ३.९८ प्रतिशतले वृद्धिदर हुने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण छ। 

विभागका अनुसार गत आर्थिक वर्षमा अर्थतन्त्र २.१ प्रतिशतले संकुचन भएको र आर्थिक वर्ष २०७५/०७६ मा ६.३९ प्रतिशत रहेको अन्तिम अनुमान छ। विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसबाट बच्न चैत्रदेखि गरिएको लकडाउनका कारण गत वर्ष अर्थतन्त्र खुम्चिएको थियो। गत वर्ष  होटल तथा हस्पिट्यालिटी क्षेत्र, यातायात, थोक र खुद्रा व्यापार, औद्योगिक उत्पादन, निर्माण र खानी तथा खनिजको क्षेत्र अति प्रभावित भएकाले अर्थतन्त्र खुम्चिएको थियो। 

चालू आर्थिक वर्षका ९ महिनाको तथ्यांक हेर्दा अर्थतन्त्र सकारात्मक देखिए पनि अबको अर्थतन्त्र कस्तो हुने भन्ने आकलन गर्न सकिने स्थिति छैन। पछिल्लो समयमा कोरोना भाइरस तीव्रगतिमा फैलिरहेकाले अर्थतन्त्रमा गिरावट आउन सक्ने अर्थविद्हरूको आकलन छ। 

अर्थविद् ज्ञानेन्द्र अधिकारीले अहिलेसम्म अर्थतन्त्र सकारात्मक देखिए पनि कोभिडको जोखिम व्यापक हुँदै गएकाले समस्या आउन सक्ने बताउँछन्। ‘वित्तीय क्षेत्रबाहेक कुल गार्हस्थ्य उत्पादनमा समग्र अर्थतन्त्रमा सकारात्मक छैन’ उनले भने।

सही समयमा पानी पर्दा मात्रै पनि आर्थिक वृद्धिदर केही बढ्छ। असार साउनमा सही समयमा पानी पर्दा २ प्रतिशतसम्म आर्थिक वृद्धिदर बढ्ने भए पनि अहिलेको आर्थिक सूचक उपलब्धि हासिल गर्न सकिने नदेखिएको उनले बताए। ‘कोभिडको दोस्रो लहर कहिलेसम्म जान्छ भन्न सकिने अवस्था छैन’ उनले भने, ‘आर्थिक वर्षको अन्तमा अर्थतन्त्र ऋणात्मक हुन्छ।’ विभागका अनुसार प्राथमिक क्षेत्रभित्र चालू आर्थिक वर्षमा धान उत्पादनमा वृद्धि भएकाले गत आर्थिक वर्षभन्दा बढी वृद्धिदर छ। द्वितीय क्षेत्रअन्तर्गत उद्योग, विद्यु्त, ग्यास, पानीमा अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ४.९३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। 

कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रले ६१.१ प्रतिशत योगदान दिएकोे छ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा सेवा क्षेत्रको मूल्य अभिवृद्धि स्थिर मूल्यमा ४.४३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। 

चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रहरू कृषि, वन र मत्स्य क्षेत्रको योगदान २६.४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। त्यस्तै द्वितीय क्षेत्रमा पर्ने उद्योग र विद्युत् तथा ग्यास, पानीको आपूर्ति तथा निर्माण क्षेत्रले कुल गार्हस्थ्य  उत्पादनमा १२.५ प्रतिशत हुने विभागको अनुमान छ। 

विभागले कोरोना महामारी फैलिइरहेको अवस्थालाई मध्यनजर गरी प्रक्षेपण गरेको जनाएको छ। चालू आवमा आर्थिक वृद्धि धनात्मक हुने प्रक्षेपण गरिए पनि कोभिडको असरले प्रक्षेपणमा असर गर्न सक्ने देखिएको छ। विभागले चालू आवको अन्तिमसम्म अर्थतन्त्र चलायमान हुने उल्लेख गरेको छ। होटल, रेस्टुरेन्टलगायत क्षेत्रमा कोरोनाको असर आर्थिक वर्षको अन्तसम्म देखिने प्रक्षेपण गरिएको छ।

कोभिडका कारण दुई हप्तासम्म मात्र निषेधाज्ञा भए अर्थतन्त्रमा खासै असर नपर्ने र अर्थतन्त्र चलायमान हुने विभागले विश्वास लिएको छ। आवास तथा भोजन सेवामा तत्काल सुधार हुन नसकिए पनि अन्य क्षेत्रमा छिट्टै सुधार हुने भएकाले दुई हप्ताको निषेधाज्ञाले अर्थतन्त्र नकारात्मक नहुने भने पनि संक्रमण फैलँदो क्रममा रहेकाले कहिलेसम्म निषेधाज्ञा हुन्छ भन्न नसकिने अवस्था छ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) २०७७–७८ मा ३९ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। चालू आर्थिक वर्षमा वस्तु र सेवाको आयात जीडीपीको ३२.८३ र निर्यात ५.०८ प्रतिशत छ। 

स्वदेशमा उत्पादन बढ्न सकेको छैन। जसले गर्दा प्रतिवर्ष व्यापारघाटा बढिरहेको छ। उद्योगी व्यवसायीमा स्वदेशमै उत्पादनमा जोड दिनुको सट्टा विदेशी सामान आयात गरेर बेच्ने प्रवृत्ति बढ्दै गएकाले अर्थतन्त्र अपेक्षाकृतरूपमा बढ्न सकेको छैन। प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादनमा १ हजार १ सय ९१ अमेरिकी डलर पुगेको छ।  हालसम्म प्राप्त अध्ययनहरूको अनुमान गर्दा चालू आवमा उपभोक्ताको मूल्यमा ४.०१ प्रतिशतले समष्टिगत आर्थिक वृद्धि हुने विभागले भनेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.