हिमालको काखमा तिलिचो
तिलिचो ताल निलगिरी, मुक्तिनाथ र अन्नपूर्ण हिमश्रृंखलाको काखमा रहेको छ। तिलिचो सुन्दर छ, मनमोहक छ।शिवले तपस्या गरेको र कागवेसिनी ऋषिले ज्ञान प्राप्त गरेको हुनाले यसको धार्मिक महत्व पनि उत्तिकै रहेको छ।
तिलिचो आधार शिविरमा चिसो सिरेटो चलिरहेको थियो। रातको निस्तब्धतालाई चिर्दै मस्र्याङ्दी सुसाइरहेको थियो। छिप्पिसकेको रातको दसैंको मोहनीझैं कालो रङमाथि बिहानीको उज्यालो रङ पोतिँदै थियो।उज्यालो रङ पाएर सेता हिमाल मुस्कुराउन खोज्दै थिए।
हामी भने साढे तीन बजे नै तिलिचो यात्राका लागि तयार भयौं। आवश्यक औषधि, सुख्खा खाना र पानी मात्र बोकी अगाडि बढ्यौं। बाहिर पूरै अँध्यारो निष्पट थियो। टर्च बाल्दै अगाडि बढ्यौं। अगाडि र पछाडि तिलिचो पुग्नेको लर्को थियो। पिलपिल बत्ती बाल्दै लस्करै यात्रुहरू आनन्दको सपना चुम्न हिँडिरहेका थिए। त्यो मानव मसालको लर्को थियो। तिलिचो पुग्न आतुर आत्माहरूको लाम थियो।अँध्यारोमा बाटो कस्तो थियो,केही थाहा भएन। तर उकालो भने थियो। सुस्तरी अगाडि बढ्यौं।
साँझ साढे छ बजे बाइसघुम्ती पुग्यौं। ओहो ! त्यो पहाडको काँध चढ्दै उक्लनुपर्ने २२ घुम्ती ! थकानले जित्दै आइरहेको थियो। तैपनि त्यसलाई हावी हुन दिइनँ। सुस्तरी अगाडि बढें। एउटा घुम्ती पार गर्दै, आराम गर्दै अगाडि बढें। कोही साथी अगाडि पुगिसकेका थिए, कोही सँगै त कोही पछाडि। उचाइको ठाउँ लेक लाग्ला भन्ने मनोवैज्ञानिक त्रास पनि थियो। त्यसैले लसुन चपाउँदै हिँडे। साथीहरूले भने कोक पिए। बाइसघुम्ती कटेपछि अलि तेर्सो बाटो आयो। त्यसलाई पार गरेपछि त सपनाको केन्द्रविन्दुमा पुग्यौं। त्यसबेला घडीमा साढे सात बजेको थियो।
‘आहा !, क्या सुन्दर।’ ताल देखेर मोहित भएँ। थकान पनि गायब भएझैं भयो। तालको सौन्दर्य लुट्नेहरू फोटो खिचिरहेका थिए। त्यसमा पनि कोही राष्ट्रिय झण्डा बोकेर, कोही उफ्रेर, कोही जीउको बोक्रा छोडाएर। हिमालको काखैमा रहेको सुन्दर ताल अनि त्यहाँको निलो पानीले जो कोहीलाई पनि मायाको पासोमा लपेट्थ्यो। तिलिचो ताल नेपाल चिनाउने सुन्दर आभूषण मध्येको एक हो। यसलाई संसारकै अग्लो स्थानमा रहेको तालको नामले पुकारिन्छ। यो समुद्री सतहबाट ४९१९ मिटरको उचाइमा रहेको छ। यसको लम्बाइ ३.९ किमी, चौडाइ १.६ किमी, गहिराइ ८५ मिटर र क्षेत्रफल ४.८ वर्गकिलोमिटररहेको छ।
तिली ताल रहेको ठाउँको नाम हो। मनाङेहरू ताललाई छो भन्छन्। यसरी तिलिछोको अप्रभंश भई तिलिचो रहन गएको हो। शिवले तपस्या गरेको र कागवेसिनी ऋषिले ज्ञान प्राप्त गरेको हुनाले यसको धार्मिक महत्व पनि उत्तिकै रहेको छ। तिलिचोताल निलगिरी, मुक्तिनाथ र अन्नपूर्ण हिमश्रृंखलाको काखमा रहेको छ।तिलिचो सुन्दर छ। तर दायाँतिर नाङ्गो पहाडको सुख्खा पहिरोले ताल पुरिँदै थियो।सुख्खा चट्टाने पहाडमा हिउँ थिएन। कतै यसरी नै पुरिँदै तालको अस्तित्व नामेट हुने त होइन ?
तालवरपर कुनै बस्ती थिएन। ताल नजिक एउटा सानो चियापसल छ। तर पनि यात्रुले ल्याएका सुख्खा खानाका प्याकेट, प्लाष्टिक, बोतल, चाउचाउका खोल आदि जथाभावी फ्याँक्दा ताल फोहोर हुँदै थियो। सुन्दर ताल हेर्न आउनेहरू स्वयं ताललाई कुरूप बनाउँदैछन्।‘हामीले त तालमा कण्डम पनि भेट्टायौं’, फोटो खिच्न परसम्म गएर आएपछि बालकृष्णले तालमा फोहोरदेखेर चिन्तित हुँदै भने। यो भन्दा दुःखलाग्दो कुरा अरू के हुन सक्ला र ? ताललाई व्यवस्थित बनाई यसको सुन्दरता कायम नराख्ने हो भने यसको आकर्षण घट्ने छ। यो हाम्रा लागि बिडम्बना सावित हुनेछ।
धेरैबेर तालको सौन्दर्य लुटें, त्यसलाई कैद गरें, आँखामा सजाएँ अनि मनभित्र पनि कैद गरें। हिउँमा पाइलाका डोबहरू बनाएँ। सेता हिमालको सुन्दरतालाई अघाउञ्जेल हेरें। थकानलाई सुन्दर तालको गहिराइमा लुकाएँ। एघार–बाह्र बजेदेखि त चिसो हावा चल्दोरहेछ। हावा चल्न थालेपछि त्यहाँबाट फर्कियौं।बिहान जाँदा उकालो चढ्न कठिन भएको थियो, फर्कंदा भने ओरालो बाटो झन् कठिन भयो। ढुंगे चट्टानको भीर, बाइसघुम्ती ओर्लंदा त खुट्टा नै लरखराउन थाल्यो। आधारशिविर आइपुग्दा पेटमा मुसाले लडाइँ चलिसकेको थियो। हामीलाई आजको गन्तव्यमा पुग्नु थियो। त्यसैले खानु छ भन्ने बिर्सिएर अघि बढ्यौं। आफूसँग भएका चाउचाउ, बिस्कुट र चकलेटले गर्जो टार्यौं। भोकको क्षेत्रफल घटाउन खोज्यौं।
‘हामी ठाउँ भए श्रीखर्क र नभए खाङसार पुग्नैपर्छ। त्यसैले यहाँ नबसौं, हिँडौं।’ बालकृष्णले गन्तव्यमा अगाडि बढ्न प्रेरित गर्दै भने। समय अगाडि बढ्दै थियो। त्यसलाई पछ्याउन थाल्यौं। पाइला नाप्दै गन्तव्यमा पुग्न हतारिएका थियौं। तेर्सो बाटोलाई पछाडि पार्दैअगाडि बढ्यौं। साँझ पाँच बजे माथिल्लो श्रीखर्क पुग्यौं। त्यहाँ एउटै होटल थियो। कोठा सोध्यौं। तर थिएन। त्यसपछि फेरि तल्लो श्रीखर्कसम्म हिँड्यौं।
‘साहुजी, कोठा छ ?’ बालकृष्णले सोधे।
‘कोठा त बाँकी छैन। डाइनिङ हल बाँकी छ।’ साहुजीले जवाफ दिए।
‘के गर्ने त साथीहरू?’ हामीतिर फर्केर बालकृष्णले सोधे।
‘अब त्यसमै भएपनि बस्नुपर्ला।’ हामी त्यहीँ बस्यौं। सबैलाई थकाइ लागेको थियो। खुट्टा पनि दुःखेको थियो। एकदुईजनालाई त टाउको दुःखेको थियो र चिसो पनि लागेको थियो। सके त खाङ्सार नै पुग्ने योजना थियो। तर त्यसलाई थाँती राखेर तल्लो श्रीखर्कमै बस्यौं। सबैले खाना खाइनसकुञ्जेल कुरेर बस्यौं। सबैले खाना खाइसकेपछि भने साहुजीले भने,‘एक समूह केटीहरू बिरामी भएर आएका छन्। उनीहरूलाई डाइनिङ हलमा राख्यौं।तपाईंहरू बाहिर टेन्टमा सुत्नुहोला।’
‘हामीलाई त झुक्यायो। त्यस्तो गर्न पाइन्छ ?’ सबैले भने। तर के गर्नु विकल्प पनि त थिएन। हामी टेन्टमा नै सुत्न गयौं। ओढ्ने, ओछ्याउने दिए। टेन्ट अलि ठुलै थियो। ३४ जना थियौं। कोच्चिएर सबैले त्यहीँ खुट्टा पसारे। बाहिरबाट चिसो पसिरहेको थियो। एक समूह केटाहरू भेज र ननभेज गफ गर्दै हाँस्दै थिए। उनीहरू निर्धक्क गफको पोको फुकाउँदै थिए। मलाई त असजिलो लागेको थियो। गुन्द्रुक खाँदेझैं खाँदिएँ। थकानले गर्दा त्यो हलिखलीको मतलब पनि भएन।निद्रादेवीले बोलाउनासाथ म बालक बबुरोझैं लाडप्यारले उनको न्यानो काखमा गुटमुटिएँ।
भोलिपल्ट खाङ्सारसम्म हिँडेर आयौं। त्यहाँबाट बेसीसहरसम्म बुलेरो जिपमा आयौं। बेसीसहर आइपुग्दा अँध्यारोले एकछत्र राज गरिसकेको थियो। त्यसैले हामी त्यहीँ बास बसेर भोलिपल्ट घर फर्कियौं।
खलीमुलीले निधनअघि फुर्सदका लागि पठाउनुभएको तिलिचो यात्रा प्रकाशन भएको हो। उहाँलाई हार्दिक श्रद्धाञ्जली !