डाक्टरी अक्षर !

डाक्टरी अक्षर !

कक्षा आठ। एक दिन अंगे्रजी पढाउने जयलक्ष्मी गुरुमाले कक्षाकार्यको मेरो कापी हेर्दै ‘डाक्टरी अक्षर’ भन्दा मख्ख परेको थिएँ। त्यो बेलासम्म मैले डाक्टर देखेकै थिइनँ। डाक्टर पनि मान्छे नै हो भन्नेसम्म चाहिँ थाहा थियो तर ती अर्कै खाले मान्छे हुन् भन्ने बुझाइ थियो। गुरुमाले मेरा अक्षरलाई डाक्टरी अक्षर भनिदिए पछि धेरै दिनसम्म मेरा खुट्टा भुइँमा अडिएनन्। मलाई घरि न घरि लागिरह्यो, ‘मेरा अक्षर डाक्टरी अक्षर’, ‘म डाक्टर जत्तिकै’। म चराजस्तै उडिरहें, फुर्किएर, फुलिएर।

त्यसताका निकै छिटो लेख्थें। कक्षा नौ दशमा पढ्दा शिक्षकले भनेका कुराहरू सरासर लेख्न सक्ने भइसकेको थिएँ। कालोपाटीमा लेखिएका कुरा कापीमा नहेरी, पाटीमा मात्रै हेरेर, टिपोट गर्न सक्थें। जाँचमा टन्नै कापी थप्थें। एसएलसीमा स्टिच मेसिनले झन्डैझन्डै च्याप्न नभ्याएको। जहिल्यै पनि जाँच सकेर बाहिरिँदा लाग्थ्यो, पूर्णांक कै छेउछाउ अंक आउला। नजानेको केही छैन, नलेखेको कुनै होइन। रिजल्ट आउँथ्यो, झन्डैझन्डै फेल। उत्तरी भोजपुर जिल्लाको केन्द्र दिङ्ला। रुद्राक्षको राजधानी। बालागुरु षडानन्द अधिकारी जन्मिएको ठाउँ। उनले १९३२ सालमा खोलेको संस्कृत गुरुकुल, १९१० सालमा खुलेको दरबार स्कुलपछि नेपालको पहिलो औपचारिक विद्यालय भनेर लोकसेवाको परीक्षामा सोधिने स्कुल षडानन्द मावि। त्यसैसँग आँगन जोडिएको अरुण माविबाट एसएलसी पास गरेर क्याम्पस पढ्न धनकुटा पुगें। हुलाक टोलमा धनपाल राईको घरमा डेरा थियो। चारकोठे घर क्याम्पस पढ्ने केटाहरूले भरिएको थियो।

गुरुमाले कक्षाकार्यको मेरो कापी हेर्दै ‘डाक्टरी अक्षर’ भन्दा मख्ख परेको थिएँ। त्यो बेलासम्म मैले डाक्टर देखेकै थिइनँ। डाक्टर पनि मान्छे नै हो भन्नेसम्म चाहिँ थाहा थियो तर ती अर्कै खाले मान्छे हुन् भन्ने बुझाइ थियो। गुरुमाले मेरा अक्षरलाई डाक्टरी अक्षर भनिदिए पछि धेरै दिनसम्म मेरा खुट्टा भुइँमा अडिएनन्।

क्याम्पसमा पढाउने सरका तरिका खालखालका। कुनै सर ह्रस्व, दीर्घ, फुलस्टप, कमा समेत रिट्ठो नबिराइ लेखाइदिन्थे। कुनै सर मुख्य मुख्य बुँदा मात्रै भनिदिन्थे, कुनै पाटीमा लेखिदिन्थे। कुनै सर पाठ भट्याउथे मात्रै, सारांश मात्रै भन्या हो कि विस्तृतमा भनेको, बुझ्नै नसकिने, आफैंले टिपोट गर्नुपर्ने। हामी नोट गर्ने भन्थ्यौं। सरले भनेका सबै खाले कुरा सरासर लेख्थें। धेरै साथी सरले भनेजति लेख्न सक्दैनथे। आफूले लेख्न छुटाएको कुरा साथीको नोट मागेर सार्थें। भन्थें, ‘मैले त सबै लेखें।’ मेरो नोट माग्ने क्रम बढ्यो। नोट सार्न खोज्ने जो पनि भन्थे, ‘हैन हउ के लेखेको ? पटक्कै बुझिनँ त !’ मलाई अचम्म लाग्न थाल्यो। डाक्टरी अक्षर पनि नबुझ्ने ?

मेरो लेखाइप्रति सबै साथीको टिप्पणी एउटै हुन थाल्यो, ‘बुझिनँ’। बिस्तारै त्यस्ता प्रतिक्रियाले मलाई चस्सचस्स घोच्न थाल्यो। धेरैजनाले त्यसै भनेपछि एक दिन आफूले लेखेको नोट पढ्न खोजेको बुझे पो, के हो के ! आफैंले नबुझ्ने अक्षर साथी के बुझोस् ! त्यसै सेरोफेरोमा क्याम्पसमा एकजना सरले भने, ‘डाक्टरको अक्षर कसैले बुझ्दैन। आफैंले पनि बुफ्छ बुझ्दैन। तर दवै दोकानेले चै बुझ्छ, अचम्म !’ बल्ल बुझें, ‘डाक्टरी अक्षर !’ भनेको। कसैले नबुझ्ने अक्षरलाई डाक्टरी अक्षर भनिँदोरहेछ। यो मख्ख पर्नुपर्ने कुरा होइन रहेछ। त्यसपछि मलाई मेरा अक्षरदेखि बेस्मारी रिस उठ्न थाल्यो। आफ्नो अक्षर अरूलाई देखाउन अप्ठ्यारो लाग्न थाल्यो। बिस्तार लाज लाग्न थाल्यो। साथीलाई आफ्नो नोट देखाउन छोडिदिएँ। केटीदेखि त झनै सावधान हुन थालें, कतै देखिहाल्ने हो कि, डराउन थालें। साथीले सोध्यो भने मेरो जवाफ हुनथाल्यो, ‘मैले पनि लेखेको छैन।’

लामो समय तनावमा रहें। निद्रा लाग्न छोड्यो। निदाइहाले पनि झस्किन थालें। घोर निरासाले समात्यो। सोचें, यसरी त पार लागिँदैन। अक्षर त सुधार्नै पर्छ। कोशिष गरें। दैनिक दुई घण्टा समय छुट्याएँ, अक्षर राम्रो बनाउन। उक्त दुई घण्टामा एक घण्टा अंग्रेजी र एक घण्टा नेपालीको अभ्यास गर्न थालें। पूरै समय पाठ सार्ने मात्रै। कैयौ पन्ना कागज केरें। केही सुधार भएन। यसरी पो राम्रो हुन्छ कि सोच्यो, गर्‍यो। उसरी पो राम्रो हुन्छ कि भन्यो, गर्‍यो। औंलाका टुप्पामा फोका उठे। फोका सुकेर जोतुवा गोरुको काँधजस्ता अरट्ठ भए। केही लछारपाटो चलेन। जति कोसिस गरे पनि मेरा अक्षर राम्रा त भएनन् नै बरु मेरो लेखाइको स्वाभाविक गति गुम्यो। करिब दुई महिनाको अनवरत अभ्यासपछि पनि न छिटो लेख्न सक्ने अवस्थामा पुगें न अक्षर नै राम्रा भए। उल्टै गति पनि ढिलो र स्वरूप झन् नराम्रो। हाँसको चाल न बक्कुलाको। जर्ज बनार्ड शाबारेको किस्साजस्तो।

उन्नाइसौं र बिसौं शताब्दीका विश्वविख्यात दार्शनिक, नाटककार, सय किताबका लेखक शालाई एउटी विश्व सुन्दरीले विवाहको प्रस्ताव राखिछन्। शाले सोधेछन्, ‘तिमी त्यति सुन्दर छ्यौ। म यस्तो कुरूप छु। तिमीजस्ती सुन्दरीले मजस्तो कुरूपसँग विवाह गरेर तिमी के पाउँछ्यौ ?’ सुन्दरीले जवाफमा भनिछन्, ‘म सुन्दर छु। तपाई बुद्धिमान्। यदि हामीले विवाह गर्‍यौं भने हाम्रा छोराछोरी तपाईजस्ता बुद्धिमान् र मजस्ता सुन्दर हुनेछन्। अदभूत हुनेछन्। उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने मानिस विश्वमा कोही हुने छैन, चाहे बुद्धिमा होस् चाहे सुन्दरतामा।’ शाले भनेछन्, ‘उल्टो पनि हुनसक्छ नि। हाम्रा छोराछोरी म जस्तो कुरूप र तिमीजस्तो बुद्धु पनि हुनसक्छन् नि ! त्यो त झन् बर्वाद हुनेछ।’

जाँचका उत्तरपुस्तिका जाँचकीहरूले कसरी मलाई अंक दिन्थे मैले अहिलेसम्म बुझेको छैन। अहिले आएर मलाई यो विश्वास र पछुतो दुवै एकै चोटी हुन्छ, यदि मेरा अक्षर राम्रा भएका भए परीक्षाहरूमा समकालीन प्रथम, दोस्रोहरू जत्तिकै अंक ल्याउन सक्ने थिएँ कि ? अक्षरकै कारण मैले स्कुल जीवनभर ‘पास’भन्दा माथि जान सकिनँ। पढाइ, परीक्षा, रिजल्ट अनि अर्को कक्षा यस्तै चलिरह्यो। एउटै कक्षामा धेरै वर्ष थन्किनु परेन। अब्बल पनि भइनँ। साथीहरू र शिक्षकहरूको नोटिसमा कहिल्यै परिनँ। परीक्षामा सकेसम्म अक्षर राम्रा बनाएर लेख्न थालें। त्यसले प्रश्नहरू छोडिन थाले।

हरेक परीक्षामा दस बिस अंकको उत्तर लेख्न नसक्ने हुन थालें, जान्दा जान्दै पनि। कम्प्युटर सिकेपछि कलमले लेख्नेभन्दा टाइप गर्नमै जोड दिन थालें। तैपनि विश्वविद्यालयको परीक्षा त हातैले, कलमले नै लेख्नु पर्‍यो। पढिसकेपछि जागिरको जाँच हातैले लेख्नु पर्‍यो। त्यहाँ त पास फेलको कुरा होइन, प्रतिस्पर्धाको कुरा हुन्छ। हालत बेहाल। अक्षरले मलाई धोका दियो भनेर कसरी भन्नु ? मैले आफैंले आफैंलाई पटकपटक धोका दिएँ, किनभने मलाई धोका दिने अक्षर मेरा आफ्नै थिए।

मेरो मात्रै होइन, समकालीन धेरै साथीका अक्षर नराम्रा भए। सरकारी स्कुलमा पढ्ने पछिल्लो पुस्ताको अक्षर त दयालाग्दो देख्छु। पहिलेका खासखास शिक्षकबाट सुरु अक्षर सिकेकोहरूको छापाजस्तै राम्रा अक्षर छन्, दुईचार कक्षा मात्रै पढेकाको पनि। हाम्रा गाउँमा सोताङ्गे मास्टरले पढाएकाहरूको राम्रा अक्षर छन्। उनीहरू सम्झिन्छन्, सोताङ्गे मास्टर केटाकेटीको अक्षरमा खुब ध्यान दिन्थे। बालमैत्री शब्द पनि नेपालीमा बनेको थिएन उबेला, शैली त गोरुघोडालाई जस्तै चुट्ने हो। चुटेरै आफ्ना विद्यार्थीको अक्षर राम्रा बनाए सोताङ्गे मास्टरले। राईको छोरा भए पनि बाहुनले सांस्कृतिक रूपमा एकाधिकार पाएको चिना लेख्ने काम गर्थे उनी, बाँसको चोबुवा कलमले लेखेका उनका अक्षर किताबका जस्तै हुन्थे।

पहिलो पुस्ताका शिक्षकहरू कि त गोर्खा फौजबाट अवकासप्राप्त सैनिकहरू कि त बनारसमा संस्कृत पढेकाहरू थिए। उनीहरू कडा अनुशासनलाई जोड दिन्थे। चुटेरै सही, उबेलाका शिक्षक विद्यार्थीका अक्षर छापाजस्तै बनाउन जोड दिन्थे। त्यसैले सानै कक्षामा विद्यार्थीका अक्षर राम्रा बनिसक्थे। राम्रा अक्षर हुनेहरू शिक्षकका प्रसंसाको पात्र बन्थे, साथीहरू माझ आकार्षणका केन्द्र बन्थे। त्यसैले विद्यार्थीहरूमा अक्षर राम्रो बनाउन प्रयास गर्थे।

उबेला आकर्षणको एउटा साधन बन्थ्यो, अक्षर। प्रेमपत्रको युग थियो। सानो कक्षामै पनि उमेर ठुलो भइसकेको हुन्थ्यो। आफूले मन पराएको मान्छेको विश्वास जित्न अत्यन्तै मिहिनेतका साथ राम्रा अक्षर बनाएर प्रेमपत्र लेख्नु जरुरी ठानिन्थ्यो। कमसल अक्षर हुनेहरू हीनताबोध गर्थे, राम्रा अक्षर हुनेलाई प्रेमपत्र लेख्न लगाउँथे। शिक्षकको चुटाइ र प्रेमरसको संगमले धेरैजसोका अक्षर राम्रा बन्थे। म परें अक्षर बनाउने खालको, चुटाइ पनि नखाएको, स्कुल पढुञ्जेल प्रेमपत्र लेख्ने उमरै नपुगेको।

डिजिटल प्रविधिको बिस्तारले चिठीचपेटाको हस्तलिखित हुलाकी युगलाई समाप्त पार्‍यो। प्रेम अभिव्यक्तिको माध्यम फेरियो। मोबाइल कल, मिस कल र मेसेजले ठाउँ लियो। अहिलेको सोसियल मिडियाको जमानामा हस्तलिपिको महत्त्व झन् साँघुरियो। प्रेम अंकुराउने उमेरमा अब हाते अक्षरको आवश्यकता नै परेन। अहिलेका विद्यार्थी पुस्ता कापीकलममा भन्दा बढ्दा समय स्मार्टफोनमा खेल्छन्। विद्यार्थीले राम्रा अक्षर बनाउनु पर्ने आवश्यकता नै महसुस गर्न छाडे। अचेलका विद्यार्थीका अक्षर कमसल हुनुमा प्रेमपत्रको युग पराजित हुनुमात्रै सबैथोक होइन तर एउटा महत्त्वपूर्ण कारण चाहिँ हो।

हाम्रो शिक्षा दुुई खाले भयो। सरकारी स्कुलहरूले विद्यार्थीका अक्षरको स्तरलाई कहिल्यै ध्यान दिएनन्। त्यस्ता कुरा खासखास शिक्षकहरूमा सीमित भए, जस्तै सोताङ्गे मास्टर। भर्खरै लेख्न सिक्दै गरेकाहरूका लागि नेपाली, अंग्रेजी र गणितका लागि छुट्टाछुट्टै कापीहरू पाइन्छन् तर सरकारी स्कुलहरूले संस्थागत रूपमा प्रयोग गर्दैनन्। त्यसैगरी कुराहरूको क्रमांक कसरी गर्ने, शीर्षक–उपशीर्षकहरू कसरी लेख्ने, बुँदा–उपबुँदाहरू कसरी मिलाउने, नेपालीमा मिति कसरी लेख्ने, अंग्रेजीमा कसरी, अनुच्छेद छुट्याउन किन जरुरी, कसरी छुट्याउने, किनारा (मार्जिन) आदिजस्ता लेखाइका साजसज्जासम्बन्धी कुराहरू सिकाउनेतर्पm ध्यान दिइँदैन। यसले बच्चाहरूको व्यवहार बस्छ, लटरपटर लेख्ने। राम्रा भनिएका विद्यार्थीका लेखाइ पनि कि त सिन्कीझैं खाँदिएका वा आकाशका ताराहरूझैं छरपस्टिएका। यसले गर्दा जीवन निर्माण गर्ने पाइलाहरूमा उनीहरू ठक्कर खान पुग्छन्। जो मैले पटकपटक भोगें।

महात्मा गान्धीले आफ्नो आत्मकथामा लेखेका छन्, ‘नराम्रो अक्षर अधुरो शिक्षाको चिन्ह्र हो।’ गान्धी अगाडि लेख्छन्, ‘अक्षर राम्रा बनाउन विद्यार्थीलाई सर्वप्रथम चित्रकला सिकाउनु पर्छ। जसरी चराचुरुंगी तथा पशुहरूलाई देखेर बालकले तिनको याद गर्छन् र सजिलै तिनलाई चिन्दछन् त्यसैगरी अक्षर चिन्न सिक्छन्। जब चित्रकला सिकेर चित्रहरू बनाउन थाल्दछन् त्यसैबेलादेखि अक्षर लेख्न सिके भने उनीहरूका अक्षर छापाझैं हुन्छन्।’ निजी स्कुलहरूमा सानैदेखि चित्रकला सिकाइने हुनाले पनि अधिकांशका अक्षर राम्रा भएका हुन्, साथै विद्यार्थी राम्रो अक्षर हुनुलाई निजी स्कुलहरू आफ्नो साखको विषय ठान्छन्।

‘दिनभरिको मौसम सूर्योदयले जनाउँछ’ भन्ने भनाई सत्य हो। केटाकेटीहरूको भविष्य सुरुआती अवस्थाको अक्षरले निर्धारण गर्छ। समय ढल्केपछि सुधार हुन कठिन हुन्छ। त्यस्तो प्रयासको साक्षी म आफैं हो। गणेश रसिकको संस्मरण संग्रह दशगजामा उभिएर मा भने जस्तो। त्यसमा उल्लेख भएअनुसार उनी काठमाडौंको आफ्नो घर बेचेर अन्तै भाडामा बस्न थालेछन्। कार्यालयबाट फर्किदा उनका अभ्यस्त पाइला धेरै दिनसम्म बेचिसकेको घरको ढोकामा पुगे। नयाँ डेरातिर खुट्टालाई बानी पार्न महिनौ लाग्यो। जो मैले भोगें।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.