सपनाका रंगहरू
जीवनलाई पछाडि फर्केर हेरेकै रहेनछु। समयले यति छिटो गति लिएको रैछ, ख्यालै भएन। दिदीले भनेको यही वाक्य ‘समयले कसैलाई पर्खदैन, समयलाई समयमै चिनेको राम्रो।’ यिनै शब्दलाई दिमागमा सुरक्षित सजाएर ठ्याक्कै पाँच वर्ष पहिले सपनामय आँखा लिएर पढाइको तिर्खा मेटाउन राजधानी पसेकी थिएँ। किन किन सानैदेखि पढ्यो भने ‘चाहेको सबै पाइन्छ’ जस्तो लाग्थ्यो तर समयले बल्ल सिकाउँदैछ। आखिर जीवन एक सिकाइ त रहेछ।
मान्यताले समाजको मूल्यमान्यता तोडेर प्लस टूको परीक्षा सक्नेबित्तिकै भागेर बिहे गरी। केही समय ऊ नै बहस र गफको विषय हुन्थी धेरैका लागि। सायद कुनै पुरुषबाट एउटा पनि प्रेम प्रस्ताव नआएर होला मलाई भने आफूप्रति कोही आकर्षित नभएकोमा ग्लानि महसुस हुन्थ्यो।
आज ठिक पाँच वर्षपछि मान्यतासँग भेट भयो। उसको यो परिवर्तनले छाँगाबाट खसेसरह भएँ। आकाश पातलको फरक थियो उसमा। सुन्दर, मिलेको जिउडाल, आकर्षणकी केन्द्रबिन्दु पहिलेकी मान्यता त कहाँ अहिले ज्यान सुकेर लौरीजस्तै ! चमकता चञ्चलता केही बाँकी नभएकी निकै निरीह मान्यता। एउटै उमेरका हामी दुई तर विश्वास गर्न गाह्रो भइरहेको थियो आफैंलाई। मान्यतासँगै पढ्ने, खेल्ने, खाने मेरी बालसखा। एकछिन छुट्टिँदा आकुल–व्याकुल हुन्थ्यौं, प्रेम गर्ने दुई मन छुट्टिएजस्तै।
जब हाम्रो बालापन किशोरावस्थामा प्रवेश भयो। शारीरिक, मानसिक, संवेगात्मक परिवर्तन देखेर मान्यता र म छक्क पथ्र्यौं। होमवर्क र परीक्षाको बहानामा रात्रिकालीन समय खुसखुस गरेरै बिताउँथ्यौं। हामी एकअर्काका परिपूरकजस्तै भएका थियौं। जतिजति उमेरको पदोन्नति हुन्थ्यो उतिउति मान्यताको शरीरको अति नै सुन्दर। सुन्दरतासँगै उचाइ, मोटाइ, गोलाइमा पनि आकार वृद्धि हुँदै गयो। ऊ बिछट्टै राम्री हँुदै गई र जोकोहीलाई पनि उसको माधुर्यतामा लगाव बढ्दै जान थाल्यो। यता मलाई भने त्यो उमेरले साथ नै दिएन। कसैको नजरमा पनि आकर्षित देखिइनँ। सानी, खुजुरी, हिस्सी नपरेकी।
सामान्यतया मलाई त्यो उमेरमा हुने कौतुहलता, उत्सुकता र आकांक्षा खासै महसुस नै भएन। सायद कुनै पुरुषबाट एउटा पनि प्रेम प्रस्ताव नआएर होला ! कता कता आफूप्रति आकर्षित नभएकोमा ग्लानि महसुस हुन्थ्यो। मान्यतालाई हरदिन आउने नयाँ पत्र र प्रस्तावले म भित्रभित्रै जल्थें। बिस्तारै मान्यता प्रसंशामा हराउन थाली। म भने चाहनाबेगर पनि पढिरहन थालें। भुल्ने बाटो पनि त भएन मेरो। मान्यता पढाइमा कम र प्रेममा बढी समय व्यतीत गर्न थाली। म भने आफ्नो सपनाको संसार साकार बनाउने योजना बुन्न थालें। विचार नमिलेपछि हामी दुई ध्रुवमा विभाजित हुन पुग्यौं।
ठ्याक्कै पाँच वर्षअघि उसले कसैलाई नभनी जीवनको महत्त्वपूर्ण निर्णय लिएकी थिई। हुन त त्यो निर्णय भावनामा बहकिएर लिइएको एक उमेरको हतोत्साही निर्णय थियो। अर्थात् समय आउनुभन्दा निकै अगाडिको भावनामा बहकिएर। फलस्वरूप हाम्रो मित्रतामा पूर्णविराम लाग्यो। मान्यताले समाजको मूल्यमान्यता तोडेर प्लस टूको परीक्षा सक्नेबित्तिकै भागेर बिहे गरी। केही समय ऊ नै बहस र गफको विषय हुन्थी धेरैका लागि। समयले यी कुरालाई साम्य बनाउँदै लग्यो। अनैकौं परिस्थितिसँग लड्दै जुध्दै म भने स्नातक पढ्न राजधानी होमिएँ।
बिस्तारै बिस्तारै बाहिरी सुन्दरताको महत्त्व कम लाग्दै गयो। समयले पाठ पढाउँदै र बुझाउँदै लग्यो क्यारे मलाई। कालोकोटमा सजिएर न्यायको पक्षमा वकालत गर्दा समय गएको पत्तै भएन। अहिले प्रेम प्रस्ताव त आउँछन् तर स्वीकार गर्ने कुनै आकांक्षा नै छैन। मान्यतालाई देख्दा मन कुडियो। आज सवै सबै परिवर्तन भएको छ। उसलाई प्रेम, विवाह र परिवार सबैसँग वितृष्णा मात्र बाँकी छ। तीन वर्षे छोरी काखमा च्यापेर मलाई यति भन्दैछे, ‘पढ्नका लागि मद्दत गर है साथी मलाई। जीवनका ती कहालीलाग्दा ५ वर्ष अब कहिल्यै फर्कने छैन। आफ्नो खुट्टामा उभिनु जत्तिको सन्तुष्टि जीवनमा अरू केही रहेनछ।’ सम्बन्ध–बिच्छेदको दिन उसले यति मात्र बोली तर उसका आँखामा सपनाका रंगहरू छताछुल्ल पोखिएका थिए।
जीवनमा समय भन्ने पाठ कति महत्त्वपूर्ण रहेछ भन्ने आभास भयो। उसको जीवनको असल व्यवस्थापनको जिम्मा अब मेरो भएको छ। फेरि हामी उही पुराना दिनमा फर्केका छौं तर केही पहिलेजस्तो छैन, सबै सबै फेरिएको छ।