धौलागिरीमा पीसीआर परीक्षण सुरु : ३६ को परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि
बागलुङ : धौलागिरी अस्पतालमा पीसीआर परीक्षण सुरु भएको छ। गत वर्ष असार १२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धौलागिरीसहित विभिन्न जिल्लाका १० अस्पतालमा पीसीआर मेशिन राख्ने निर्णय गरेको थियो।
अस्पतालमा ढिलै भएपनि धौलागिरीवासीले पायक पर्ने ठाउँबाट कोरोना जाँच सुरु भएपछि अब पीसीआर परीक्षणका लागि पोखरा पठाउनु पर्ने बाध्यता अन्त्य भएको छ। पीसीआर प्रयोगशालामा मेशिन जडान गरेर गरिएको नमूना परीक्षण सफल भएपछि नियमित परीक्षण थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले बताए। ‘गत हप्ता नै अस्पतालमा मेसिन जडान भएको थियो। जडानको काम सकिएपनि स्वाब परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति नपाउँदा केही समय लाग्यो,’ डा. पोखरेलले भने, ‘अब नियमित रुपमा परीक्षण गरिनेछ।’
यसअघि स्वाब संकलन गरी गण्डकी प्रदेशको राजधानी पोखरा पठाउनुपर्ने र रिपोर्ट आउन ३ देखि हप्ता दिनसम्म लाग्ने गरेको थियो। प्रयोगशाला सञ्चालनमा आएसँगै बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङ जिल्लावासी प्रत्यक्ष लाभान्वित हुनेछन्।
गण्डकी प्रदेशमै पहिलोपटक २०७६ चैतमा बागलुङकी १९ वर्षीया किशोरीमा कोरोना संक्रमण पुष्टि भएसँगै धौलागिरी अस्पतालमै पीसीआर मेशिन राख्नुपर्ने आवाज उठेको थियो। ढिलै भएपनि पीसीआर जाँच सेवा शुरु हुनु धौलागिरीवासीका लागि सुखद विषय भएको धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष केबी राना मगरले बताए। पीसीआर परीक्षणले संक्रमितको पहिचान, उपचारसँगै कोरोना रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण टेवा पुग्ने अध्यक्ष रानाको भनाई छ।
पीसीआर प्रयोगशालामा चाहिने उपकरण खरिदका लागि कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमार्फत सरकारले एक करोड रुपैयाँ बजेट उपलब्ध गराएको थियो भने जनशक्ति व्यवस्थापनमा गण्डकी प्रदेश सरकारबाट रु ४० लाख प्रदान गरेको थियो।
दुई जना ल्याब टेक्नोलोजिस्टसहित चार जना प्रयोगशालाकर्मी पीसीआर जाँचमा खटिने अस्पतालले जनाएको छ। निर्णय भएको महिनौँ बित्दासमेत पीसीआर प्रयोगशाला सञ्चालनमा नआउँदा अस्पताल व्यवस्थापन र प्रशासनप्रति नागरिकले तीव्र गुनासो र आक्रोश व्यक्त गर्दै आएका थिए।
धौलागिरी अस्पतालमा पहिलो पटक ३६ जनाको कोरोना परीक्षण गरिएकोमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जनाको नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ। अब शनिबारदेखि बागलुङसहित धौलागिरीका चार जिल्ला मुस्ताङ, म्याग्दी र पर्वतका नागरिकले ७ घण्टामै कोरोनाको रिपोर्ट प्राप्त गर्न सक्नेछन्।
बागलुङमा पछिल्लो समय कोरोना संक्रमण दर तीव्र छ। संक्रमण बढ्दै थालेपछि नेपाल सरकारले कोरोना संक्रमणबाट अति प्रभावित १४ जिल्लाको सूचिमा राखेको छ। अहिले बागलुङ नगरपालिकाका १२, १३ र १४ मा निषेधाज्ञा जारी गरिएको छ भने जिल्लाभरका शैक्षिक संस्था बन्द छन् भने आइतवारदेखि सार्वजनिक सवारी साधनमा समेत जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरिएको छ।