गन्तव्य शिवधारा

गन्तव्य शिवधारा

पहराको बीचबाट निरन्तर पानीको धारा झरिरहन्छ। त्यस धारालाई शिवजीको जटाबाट पानी गरेको भन्ने धार्मिक विश्वास छ। चारैतिर घुमिरहेको धारामा नुहाएर गुफामा शिवको पूजा गर्ने चलन छ।


जैविक विविधताका लागि विश्व प्रसिद्ध भौगोलिक क्षेत्र हो, वरुण उपत्यका। यो संखुवासभाको उत्तरी भूक्षेत्रमा अवस्थित छ। धार्मिक तथा पर्यटकीय क्षेत्रको गन्तव्य पनि हो, वरुण। विश्वको पाँचौं सर्वोच्च शिखर मकालु हिमालको काखमा रहेका अनगिन्ति हिमतालबाट निस्केको पवित्र वरुण नदीको महिमा मण्डित वरुण उपत्यकाको प्रमुख केन्द्र शिवधारा हिन्दू, किराँत तथा बौद्धमार्गीको आस्थाका कारण अहिले धार्मिक तीर्थस्थल तथा पर्यटकीय गन्तव्य बनेको छ। 

धार्मिक आस्थाका रूपमा संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ सहितका हिन्दू, किराँत तथा बौद्धमार्गी भक्तजनहरू शिवधारा दर्शनका लागि जाने गरेका छन्। विशेषगरी शिवधारा जनैपूर्णिमाको अवसरमा परेर जाने गर्दछन्। सदरमुकाम खाँदबारीदेखि हिँडेरपाँच दिनमा शिवधारा पुगिन्छ। धार्मिक मान्यताअनुसारशिव र पार्वतीले बास गरेको स्थलको रूपमा शिवधारालाई मान्ने गरिन्छ। शिवाधाराको फेदीमा रहेको न्ये खर्कबाट पहराको बाटो हुँदै करिब छ घण्टापछि शिव र पावर्तीको पूजाआराधना गरेर फेदीमा पुगिन्छ। पहरामा कहीँ बुट्यानको सहारा त कहीँ मानिसले बनाएको साङ्लोको सहारामा धार्मिक आस्था बोकेर तिर्थयात्रीहरू गन्तव्यमा पुग्ने गरेका छन्।

भक्तजनहरू पहराको यात्रा सुरुहुनासाथ आफूले लगाएका जुत्ता–चप्पल पहराको फेदीमा फुकाउने गर्दछन्। पहराको कठिन यात्रा सुरुभएपछि जोकोही पनि अन्य सम्पूर्ण दुःख, कष्टसहित सम्पूर्ण कुरालाई भुलेर भगवान् शिव र पावैतीको नाम पुकार्दै यात्रा अगाडि बढाउँछन्। पहराको कठिन यात्रा त्यसमा पनि खाली खुट्टा हिँड्दा यात्रा अझ कठिन हुन्छ। साढे दुई घण्टाको पहराको यात्रा पार गरेपछि सुगन्धित धुपी तथा फूलैफूलको बगैंचा हँुदै शिव गुफामा(४३१० मिटर) पुगिन्छ।

शिव गुफा पुग्नु पहिले केही तल आमाभुजुङको प्रतीक छ। शेर्पा भाषामा आमा भनेको आमा र भुजुङ भनेको छोरी भन्ने बुझिन्छ। आमाभुजुङमा सन्तान नहुनेले छोराछोरीसमेत माग्ने चलन छ। आमाभुजुङमा पूजागरेपछि शिव गुफा पुगिन्छ। शिव गुफाकरिब३० मिटर उचाइ र २० मिटर लम्बाइ तथा चौडाइ रहेको छ । गुफाभित्र ३० मिटरको उचाइ पहराको बीचबाट निरन्तर पानीको धारा झरिरहन्छ। त्यस धारालाई शिवजीको जटाबाट पानी गरेको भन्ने धार्मिक विश्वास छ। चारैतिर घुमिरहेको धारामा नुहाएर गुफामा शिवकोपूजा गर्ने चलन छ।

धारा चारैतिर अविरल घुमिरहने हुँदा नुहाउँदा धर्मात्मा मानिसको जिउँमा मात्रपानीको धारा पर्छ भन्नेविश्वास गरिन्छ। शिव गुफा सकिएपछि केही ओरालो झरी पुनः उकालो लाग्दा शिव र पार्वती गुफा पुगिन्छ। यसको मध्यभागमा गणेश भगवान्को पूजाआराधना गर्दै३० मिनेट हिँडेपछि पार्वती गुफा(४३१६ मिटर)पुगिन्छ। यस गुफामा पनि करिब२५ मिटर माथि पहराको बीचबाट निरन्तर झरिरहने धारामा नुहाएपछि पार्वतीको पूजा गर्नुपर्ने धार्मिक मान्यता छ। पार्वती गुफामा पूजा गरेपछि पुनः पहराको कठिन यात्रा गर्दै डेढ घण्टामा वरुण नदीको किनारस्थित शिवधाराको फेदी न्यें खर्कपुगिन्छ। याङखर्कबाटबिहानसात बजे प्राकृतिक सौन्दर्य हेर्दै सुरुभएको यात्रा दिउँसो ३ बजे पुनः याङलेखर्क पुगिन्छ।

बौद्ध धर्मावलम्बीलेभने ती गुफाहरूमा रिम्पोछे लामाले तपस्या गरी भक्तलाई अभिषेक गरेको भन्ने धार्मिक मान्यता रहेको छ। त्यही कारण शेर्पा तथा भोटेजाती अभिषेकका लागि शिवधारा जाने गरेका छन्। भिन्नभिन्न धार्मिक आस्थाका आधारमा शिवधारामा हिन्दू, बौद्ध र किराँत धर्म मान्ने तिर्थयात्रीहरू जाने गर्दछन्।

संखुवासभाको सदरमुकाम खाँदबारीबाट हिँडेको पाँच दिनपछि शिवधारा पुगिन्छ । पहिलो दिन गाडी खाँदबारीबाट ३८ किलोमिटर टाढाको मकालु गाउँपालिकास्थित नुमसम्म पुग्छ । त्यसपछि पैदल यात्रा सुरुगरी सेदुवा बास बस्न उपयुक्त मानिन्छ। दोस्रो दिनको यात्रा सेदुवाबाट टसी गाउँमा बिहानको खाना खाएर खोङ्मामा बास बस्न पुगिन्छ। टसीगाउँमा पनि बासबस्न राम्रो प्रबन्ध भएपनि तिर्थयात्रीहरूलाई खोङ्मामा बास बस्न पुग्दा उपयुक्त हुन्छ।तेस्रो दिन खोङ्माबाट उठेर बिहानको खाना खान ठुलोडाँडा वा ठुलोपोखरी पुगिन्छ। तेस्रो दिनको यात्रा ३५०० मिटर उचाइबाट सुरु हुन्छ। उक्त यात्रामा सानो पोखरी र ठुलो पोखरी लगायतका प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिन्छ। ठुलो डाँडाको उचाई ४२१० मिटर भएकाले त्यसक्षेत्रमा लेकलाग्ने हुँदा यात्रा कठिन हुने गर्दछ । बेलुकीको बास दोबाटेमा हुन्छ । चौथो दिन दोबाटेदेखिसबेरै उठेर हिँड्दा बिहानको खानाखान फेमाताङ पुगिन्छ। दोबाटेबाट भने दुई घण्टा ओरोलो यात्रा हुँदै वरुण नदीको तिरमा पुगिन्छ। यस क्षेत्रमा ठुलाठुला कोणधारी धुपीका रुखहरू पाइन्छन्। दुई घण्टाको ओरालोपछि दुई घण्टा पहिरो माथिबाट ढुंगा खस्छकी भन्दै डराउँदै यात्रा गर्नुपर्ने हुन्छ।बेलुका याङलेखर्ककोबासतय हुन्छ। याङले खर्कमा २०७२ सालमा वरुण पोखरी फुट्दा आएको बाढीले तहसनहस बनाएका होटल तथा गोठ पुनःर्निर्माण पछि अहिले बास सहज भएको छ। 
याङले खर्कका दुई होटल र एक गोठमा दुई सयजनालाईबासबस्नसक्ने व्यवस्था गरिएको छ। मकालु बेसक्याम्पमा रहेको वरुणको शिर वरुण पोखरीसम्मको तिर्थयात्रामा जाने तिर्थयात्री भने शिवधाराको दर्शनपछि त्यही दिन याङमालेमा पुगेर बास बस्ने गर्दछन्। याङमालेबाट बिहानै उठेर वरुणको शिर दुधपोखरीमा स्नान गरी मकालु बेसक्याप अवलोकन गर्न सकिन्छ। मकालु बेसक्याम्पको सौन्दर्यता भ्रमण गरी बेलुका याङमाले बासबस्न पुगिन्छ। मकालु बेसक्याम्पमा पनि राम्रो बासस्थानको व्यवस्था हुँदा आन्तरिक तथा बाह्य पर्यटकहरूबिहानको दृश्य अवलोकन गर्न पनि बस्ने गर्दछन्। तर शिवधारा दर्शन गर्न नजाने पर्यटक तथा तिर्थयात्री भने याङ्लेबाट मकालु बेसक्याम्प पुगेर बासबस्न सक्छन्।

यही बाटो हुँदै मकालु बेसक्याम्पसहित मकालु हिमाल आरोहण गर्नेहरू समेत हिँड्ने भए पनि पूर्वाधार विकासमा सरकारको ध्यान पुग्न सकेको छैन। यस बाटोमा बाह्रै महिना जाने पहिरोले आन्तरिक तथा बाह्य पर्यटक र तिर्थयात्रीहरूको यात्रा असहज हुने गरेको साहित्यकार ताराबहादुर बुढाथोकीबताउँछन्। साहित्यमार्फत धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा लागेका बुढाथोकीले वरुण नदीमा पुल र पहिरो नियन्त्रण गर्न नसक्दा यात्रु जोखिम मोलेर यात्रा गर्नु परेको उनी बताउँछन्। भन्छन्–‘विश्वको पाँचौ सर्वोच्च हिमाल मकालु चढ्ने आरोहीहरू पनि यही रुट प्रयोग गरी जाने भएपनि पूर्वाधार विकासमा सरकारले ध्यान नपु¥याउँदा यात्रा असहज हुने गरेको छ।’

दोबाटेदेखि याङलेखर्कको मध्यभागमा पर्ने ठुलो पहिरोमा पानी पर्नासाथ माथिबाट ढुंगा झर्न सुरु गर्दछ। पानी परेको समयमा ठुलो पहिरोमा यात्रा गर्न अनुचित मानिन्छ। करिब दुई घण्टा पहिरैपहिरो हिँड्नु पर्ने हुँदा ढुंगा खस्छ कि भन्दै डराउँदै यात्रा गर्नुपर्ने हुन्छ। दुई घण्टाको यात्रापछि फेमाताङ पुगेपछि ठुलो पहिरो सकिन्छ। मकालु राष्ट्रिय निकुञ्ज र मकालु गाउँपालिकाले ठुलो पहिरो नियन्त्रणको प्रयास गरेपनि सफल नभएकोगाउँपलिकाकाअध्यक्ष तेजबहादुर पोख्रेलले बताए। बाटो परिर्वतन गर्न ठाउँसमेत नभएपछि जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता भएको उनको भनाइ छ।
मकालु बेसक्याम्पसम्म वरुण नदीमा चार र अन्य केही स्थानमा काठका पुलहरू छन्। ती पनि जीर्ण हुँदा यात्रा अझ जोखिमपूर्ण हुने गरेकोप्राध्यापक नवराज कार्की बताउँछन्। मकालु हिमाल आरोहण गर्न जाने आरोहीहरूलाई विभिन्न स्थानमा पक्की पुल नहुँदा समस्या हुने गरेको छ। मकालु बेसक्याम्प सहित विभिन्न स्थानमा रहेका क्याम्पहरूमा होटल व्यवसाय हुँदै आएको छ। तिनका सञ्चालक,व्यवसायी र गोठालाहरूलाईवर्षात्को समयमा पुल बग्दा आवतजावतमै समस्या हुने गरेको छ। बाढीले पुल बगाएपछि पटकपटक आफ्नै खर्चमा बनाएर फर्कनु परेको सो क्षेत्रमा होटल व्यवसाय गदै आएका स्थानीय छोप्पाल शेर्पा बताउँछन्। 

फेमाताङभन्दा माथिकोवरुण नदीमा रहेका काठका पुल बाढीले बगाउँदा पर्यटकहरूको समेत बिचल्ली हुने गरेको छ। काठको पुल बगाएपछि नयाँ पुल नबनाएसम्म पर्यटक बिचबाटोमै अलपत्र पर्ने गरेकाछन्। ससाना खोल्सीहरू छिनछिनमा पर्ने वर्षाका कारण पानीको बहाव बढ्दा यात्रुहरू पानीको बहाव नघटेसम्म त्यहीँ बस्नुपर्ने बाध्यता छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.