कोरोना महामारीमा कोल्टी प्रथामिक स्वास्थ्य केन्द्र डाक्टर विहीन
बाजुराः बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी फेरि डाक्टर विहीन बनेको छ ।
स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर राजुराज जैशी दुर्गम क्षेत्रमा दुई वर्षे सेवाकार्यकाल पूरा गरेर गएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहीन बनेको हो ।
दुई वर्षका लागि बाजुरा आएका डाक्टर जैशीले एक वर्ष जिल्ला अस्पताल बाजुरामा सेवा दिएका थिए भने एक वर्ष प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा सेवा प्रदान गरेको थिए।
चिकित्सकको अभावमा स्थानीयहरु विरामी हुँदा कहाँ जाने भन्नेमा चिन्तित रहेको बताएका छन् । कोरोनाभाइरस (कोभिड १९) को संक्रमण गाउँगाउँमा फैलिँदा कोरोनासँग मिल्दोजल्दो लक्षण भएका बिरामीहरु गाउँगाउँमा थुप्रै छन् । तर गाउँमा परीक्षण गर्ने अवस्था नै छैन । त्यसमै पनि स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्थानीहरु थप चिन्तित बनेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा १२ जनाको दरबन्दी छ । एक जना मेडिकल अधिकृत, एक जना हेल्थ असिष्टेन्ट, एक जना स्टाफ नर्स, तीनजना अनमी, तीनजना अहेव, एकजना ल्याब असिष्टेन्ट र दुईजना कार्यालय सहयोगीको दरबन्दी छ ।
तर अहिले स्वास्थ्यकेन्द्रमा तीनजनाको दरबन्दी खाली नै छ । अन्य दरबन्दी पूर्ण भए पनि मेडिकल अधिकृत, हेल्थ असिष्टेन्ट र स्टाफ नर्सको दरबन्दी खाली छन् ।
स्वास्थ्य केन्द्र कोल्टीमा मेडिकल अधिकृतको दरबन्दी अनुसार सरकारले नै पदपूर्ति गर्नुपर्ने बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक जशी बिकले बताएका छन् ।
स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर जैशी गएपछि तत्काल डाक्टर व्यवस्थापनका लागि नगरपालिकाले कुनै पहल नगरेको पनि बिकले बताए ।
स्वास्थ्य केन्द्रमा दैनिक एक सय जनाको हाराहारीमा सेवाग्राही आउने गर्छन् । हाल सबै सेवा स्वास्थ्य केन्द्रबाट अहेव र अनमीले दिँदैआएका छन् । स्थानीय सरकारले दरबन्दी अनुसार स्वास्थ्यकर्मी व्यवस्थापनमा पहल गरी स्वास्थ्य सेवालाई मजवुत बनाउनु पर्ने अवस्थामा उल्टै बेखबर बनेको नागरिकको गुनासो छ ।
कोरोना महामारीको लहरमा एकजना चिकित्सकअनिवार्य हुनुपर्ने भए पनि बुढीनन्दा नगरपालिकाले भने रिक्त दरबन्दी समेत पदपूर्ति गर्न नसकेको भन्दै स्थानीय मनबहादुर रोकायाले आक्रोश पोखे । अहिले स्वास्थ्य केन्द्र कोल्टीबाट सामान्य सिटामोल दिनु बाहेक कुनै उपचारको निदान प्रयास नै भएका छैनन् ।
बुढीनन्दा नगरपालिकाकी उप प्रमुख श्रृष्टि रेग्मीले डाक्टर व्यवस्थापनका लागि आफूहरुले संघ र प्रदेश सरकारसँग गरिरहेको भए पनि डाक्टरहरु आउन नमान्ने प्रतिक्रिया दिइन् ।