आफैंलाई निषेध गरौं !
काठमाडौं बाहिरबाट भर्खर ल्याण्ड भएको जहाज। यात्रुहरू भरिभराउ छन्। बालक, युवा र वृद्धहरू एयरपोर्टमा यताउता डुलिरहेको देखिन्छ। जहाजतर्फ जाने गेट खुलेपछि मात्रै एयरलाइन्सले एकएकवटा फेससिल्ड थमायो। केहीले हातमा झुन्ड्याए भने केहीले ब्यागभित्र कोचे। जहाज छेउमा पुग्नासाथ मास्क पनि खोलेर फोटो खिच्नमै व्यस्त देखिए केही यात्रु। जहाजमा पस्नासाथ प्रायःजसोले माक्स र फेससिल्ड भने लगाए।
जहाजबाट ओर्लेर काठमाडौं पुगेका यात्रुहरू लगेज रुम पुग्नुअघि नै धमाधम फेससिल्ड उतारेर डस्टबिनमा फालिरहेका थिए। भिडभाडमा ठेलमठेल गर्दै लगेज लिन कुरिरहेका थिए। दूरी कायम गरेर उभिनुपर्छ भन्ने कसैलाई हेक्का थिएन। मुखमा लगाएको मास्क कसैको चिउडोमुनि झुन्डिएको थियो त कसैको मास्क हातमा झुन्डिएको थियो। मानिसहरूको मुखैमा पर्ने गरी खोक्नेहरू पनि त्यही थिए। कोही लापरवाह तरिकाले हाच्छिउँ गरिरहेका थिए। न कसैलाई कोरोना सर्छ भन्ने डर थियो न उपचार नपाएर मर्नुपर्ला भन्ने हेक्का। उनीहरू निस्फिक्री देखिन्थे।
राजधानीस्थित विमानस्थलमा देखिएको अस्वाभाविकको दृष्यहरू हुन् यी। चेतना भएकै मानिसको यो गति छ भने अन्यत्र के भइरहेको होला ? सहजै अनुमान गर्न सकिन्छ। कोरोना भाइरस संक्रमणको दोस्रो चरण सुरु भएपछि नेपालमा संक्रमण बढ्दो छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमण र मृत्युदर निकै उच्च छ। दैनिक तीन हजार पाँच सयको हाराहारीमा मानिस मरिरहेका छन् भने झन्डै चार लाख मानिस संक्रमित भइरहेका छन्। नेपालमा पनि संक्रमण हुने र मृत्यु हुने मानिसको संख्यामा दिनहुँ वृद्धि भइरहेको छ। यस्तै हेलचेक्र्याई भइरहने हो भने छिमेकी देशकै गति नहोला भन्न सकिन्न। नेपालमै एकातिर कोरोना छ र ? भन्ने दृष्य देखिन्छन् भने अर्कोतिर भेन्टिलेटर र आईसीयूको अभावमा उपचार नपाएर संक्रमितहरू मर्न बाध्य छन्।
बिरामीको संख्याको तुलनामा स्वास्थ्यकर्मीहरू निकै कम छन्। हरेक मानिसले आफूलाई नरोकेसम्म कोरोना नियन्त्रणमा नआउने स्वास्थ्यकर्मीहरू बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै देशभर ५ हजार ७ सय ६३ जना कोरोना संक्रमित भएका छन्। देशभर संक्रमित हुनेको संख्यामा आधाभन्दा बढी काठमाडौंमा देखिएका छन्। २४ घण्टामा १९ जना संक्रमितको मृत्यु भएको छ। बढीमा ३५ जनासम्मको निधन भइसकेको छ। यो संख्या बढ्ने अनुमान सहजै गर्न सकिन्छ। कोरोना संक्रमणले आजसम्म ३२ सय ९८ जनाले ज्यान गुमाइसकेका छन्। तीन लाख २८ हजार ८ सय ९३ जनामा कोरोना पोजेटिभ देखिएको छ।
भिडभाडमा हुने संक्रमणको जोखिमलाई न्युनीकरण गर्न सरकारले बिहीबारदेखि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ। अति आवश्यक नपरी घरबाहिर जान बन्देज गरिएको छ। तर लापरवाही घटेकै छैन, सडकमा कुदिरहेकै छौं। पहिलो चरणको भन्दा यो दोस्रो चरणको संक्रमण निकै खतरा र घातक छ। अघिल्लो चरणमा केही नभएका युवा पनि संक्रमणको शिकार भइरहेका छन्, ज्यान गुमाइरहेका छन्।
तरकारी किन्न, खाद्यान्न किन्न, औषधिलगायतको बहाना बनाएर हरेक दिन पटकौंपटक चोक, बजार र पसल पुग्नेलाई सम्झाएर मात्र हुने देखिँदैन। एकजनाको यो लापरवाहीले परिवार र त्यो परिवारका कारण टोलसमाज संक्रमित हुन्छ। उपचार नपाएरै धेरैको ज्यान जान्छ भन्ने बुझेर आफूले आफैंलाई बन्दाबन्दी गर्नु सबैभन्दा बुद्धिमानी देखिन्छ। आफू जोगिऔं र अरूलाई पनि जोगाऔं। योभन्दा उत्तम सूत्र अरू देखिएको छैन। सुरक्षा र सावधानी अपनाएर घरभित्रै बसिरहँदा कोरोना सर्ने सम्भावना असम्भव प्रायः हुन्छ। सरकारले सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न रोक लगाएको छ। त्यसलाई मान्नु भनेको आफैं सुरक्षित हुनु हो, अरूलाई सुरक्षित बनाउनु हो।
सरकारले पनि आन्तरिक र बाह्य हवाई उडानहरूलाई निर्वाध सञ्चालन गर्नुभन्दा नियन्त्रण गर्नेतर्फ ध्यान दिनुपर्ने अवस्था देखिएको छ। अन्यथा विमानस्थलमा देखिएको भिडभाड र जोखिम कम गर्न अपनाउनुपर्ने सावधानीमा विशेष ध्यान जानुपर्छ। सामान्य सावधानी अपनाउन सक्यौं भने कोरोनाबाट बच्न सकिने अवस्था छ। नागरिकको लापरवाही नै संक्रमण फैलिनुको मुख्य कारण हो, सबैमा चेत आउनु जरुरी भएको छ।