भारतीय खोप उत्पादक कम्पनीका सिइओ बेलायत पुगेर भने: ममाथि दबाब आयो
नयाँदिल्ली: सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अदर पुनावाला भारतमा आफूमाथि अत्याधिक दबाब आएको भन्दै बेलायत गएका छन् ।
भारतले बेलायतका लागि उडान प्रतिबन्ध जारी गर्नुअघि नै उनी शनिबार नै लण्डन पुगेका हुन् । दि टाइम्ससँगको अन्तरवार्ता पुनावालाले आफूमाथि अत्यधिक दबाब आएको प्रतिक्रिया दिएका छन् ।
भारतमा कोरोना संक्रमणले विकराल रुप लिएसँगै अक्सिजन साथै खोपको पनि अभाव भएको छ । तर, यसका लागि कच्चा पदार्थको अभाव प्रमुख कारण रहेको बताइएको छ ।
पुनावालाले लण्डन पुगेर खोपका लागि आफूमाथि शक्तिशाली मानिसहरूको दबाब आएको प्रतिक्रिया दिएका थिए । तर भारतको संकटपूर्ण अवस्थालाई आफू एक्लैले केही गर्न नसक्ने पनि बताए ।
तर अन्तर्वार्तापछि उनले फेरि आफ्नो ट्वीटरमार्फत् खोप उत्पादनको काम भारतमै अघि बढिरहेको बताए । साथै चाँडै नै भारत फिर्कने पनि उनले बताएका छन् । भारतको पुणेमा रहेको सेरम इन्स्टिच्यूटले कोभिड १९ विरुद्धको खोप कोभिशील्ड उत्पादन गर्दैआएको छ । भारतले उक्त खोपको लाखौँ डोज छिमेकी देशहरु सहित विभिन्न देशलाई समेत वितरण गरिसकेको छ ।