स्वास्थ्यकर्मीलाई दबाब होइन हौसला
कोरोना महामारीबाट जोगिन यो समय घरभित्र बस्ने हो भने कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पुग्न सक्दैन। तर यो छुट चिकित्सा सेवामा रहेका वा स्वास्थ्यकर्मीहरूलाई छैन। स्वास्थ्यकर्मी पनि आफ्नो सुरक्षाको ख्याल गर्दै घरभित्र बस्ने हो भने अवस्था कस्तो होला ? कल्पनासमेत गर्न सकिँदैन। त्यसैले यो महामारीका मुख्य योद्धा भनेकै स्वास्थ्यकर्मी हुन्।
विश्वका सबै मानिस कोरोना भाइरससँग सुरक्षित रहन घरभित्रै बसिरहेको बेला स्वास्थ्यकर्मीहरू चाहिँ घरबाट बाहिरिन बाध्य छन्। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड विशेष वार्डमा रात्रिकालिन सेवामा खटिएर थकित बनेर बेञ्चमा नै झकाएको स्टाफ नर्सहरू र एकजना नर्सलाई दुईजना नर्सले दिएको ढाडसको तस्वीर सार्वजनिक हुँदा कसको मन छोएन र ? यो उनीहरूको रहर थिएन, बाध्यता हो। लामो समय पीपीई सेट लगाएर आफैंलाई जोखिममा राख्दै संक्रमितको स्याहारमा खटिने यस्ता स्वास्थ्यकर्मीलाई सलाम छ।
नेपालगन्जको बाँकेस्थित अस्पतालका यी स्टाफ नर्सजस्तै अहिले कोभिड नियन्त्रणमा देशभर स्वास्थ्यकर्मी खटिएका छन्। अन्य बिरामीको उपचारमा भन्दा कोभिडका बिरामीको स्याहारमा खटिनु बिलकुलै फरक छ, अत्यन्तै चुनौतीपूर्ण पनि। अर्को शब्दमा भन्नुपर्दा, आफ्नो ज्यान जोखिममा राखेर अरूलाई बचाउनु छ। कुनै समय म पनि संक्रमित हुनसक्छु भन्ने तीतो यथार्थ मनमा बोकेर उपचारमा होमिनु पक्कै सहज छैन। तर महामारीले विश्व नै आतंकित बनेको यो समयमा दिनरात नभनी खटिने स्वास्थ्यकर्मीका लागि यो समय बाध्यकारी अवस्था मात्रै होइन, चुनौतीसँगै अवसर पनि हो। आफ्नो पेशाप्रतिको उत्तरदायित्व बोध गराउने समयका रूपमा पनि यो समयलाई लिन सकिन्छ।
विषम परिस्थितिमा अरूले खटाएको भन्ने नठानेर आफैं स्वतःस्र्फूत रूपमा जिम्मेवारी बहन गर्ने स्वास्थ्यकर्मी पनि कम छैनन्। पेशागत दबाब र पारिवारिक दबाबका बिच समयको प्रवाह नगरी कोरोना संक्रमितलाई जोखिम मोलेर निको पारी ‘डिस्चार्ज’ गर्दाको समय युद्ध जितेको महसुस गर्छन् उनीहरू। घरपरिवारले सकेसम्म घरभित्रै रहेको देख्न चाहने र बिरामीले पनि आफ्नै छेउमा खोज्ने स्वास्थ्यकर्मीलाई रहर र चाहनामा बहकिने छुट पनि पेशाले दिएको छैन। यो समयमा उनीहरूको मनोबल उच्च हुन आवश्यक छ, बनाउन आवश्यक छ।
संक्रमण बढ्दै जाँदा निषेधाज्ञाले बजार सुनसान हुन थालेका छन्। सबै घरभित्र सुरक्षा खोजेर बसेको समयमा आफू परिवार छोडेर काममै २४सै घण्टा खटिनु पर्दाको पीडा पनि छ स्वास्थ्यकर्मीलाई। तर भावनात्मक कुरालाई पन्छाएर यथार्थसँग भिड्नुको विकल्प पनि त छैन। अहिलेको यथार्थ भनेकै कोरोना संक्रमण नियन्त्रणमा खटिनु हो। यो समयमा स्वास्थ्यकर्मीको एकल प्रयासले मात्रै कोरोना संक्रमण नियन्त्रण हुँदैन। उनीहरू भनेका देखिने सिपाही हुन्। त्यसैले उनीहरूको आत्मबल र मनोबल उच्च बनाउने जिम्मा भनेको तीनै तहका सरकार र सबै नेपाली नागरिकको हो।
स्वास्थ्य सेवामा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक आदि सबैलाई हौसला दिनु जरुरी छ। साथमा उनीहरूको सुरक्षा र सुविधा आदिमा पनि सम्बन्धित निकायले ध्यान दिनुपर्छ। बाध्यकारी ढंगले नभई सकारात्मक ढंगले स्वास्थ्यकर्मीलाई काममा प्रेरित गर्नुपर्छ। अझै पनि कतिपय स्वास्थ्यकर्मीले घरबाट सार्वजनिक यातायात वा भिड छिचोल्दै कार्यथलो जानुपर्ने बाध्यता छ। कर्मथलो पुग्यो सुरक्षा सामग्रीहरू उपलब्ध हुँदैनन्। अस्पतालहरूको अवस्थासँगै बिरामीलाई सहजरूपमा राखेर सुरक्षित हुँदै काम गर्ने वातावरण सबै स्थानमा छैन। उनीहरूका आवश्यकतालाई समयमै सम्बन्धित निकायले सम्बोधन गर्नुपर्छ। स्वास्थ्यक्षेत्रमा खटिनेमध्ये ठुलो संख्यामा स्टाफ नर्स (महिला) छन्। उनीहरूको पनि आफ्नै शारीरिक बाध्यता हुन्छन्, देश र विश्वव्यापी माहोलले मानसिक समस्यामा पनि छन्। त्यसलाई पनि सम्बोधन गर्नु आवश्यक छ।
संक्रमणको कहालीलाग्दो अवस्थामा पनि केही अस्पतालमा उपकरण र सुरक्षाका सामग्रीको अभाव हुनु, स्वास्थ्यकर्मीले पाउने सेवासुविधा नपाउनु र आन्दोलन गर्नु दुःखद् कुरो हो। कोरोना महामारी नियन्त्रणमा जुट्ने समयमा सबैले सबै कुरा बुझेर सामूहिक पहल गर्नु उत्तम विकल्प हुनेछ। एकले अर्काको मर्म बुझौं, महामारीविरुद्ध लडौं। पुनः सुनौलो बिहानी अवश्य आउने छ।