आइसोलेसनका उपकरण थन्किए, संक्रमितको उपचारमा समस्या
बेनी : आइसोलेसन सञ्चालन गर्न खरिद गरिएका लाखौं मूल्यका उपकरण प्रयोगविहीन भएका छन् । बेनीको शैक्षिक तालिम केन्द्रको भवनमा स्थापना गरिएको कोरोना अस्पतालका सामग्री प्रयोगविहीन भएर थन्किएका हुन् ।
आइसोलेसनका सामग्री अलपत्र परिरहँदा कोरोना संक्रमितलाई राख्ने र उपचार गर्ने ठाउँको अभाव भएको छ । अधिकांश संक्रमित होम आइसोलेसनमा बसेपनि सदरमुकाम बेनीमा डेरामा बस्ने संक्रमितको व्यवस्थापनमा भने समस्या भएको हो ।
गत वर्ष पहिलो चरणमा कोरोना भाइरसका संक्रमितको उपचारका लागि बेनी नगरपालिका र म्याग्दीका अन्य पाँचवटा स्थानीय तहको लागत साझेदारीमा २० शैह्या क्षमताको आइसोलेसन स्थापना गरिएको थियो ।
कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको समेत नेतृत्व गरेको जिल्ला प्रशासन कार्यालयको मौखिक सहमतिमा शैक्षिक तालिम केन्द्रले आइसोलेशनका सामग्रीलाई एउटा कोठामा थन्काएर शिक्षकहरुका लागि तालिम सञ्चालन गरेको थियो ।
त्यसबेला कोरोना संक्रमणको दर न्युन थियो । संक्रमणको दर बढ्दै जाँदा आइसोलेसन नहुँदा कोरोना नियन्त्रण, रोकथाम र संक्रमितको उपचारमा चुनौति देखिएको हो । बेनी नगरपालिकाको १७ लाख पचास हजार लगानी भएको सो आइसोलेसनमा मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले दामासाहीका दरले त्यतिनै खर्च गरेका थिए ।
अक्सिजन सिलिण्डर, बिरामी सुत्ने आरामदायी विस्तारा, औषधि राख्ने ठाउँलगायत कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने हुने उपकरणहरु प्रयोगविहीन भएका हुन् ।
स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बेनी अस्पतालको निर्माणाधिन भवनमा स्थापना गर्न लागिएको आइसोलेशनमा ती सामग्री प्रयोग हुने बताए ।
‘कोरोना संक्रमित नभएको अवस्थामा तालिम सञ्चालन गर्न आइसोलेसन हटाइएको थियो,’ उनले भने ‘दोस्रो लहरको संक्रमण देखिन थालेपछि आइसोलेसन तयार पार्ने काम तीव्ररुपमा अघि बढेको छ ।’
प्रजिअ गणेशबहादुर अधिकारीले पाइपबाट बिरामीको बेडसम्मै अक्सिजन आपूर्ति गर्न सकिने सुविधा भएको, चिकित्सक र स्वास्थ्यकर्मीहरुको पहुँच हुने, सुरक्षा र व्यवस्थापकीय हिसाबले सहज हुने भएकाले अस्पतालसँगै आइसोलेसन बनाउन लागिएको बताए ।
‘नयाँ भवन निर्माण र अस्पतालको नियमित सेवा प्रभावित नहुने गरी निर्माणाधिन भवनको चारवटा कोठामा २० शैया क्षमताको आइसोलेसन बनाउन लागिएको छ,’ उनले भने ‘आवश्यक परेमा शैक्षिक तालिम केन्द्रको भवनलाई पनि आइसोलेसनको रुपमा प्रयोग गर्न सकिन्छ ।’
वैशाख ६ गते जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा बेनी नगरपालिका र मालिका गाउँपालिका बाहेकका जनप्रतिनिधिले बेनीको कोरोना अस्पताल र आइसोलेसनमा लगानी गर्न नसक्ने बताएका थिए । चिकित्सक र स्वास्थ्यकर्मी भएकाले पालिकाकै कोरोना अस्पतालमा संक्रमितको उपचार गरिने उनीहरुको भनाई थियो ।
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुबेदीले अस्पताल परिसरमा आइसोलेशनका साथै हिलसाइड स्थित माउन्ट एभरेष्ट आवासीय माविको पुरानो भवनमा प्रि आइसोलेशन तयार पारिएको बताए ।
बेनी अस्पतालमा पाँच शैया क्षमताको भेन्टिलेटरसहितको सघन उपचार कक्ष स्थापना भएको छ । पाँचवटा स्थानीय तहमा पाँच/पाँच शैया क्षमताको कोरोना अस्पताल छन् । हाल म्याग्दीमा ७० जनाको हाराहारीमा सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
एक जना संक्रमितको बेनी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमण दर उच्च हुनेमा कास्की पछि म्याग्दी दोस्रो स्थानमा छ । अधिकांश संक्रमित सदरमुकाम बेनी बजारका छन् । आइतबार ४३ वटा स्वाबको नमुना परीक्षण गर्दा २४ जनामा कोरोना पुष्टि भएको थियो ।